रामबन्धु र बिनुको सक्रियतामा महिलालाई निःशुल्क तालिम

चितवन,
ज्येष्ठ ६ ।

चितवनको क्षेत्रपुरमा रेग्मी आर्टस् सञ्चालन गर्दै आएका आर्टिष्ट रामबन्धु रेग्मी र श्रीमती बिनु दाहालको सक्रियतामा महिलाका लागि सीपमूलक तालिम सुरु भएको छ । मङ्गलबारबाट सुरु भएको निःशुल्क तालिममा महिलाहरूको उत्साहपूर्वक उल्लेख्य सहभागिता रहेको रेग्मीले बताए ।

रोगजारीको ग्यारेन्टीसहित बेरोजगार महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा वाल पेन्टिङ, साइनबोर्ड लेखाई, कार्टुन चित्र लेखन, मार्वल लेखन, हाउस पेन्टिङ, थ्रीडी बोर्ड, स्क्रिन प्रिन्ट, स्टाम्प, कम्प्युटर, ड्राइभिङ लगायतका तालिम दिइरहेको उनले जानकारी गराए ।

आर्टिष्ट सङ्घ चितवनका अध्यक्ष राजेन्द्रप्रसाद सुवेदीले तालिमको उद्घाटन गर्दै भने, ‘आर्टिष्ट रामबन्धु रेग्मी र श्रीमती विनु दाहालको प्रयास र सौजन्यबाट सञ्चालित यो सीपमूलक निःशुल्क तालिमले दक्ष जनशक्ति तयार पार्ने मैले विश्वास लिएको छु’ उनले थपे, ‘यस्तो ठूलो र असल काम गर्ने रेग्मी र दाहाल समाजका धन्यवादका पात्र हुन् ।’

रत्न आर्टस्का सञ्चालक रत्नबहादुर बस्नेतद्वारा सञ्चालित कार्यक्रममा आर्दश आमा समूह, क्षेत्रपुरकी अध्यक्ष बेलपत्र मास्के, कर्मी नाट्य समूह, चितवनका अध्यक्ष तथा कवि मुकुन्द खलपात्र लगायतको उपस्थिति रहेको थियो ।

आधुनिक प्रविधिका कारण परम्परागत साइनबोर्ड, ब्यानर र भित्तेलेखन जस्ता पेसा लोप हुन लागिरहेका बेला आफ्नै खर्चमा तालिम दिएर रेग्मी दम्पतिले करिब आधा दर्जन महिलालाई रोगजारी दिइरहेका छन् । रेग्मी भन्छन्, ‘यसबाट मौलिक र परम्परागत सीपको संरक्षण भएको छ भने अर्कोतिर बेरोगजार दिदीबहिनीले रोगजारी पनि पाएका छन् ।’

यसमा तपाइको मत

अन्य समाचार