साहित्यकार हरिहर खनाललाई नेपाली वाङ्मय साधना सम्मान

काठमाडौं,
चैत १८ ।

साहित्यकार हरिहर खनाललाई नेपाली वाङ्मय साधना सम्मान प्रदान गरिएको छ । उहाँलाई राजधानीमा शनिवार एक विशेष कार्यक्रमको आयोजनागरि नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीले सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष डा. पुुष्करराज भट्टको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् जनमत मासिकका सम्पादक मोहन दुवाल हुनुहुन्थ्यो । भुवन बोहरा निस्तेजले सञ्चालन गरेको सो समारोहमा तिलकबहादुर सिंहले स्वागत भाषण गर्नुभएको थियो ।

समारोहमा सम्मानित व्यक्तित्वको जीवनी र कृतित्वमाथि समालोचक तेजविलास अधिकारीले प्रकाश पार्नुभएको थियो । यस सम्मान कार्यक्रमका प्रमुख वक्तामा प्रगतिशिल लेखक संघका अध्यक्ष मातृका पोखरेल, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन एवम् त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाई हुनुहुन्थ्यो ।

समारोहमा प्रा.डा. कर्णबहादुर बानिँया, किशोर पहाडी, इन्द्रकुमार श्रेष्ठ सरित, गोपाल अश्क, तुलसीहरि कोइराला, विमल भौकाजी, सुमन सौरभ, केके कर्माचार्य, आरसी न्यौपाने, दिपसागर पन्तलगायतका तीन दर्जन जति विशिष्ट साहित्यकार एवम् कलाकर्मीको उपस्थिति रहेको थियो ।

नेपाल वाङ्मय परिषदले यस अघि नेपाली वाङ्मय साधना सम्मानबाट मोहन दुवाल एवम् प्रा.डा. जीवेन्द्रदेव गिरीलाई कैलालीमा सम्मानित गरिसकेको छ ।

संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले स्थापना गरेको सो सम्मानमा नगद दश हजार एक राशीका साथै सम्मानपत्र समेत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार