काठमाडौं,
आश्विन ७ ।
प्रदेश एकको सुन्दर नगरी इलाममा गीतकार सङ्घ नेपालले गीत शिविर तथा गोष्ठी गर्ने भएको छ । नेपालका गीतकारहरूको एकमात्र छाता संस्था गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् विचार गोष्ठीको आयोजना गर्ने भएको हो ।
असोज ११ गते इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा प्रदेश एकका माननीय मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन हुने उक्त गोष्ठीमा प्रदेशका सबै जिल्लाका प्रतिनिधि गीतकारका साथै भारतका सिक्किम, दार्जिलिङ र खर्र्साङबाट पनि सहभागिता रहने सङ्घका महासचिव शुभ मुकारुङले जानकारी गराए ।
दुई दिनसम्म चल्न उक्त गोष्ठीमा समालोचक महेश पौडेलले गीत लेखनको वर्तमान अवस्था र व्यावसायिकताका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नेछन् । इलाम नगरपालिकाको सहकार्यमा आयोजना हुने गोष्ठीमा वरिष्ठ गीतकार रत्नशमशेर थापा, एस्पी कोइरालालगायतको आतिथ्य रहने सङ्घले जनाएको छ ।






