काठमाडौं,
फागुन १४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री ओलीले आज एमाले र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री थप गरेका हुन् ।
फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । आज ४ जना थपिएसँगै विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।
एमाले महासचिव ईश्वर पोखरेल रक्षा, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थ, माओवादी नेता रामबहादुर थापा बादल गृह र मात्रिका यादव उद्योग मन्त्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषदलाई सोमबारै पूर्णता दिइने भनिए पनि सङ्घीय समाजवादी फोरम समेत सरकारमा सहभागी हुने भएपछि सोमबार चार जना मात्रै मन्त्री नियुक्त भएको उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार एमाले महासचिव पोखरेललाई प्रादेशिक विकास समन्वय मन्त्रालय बनाएर त्यसको जिम्मेवारी दिइने योजना रहेको छ । आज सपथग्रहण गराउँदा रक्षा मन्त्रीमा सपथ गराईएको हो । सरकारले प्रदेशको विकासलाई समन्वय गर्न प्रादेशिक विकास समन्वय मन्त्रालय बनाउने तयारी गरेको छ ।






