बिग डाटा एनालिटिक्स जर्नालिजमको भविष्य बन्दै छ – अनिता सिलवाल

कलाकारिताबाट व्युटी प्याजेन्ट हुँदै अनिता सिलवालको पत्रकारिता यात्रा अनुभव निकै प्रेरणादायी छ । सानैदेखि परिचित छवि बनाएकी सिलवाल अहिले अमेरिकामा रहेर पनि पत्रकारितालाई निरन्तरता दिइरहेकी छन् । सिलवाल हाल आफ्नो अध्ययन पूरा गर्ने क्रममा छिन् । साथै, महिलाहरुलाई प्रेरणादायी रहने कार्यक्रम होमटाउन सिरोजको छायाँकनमा पनि व्यस्त छिन् । गत डिसेम्बरमा ग्लोबल नेपाली फिल्म र मिडिया अर्वाड कार्यक्रममा अनिताले उत्कृष्ट उद्घोषिकाको अर्वाडसमेत पाइन् । अमेरिकामा पनि सोही लगन र प्रगतिपथमा बढिरहेकी अनिता सिलवालसँग मिलापले गरेको कुराकानीः-

पत्रकारिता क्षेत्रमा लागिरहन के कुराले प्रेरित गर्दछ ?
विश्वमा दैनिक कैयौं घटनाहरु घट्छन् । केही सामाजिक, केही राजनीतिक र केही व्यक्तिगत । संसार रहेसम्म समाचारहरु रहनेछन् । कतिपय कथाहरु विश्वसामु ल्याउँदा धेरै प्रेरणाका किरणहरु प्रकाशित हुन्छन् र म पनि यही कुरामा विश्वास गर्छु कि मैले गर्ने पत्रकारिताबाट मानिसहरुलाई हौसला र प्रेरणा प्राप्त होस् । मेरो नयाँ कार्यक्रम पनि प्रेरणाका लागि नै केन्द्रित छ  ।

होमटाउन सिरोज भन्ने नाम किन चयन गर्नुभयो ? यो कार्यक्रम महिलाका लागि मात्र हो ?
कोही पनि बालिकालाई तपाईंले भविष्यको योजना सोध्नुभयो भने उसले कि त प्रख्यात गायिका, नायिका, मोडल, या त चिनेको पारिवारिक वृत्तमा रहेको पेशा डक्टर, इन्जिनियर भन्ने गर्छन् । अनि जीवनभर त्यो एक व्यक्तिलाई भेट्न पाए कत्ति सिक्थें भन्ने सोच्छ । कुनै समयमा म पनि त्यस्तै थिएँ । आखिरमा हामीले कोही रोल मोडल भेट्नलाई जीवनभर कुरिरहनु पर्दैन । हाम्रै समाजमा हामीले जीवनमा सिक्न चाहेको प्रेरणादायी पात्रहरु धेरै हुनुहुन्छ । महिलाहरुको प्रेरणादायी कथा कार्यक्रम हो यो नामाकरण चाहिँ मेरो मेन्टोरले गर्नुभएको हो । महिलाका कथाहरु हुन्, जहाँ पुरुषको साथको पनि महत्वपूर्ण कथाहरु छ ।

तपाईंले गर्नुभएका अन्तर्वार्ताहरुमध्ये तपाईंलाई नै मनपर्ने ?
केही छन् । एक अङ्ग्रेजी मासिकका लागि मैले ‘इन स्पिरिट अफ रिकन्सिलियसन’ भन्ने अन्तर्वार्ता गरेकी थिएँ । जनयुद्धका समय मारिएका प्रहरी, आर्मी, विद्रोही, प्रशासन र बेपत्ता नागरिकका पत्नीहरुसँगको अन्तर्वार्ता थियो त्यो । जनयुद्धका घाउहरु पुरिसकियो भनेर सोच्छौं हामी तर यथार्थता भिन्न छ । अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुसँग गरिएका अन्तर्वार्ताहरु मेरा लागि निकै स्मरणीय छन् ।

