अबको यात्रा चलचित्रः बिनु

बेली डान्सरका रुपमा करिअर अघि बढाएकी सिन्धुपाल्चोककी बिनु शाक्य चलचित्रमा फड्को मार्न चाहन्छिन् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेकी बिनुले अहिलेसम्म झण्डै एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्लामर क्षेत्रमा प्रवेश गरेकी उनले अङ्ग्रेजी विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेकी छिन् ।

युनिसेफमा कार्यरत उनले केही स्टेज प्रोग्रामहरुसमेत गरेकी छिन् । बेली डान्स गर्न पोख्त बिनु सानैदेखि आफूलाई यो क्षेत्र मन परेको र पछि सबैले उनलाई यसै क्षेत्रमा जम्ने कोशिस गर राम्रो हुन्छ भन्ने सल्लाह दिएका कारण यो क्षेत्रमा आएको बताउँछिन् ।

‘बेली डान्स टिचर एवम् गायिका कमला सापकोटा दिदीले मेरो नृत्य देखेर एउटा तीजको गीतमा अभिनय गर्ने अफर गर्नुभयो र अभिनय पनि गरेँ । फलस्वरूप गीत राम्रो बनेर हिट पनि भयो । पछि फेरि सुबास प्रधानले वान डे ट्यालेन्ट हन्टमा मेरो डान्स र प्यासन देखेर भिडियोको अफर गर्नुभयो । त्यसपछि त झन् यो ग्लामर क्षेत्रमा अझै आकर्षित भएकी हुँ’, उनले भनिन् ।

नाटकमा समेत त्यत्तिकै रुचि राखेर अभिनय गर्ने उनी अबको यात्रा भने नेपाली चलचित्र रहेको बताउँछिन् । एक दर्जनजस्तो म्युजिक भिडियोमा अभिनय गरेकी उनको पछिल्लो म्युजिक भिडियोलाई सुबास प्रधानले निर्देशन गरेका हुन्, जसमा उनी जीवन भट्टराईसँग देखिएकी छन् ।

नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्णरुपमा समर्पित गरेकी बिनुले यस क्षेत्रमै नयाँ–नयाँ क्रियशन दिने दाबी गर्छिन् । उनले नेपाली कला क्षेत्रको श्रीवृद्धिमा कत्तिको योगदान पुर्याउने हुन् ? त्यो त उनका आउने क्रियाकलापले नै बताउनेछ । तर, अहिले भने बिनु राम्रो बेली डान्सरका रुपमा यो क्षेत्रमा रहेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार