काठमाडौं,
फागुन १३ ।
देशमा विद्यमान भ्रम हत्या अर्थात गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको भिडियो सार्वजनिक भएको छ । १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ ।
लायन्स क्बल अफ काठमाडौं बुढानिलकण्डले आयोजना गरेको एक समारोहमा निशान घिमिरेद्वारा निर्देशित उक्त मार्मिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो सार्वजनिक भएपछि आफ्ना धारणा व्यक्त गर्दै गीतकार तथा वरिष्ठ चिकित्सक डा.भोला रिजालले १२ वर्षअघि मातृ मृत्युदर घटाउने उद्देश्यले सरकारले सुरक्षित गर्भपतनको अवधारण ल्याए पनि नेपाली समाजमा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने नराम्रो परम्पराको थालनी भएकोमा दुःख लागेको बताए ।
आयोजक संस्थाका प्रमुख लायन राजेन्द्र कुमार श्रेष्ठले नेपालमा पछिल्लो एक दशक यताको गर्भपतनको तथ्याङ्क सार्वजनिक गर्दै अविवाहित तथा किशोरीहरुमा भ्रण हत्या अर्थात गर्भपतन गर्ने दर बढिरहेको अवस्थामा ‘डन्ट किल मि…’ भिडियोमार्फत गर्भपतन विरुद्धको अभियान थालनी गर्ने बताए ।
गर्भपतनको दर बढिरहेको यो भयावह अवस्थालाई नियन्त्रण गर्न तथा गर्भमा रहेको बच्चाको जीवन सुरक्षित गर्ने अभियान अर्थात गर्भपतन विरुद्धको अभियानलाई साङ्गीतिक रुपमा सञ्चालन गर्ने उद्देश्यले तयार पारिएको उक्त गीतका शब्दहरु नील गुरुङले रचना गरेका हुन् भने महेश ज्ञवाली यो गीतका सङ्गीतकार हुन् ।
गर्भमा रहेको अबोध शिशुका भावनालाईहरुलाई एउटी बाल गायिकाको स्वरमार्फत प्रस्तुत गरिएको हो । रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो वास्तविक घटनामा आधारित छ । म्युजिक भिडियोमा मोडल सृष्टि खड्काले कुमारी आमाको भूमिका निर्वाह गरेका छन् ।
भिडियोमा अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन् । बाबु प्रधान उक्त गीतका सङ्गीत संयोजक हुन् । अर्जुन तिवारी तथा उनको समुहले यसमा छायाँकन गरेका छन् । विकास दाहाल यसका सम्पादक हुन् ।