हालसालैमात्र प्रख्यात मूर्तिकारसँगको अन्तर्वार्ताको अनुभव कस्तो रह्यो  ?
फ्रोस्टी माएरस प्रसिद्ध अमेरिकी मूर्तिकार हुन्, जसको कला एपोलो सिरिजको रकेटबाट चन्द्रमामा पठाइएको थियो । उनको जीवनीमा केन्द्रित वृत्तचित्र प्रदर्शनीमा आएको समयमा मैले एक अमेरिकी पत्रिकाका लागि उनको अन्तर्वार्ता लिएकी थिएँ । चुनौतीलाई अवसरमा परिणत गरेर उनले आफ्नो जीवनलाई कलासँग कसरी जोडे र आफ्नो कलालाई चन्द्रमामा कसरी पठाउन सफल भए भन्ने विषयहरु निकै घतलाग्दा र प्रेरणादायी छन् ।

नेपाली पत्रकारिता क्षेत्रमा तपाईंको कोही रोल मोडल  ?
रोलमोडलभन्दा पनि म केही व्यक्तिहरुबाट प्रभावित छु । सानो हुँदा रमा सिंहबाट म साहै्र प्रभावित थिएँ । म आनकरि र बेलायती पत्रकार जेन हिलबाट प्रभावित छु । ती सबै महिला पत्रकारहरु मेरो रोल मोडल हुन्, जसले पत्रकारितासँगै आफ्नो बहुआयामिक क्षेत्रमा दक्षता हासिल गरेका छन्, जस्तै– पत्रकारसँगै कलाकार, वकिल आदि । र, म पनि सोहीतर्फ उन्मुख छु  ।

पत्रकारिता क्षेत्रको सबैभन्दा रमाइलो पाटो के हो  ?
आफूलाई मनपर्ने काममा त स्वतः रमाइलो हुन्छ । नयाँ व्यक्तित्वहरुसँगको भेटघाट, नयाँ सिकाइ र अनुभव नै रमाइला पक्ष हुन् । चाडपर्वको समयमा गरिने कार्यक्रमहरु प्नि निकै रमाइला हुन्छन्  ।

तपाईं अध्ययन पनि गर्दै हुनुहुन्छ । तपाईंको अध्ययनले यस क्षेत्रमा के योगदान दिन्छ  ?
मैले डाटा एनालिटिक्समा मास्टर्स सक्दैछु । फेक न्यूजको बिगबिगी भइरहेको यो युगमा वाचनमात्र भन्दा पनि विश्लेषणात्मक रुपमा समाचार प्रस्तुत गरिनुपर्छ । प्रविधि र इन्टरनेटका कारण अबको पत्रकारिता तथ्याङ्कपरक हुन अत्यन्तै आवश्यक छ । अझै आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.), मेसिनलर्निङका आलगोरिदमको प्रयोग, इमेज र भिजुअल रेकगनिसनजस्ता विषयहरुमा अहिले विश्वका ठूला मिडिया हाउसहरुले अध्ययन जारी राखेका छन् । चीनमा ए.आई.को प्रयोगले रोबोटले समाचार वाचन गर्दछ । मेरो अध्ययनमा यसै विषयमा हो र अवश्य पनि बिग डाटा एनालिटिक्स जर्नालिजमको भविष्य बन्दै छ  ।

पत्रकारिताको क्षेत्रमा आउन चाहने नयाँ पिढीलाई के सुझाव दिनुहुन्छ  ?
पत्रकारिता क्षेत्रमा आउनुपूर्व यसका चुनौतीलाई राम्ररी अध्ययन गर्नु होला । नेपालमा पत्रकारिता क्षेत्रले धेरै फड्को मारिसकेको छ । निष्पक्षता नै पहिलो मन्त्र हो । सत्य, झुट, तथ्य, मिथ्या, सबै समाचार बन्न सक्छन् तर हाम्रो कर्तव्य भनेको सत्यतथ्य सम्प्रेषण नै हो । साथै, अहिलेको देशमात्र नभई विश्व इतिहास र घटनाक्रमका बारेमा सचेत हुनु आवश्यक छ । र, अहिलेको समयमा प्राविधिक ज्ञान पनि रहनु अनिवार्यसरह छ ।

मिलाप मासिकको वैशाख अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार