काठमाडौं,
फागुन ३० ।
विदेशी भूमिमा रहेर नेपाली चलचित्र, गीत–सङ्गीत र कलाकारहरुको लागि निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको बेलायतको थर्ड आई कम्पनीले यही मार्च १७ तारिखका दिन बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा गर्न लागेको ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उक्त च्यारिटी नाइटका लागि ९ जना कलाकार बुधबार बेलायत जाने भएका छन् ।
विदेशी भूमिमा अधिकांश कार्यक्रमहरु रमझमका साथै नाम-दाम कमाउने उद्देश्य अनुरुप गरिने भएपनि यो कार्यक्रम भने नेपालको पर्यटकीय क्षेत्र रुम्झाटारमा गुम्बा निर्माणार्थ केन्द्रित रहेको कार्यक्रमका संयोजक विकास देवकोटाले जानकारी दिए । कार्यक्रमका अर्का संयोजक विष्णु गुरुङले पनि रुम्झाटार गुम्बा च्यारिटी नाइट भव्य बनाउन बेलायतमा रहेका नेपाली एकजुट भएर लागिपरेको बताए । बेलायतमा बस्ने अधिकांश नेपालीहरु कार्यक्रममा उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ । सामाजिक कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन बेलायतमा बस्दै आएका नेपाली कलाकार तथा समाजसेवीहरु पनि उत्साहित देखिएका छन् ।
उक्त कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, मीरा राणा, सुक्मित लेप्चा गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु राजबाहक, मौसमी गुरुङ, हाँस्यकलाकार रवि डंगोल, मोडल तथा नायिका नम्रता योगी र सरु थापा लगायतले प्रस्तुति दिनेछन् ।
कार्यक्रमकामा कुनै पनि नेपालीहरु नछुटुन् भन्ने हेतुले कार्यक्रम संयोजक विकास देवकोटा व्यस्त समयका बाबजुद पनि अहोरात्र खटिरहेका छन् । उनले कुनै पनि कार्यक्रम आयोजन गर्दा आयोजकको तर्फबाट गर्नुपर्ने सबै काम पूर्णरुपमा कटिवद्ध भएर गर्दै आएका छन् । बेलायतमा बसेर नेपाली गीत–सङ्गीत, चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुर्याउने हेतुले वरिष्ठ कलाकार सनमकुमार बैराग, समाजसेवी अजय राई र विकास देवकोटाले थर्ड आई कम्पनी सञ्चालनमा ल्याएका हुन् । तीन जनाको सोचले थर्ड आईले छोटो समयमै बेलायतमा राम्रो चर्चा बटुल्न सफल भएको छ ।
पछिल्लो समयमा बेलायत नेपाली कलाकारिता क्षेत्रका लागि पानी पधेँरो जस्तै बन्नुमा थर्ड आईको भूमिका अतुलनीय रहेको चलचित्रकर्मीहरुले समेत स्वीकारेका छन् । वर्षमा विभिन्न विधाका दर्जनौ कार्यक्रमहरुको आयोजना गरिँदै आएको पाइन्छ । त्यहाँ रहेका नेपालीहरुबाट साथ पाउनुका साथै आयोजकहरुले पनि व्यवस्थापन पक्ष बलियो बनाउने हुनाले हरेक कार्यक्रम भव्य र सभ्य बन्दै आएका छन् । बेलायतमा यस्ता कार्यक्रम गर्ने सवैभन्दा पहिलो पंक्तिमा भने थर्ड आई कम्पनी नै पर्छ ।
यस कम्पनीले हालसम्म १ दर्जन भन्दा बढी कार्यक्रम आयोजना गरिसकेको छ । पछिल्लो पटक भने पिकनिक इन लण्डन, राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको आयोजना गरेको थियो । उक्त बक्स अफिस अवार्डले बेलायतमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा बटुलेको थियो ।






