काठमाडौं,
ज्येष्ठ १४ ।
यलम्बर सङ्गीत प्रतियोगिताको टिसर्ट सार्वजनिक गरिएको छ । किरात राई कलाकार संघले यलम्बर सङ्गीत प्रतियोगिताको चौथो संस्करणका लागि तयार गरेको टिसर्ट सार्वजनिक गरिएको हो ।
आगामी जेठ २६ गते काठमाडौंमा अन्तिम स्पर्धामा नयाँ किराती कलाकारहरुलाई उतार्न लागेको संघले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर टिसर्ट सार्वजनिक गरेको थियो ।
आइतबार ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक गर्दै अन्तिम चरणको छनोट जेठ २६ गते हुन लागेको संघका अध्यक्ष जनक राईले जानकारी दिए ।
विभिन्न क्षेत्रमा रहेको किरात राई समुदायका नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाई रहेको छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सदस्य वरिष्ठ गायक तथा सङ्गीतकार जीतेन राईले किरात राईहरुले खेलाउँदै आएको सङ्गीतका बारेमा बताउँदै साकेला सङ्गीतको बारेमा जानकारी गराए ।
जेठ ६ गते बाट पहिलो चरणको छनौट हुँदै हाल अन्तिम स्पर्धाको लागि नौजनाको सहभागिता रहेको प्रतियोगिताबाट विजयी हुनेहरुलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत दिइनेछ भने उत्कृष्ट दर्शक छनोटबाट छानिएको एक जनालाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा गायिका पार्वती राई, किरात राई पत्रकार संघका अध्यक्ष भिम राईलगायतको उपस्थिति थियो ।
प्रतियोगीहरुलाई वितरण गरिएको टिसर्ट सुम्निमा कलेक्सनले प्रायोजन गरेको हो ।






