प्रज्ञा समकालीन नेपाली कविताविमर्श प्रकाशित

काठमाडौं,
फागुन २९ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत प्रकाशित यस समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा. अमर गिरी, सहप्रा. हेमनाथ पौडेल र डा. लक्ष्मणप्रसाद गौतमले गरेका छन् ।

५सय ७२ पृष्ठको उक्त कृतिमा डा. अभि सुवेदीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’, डा. अमर गिरीको ‘समकालीन नेपाली कवितामा भूमण्डलीकरण’, डा. कुमारप्रसाद कोइरालाको ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’, गीता त्रिपाठीको ‘समकालीन नेपाली कवितामा पर्यावरण’, डा. गोविन्दराज भट्टराईको ‘समकालीन नेपाली कवितामा उत्तरआधुनिकता’, ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा साइबर चेतना’ शीर्षक लेख समाविष्ट छन् ।

यसैगरी डा. ताराकान्त पाण्डेयको, ‘समकालीन नेपाली कविताको वैचारिक अन्तर्वस्तु’, डा. नेत्र एटमको ‘समकालीन नेपाली कवितामा वैचारिक शिल्पविधान’, डा. लक्षमणप्रसाद गौतमको ‘समकालीन नेपाली कवितामा अन्तर्विषयक पठन’, डा. विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा नारीचेतना’ र सहप्रा. हेमनाथ पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कवितामा सौन्दर्य चेतना’सहित शीर्षक ११ वटा समालोचनात्मक लेखहरू कृतिमा समेटिएका छन् ।

साहित्य (पद्य) विभाग प्रमुख डा. गिरीका अनुसार समकालीन नेपाली कविताको विभिन्न पक्षको समालोचनात्मक अध्ययनको आवश्यकता महसुस गरेर प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत यो कृति तयार पारिएको हो । समकालीन नेपाली कविताबारे प्राज्ञिक विमर्शलाई अघि बढाउन यस कृतिले मद्दत गर्ने विश्वास डा. गिरीले व्यक्त गरे ।

यसमा तपाइको मत

अन्य समाचार