काठमाडौं,
चैत १५ ।
प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको १०९औं जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम हुँदैछ । कार्यक्रमको तयारी अन्तिममा पुगेको आयोजक संस्था रामप्रसाद राई स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा शीर्ष नेताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । त्यस क्रममा राष्ट्रपति भण्डारीको हातबाट ‘कवितामा जननायक रामप्रसाद राई’ (कविता संग्रह) लोकार्पण, पाँच जना कविबाट कविता वाचन, रामप्रसादको विषयमा सत्यतथ्य उजागर गर्ने लेखकहरूसहित समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरूलाई सम्मानलगायत कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सचिव शशि लुमुम्बुका अनुसार बुधबार संस्थाका सल्लाहकारहरूसहित कार्यक्रमको तयारीका विषयमा बृहत् छलफल भएको थियो । कार्यक्रममा रामप्रसादको योगदानका विषयमा खोजअनुसन्धानका लागि भन्दै कोष स्थापनार्थ भोजपुरका कृष्णबहादुर तामाङले संस्थाका महासचिव देवान राईलाई एक लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।






