सिक्किमको गान्तोकमा रहेर साहित्य सिर्जना गरिरहेका साहित्यकार हुन्– अमर बानियाँ ‘लोहोरो’ । आफ्नो बासस्थानको नाम ‘शब्दाश्रम’ नामकरण गरेर निरन्तर सिर्जनामा लागिपरेका छन् उनी । चन्द्र दुलाल र उनी प्रतिभा मिलनको परिकल्पनाकारवर्ग हुन्, जसले सिक्किमको साहित्यमा सुरूवात मञ्च प्रदान गरेर विद्यार्थीवर्ग, युवा साहित्यकार, कलाकार, सङ्गीतकारहरुको प्रतिभालाई उजागर गरेको छ । अन्य प्रतिभा मिलनझैं चियाकविता, कफीकविता इत्यादि जन्मेका छन्, जसको उद्देश्य प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु नै हो । उनका कविता, काव्याणु, बालकथा, अनुवाद, गीतजस्ता विधामा एक दर्जनभन्दा बढी कृतिहरु पाठकमाझ आएका छन् । केही समय सैनिक जीवन, करिब ३५ वर्ष सरकारी नोकरी र समानान्तर रुपमा साहित्यमा नै समर्पित श्री अमर बानियाको अभिव्यक्ति स्तर अति उच्च छ । उनी अन्तरात्मद्वारा बोल्छन् र आफ्ना विचारद्वारा स्रोेताहरुलाई मन्त्रमुग्ध पार्दछन् ।
नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा उनी आफ्नो विचार प्रकट गर्न सक्षम छन् । साहित्य अकादमी नयाँ दिल्लीले सम्मानपूर्वक निमन्त्रणा गरेर उनलाई उच्चस्तरीय नेपाली कविताहरु वाचन गर्ने मौका दिने गर्दछ । ती कविताहरु हिन्दी, अङ्ग्रेजीमा अनुवाद भएर अन्य भाषीहरुले पनि रमाएर सुन्ने गर्दछन् । उनका कविताहरु मलाय भाषामा पनि अनुवाद भएका छन् । उनले अभिनयकलाद्वारा नाटक र चलचित्रमा पनि दर्शकवर्गलाई आफ्नो सक्रिय कलाकारिताको परिचय दिएका छन् । अमर बानियाका कृतिहरु भारत र नेपालमा पढ्ने गरिन्छ । उनै अमरसँग मिलापका लागि सिक्किमका साहित्यकार प्रद्युम्न श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ:-
अमरबहादुर क्षेत्रीबाट कसरी बन्यो अमर बानियाँ ‘लोहोरो’ ?
अमरबहादुर क्षेत्री मेरो आधिकारिक नाम हो भने अमर बानियाँ साहित्य भनौं । कविताको क्षेत्रमा परिचित नाम हुन जाँदैछ र प्रायः धेरै मेरा प्रिय पाठकगणको जिज्ञासा ‘लोहोरो’ चाहिँ मेरो उपनाम हो, जसलाई कुनै ध्येय धारणाबिना नै स्वतः मनमा आएको थियो र मेरो पहिलो प्रकाशित कविता ‘आमा’, जसले प्रणय लामिछानेज्यूको साप्ताहिक पत्रिका ‘पूर्व सन्देशमा’ छापिने सौभाग्य वरिष्ठ साहित्यकार राज के श्रेष्ठज्यूद्वारा प्राप्त गरेको थियो । अहिलेको यस मोडसम्म आइपुग्दा ‘लोहोरो’ यो नितान्त नेपाली मौलिक र यथार्थ वस्तुपरक नामसित मेरा जीवनका कैयौं पाटाहरु पनि जोडिएका छन् । हुन त सबैलाई सहजै पच्ला–नपच्ला तर मलाई भने माया छ यो ‘लोहोरो’ उपनामसित ।
तपाईंको साहित्यिक यात्रा कहिले र कहाँबाट सुरू भयो ?
खै सटिक मिति त भन्न सक्दिनँ । यतिचाहिँ सत्य हो कि केलाउँदै जाँदा कलिलो कालसम्म पुगेर अल्मलिन्छु । लाग्छ, मेरा सम्पूर्णता पूर्वसम्बोधित अदृश्य शक्तिद्वारै नियोजित र सम्पादित भइरहेछ किनभने म त एक निमित्तबाहेक के पो हुँ र ! अघिल्ला कालका केही प्रेरक कविहरुको नाम लिन परे सर्वप्रथम डा. पारसमणि प्रधान, महाकवि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, कविशिरोमणि लेखनाथ पौड्याल, भूपी शेरचन आदिमा पुग्छु ।
परिकल्पक एवम् एक संयोजक ‘प्रतिभा’ मिलन (मासिक)को मूल उद्देश्य र यो यात्रामा के–कस्ता अनुभवहरु (तीता मीठा) भनिदिनुहुन्छ कि ?
यो प्रतिभा मिलन नामक (मासिक कार्यक्रम)को गुञ्ज राज्यदेखि बाहिर नेपालीभाषी साहित्य जगतमै पुगेर चर्चा बटुलिसकेको र साथ–साथै पछिल्लोपल्ट पनि साहित्यकार पत्रकार अर्जुन यावा गान्तोकद्वारा नवप्रभातको पक्षमा लिएको एक अन्तर्वार्तामा केही उजागर गरेको छु ।
तपाईंको कलमबाट कविता, कथा, गीत र अनुवाद सिर्जना भएको पाउँछु । यीमध्ये कुन विधामा तपाईं समर्पित हुनुहुन्छ ?
सही हो । यसमा अपवादै त हुन्न नै । तैपनि लगन, सिर्जना र समर्पणकै सादृश्यतामा प्रष्ट्याउनुपर्ने हुन्छ । यसो हुँदा कविता र जीवनको प्रवाह चेतनकै दुई किनारामात्र, मध्यबिन्दु त यही विद्यमान प्राणी त हो । भनौं न, नदी नरहे किनारा हुन्न, किनारा नरहे नदी हुन्न, अब आफैं अर्थ लाउनुहोस् न । म कुन विधामा बग्दैछु ।
नवप्रभात (परिचय विशेषाङ्क)को अर्जुन यावाको लेखमा धेर–थोर तपाईंबारे पढ्ने मौका पाएँ । योभन्दा तपाईंमा प्रायः अन्तर्मुखी शक्ति देख्छु । त्यसको केही रहस्य छ कि ?
ज्यू, नवप्रभात र अर्जुन यावाजी… त्यसमा त्यस्तो रहस्यात्मकताको प्रसङ्ग नै नउठानुपर्ने जस्तो लाग्दछ । त्यो त आ–आफ्नै दैविक प्रवृत्ति हो नि । अँ, त्यसमा केही कारण अतः अरू उपकरणहरु भनौं देश, काल र परिस्थितिले पनि थपथाप पार्न सक्लान् । यद्यपि, आफूभित्र आफू हुनु नै आनन्दता पाइँदो रहेछ ।
नाटक–चलचित्रमा पनि तपाईंको अभिनय भएको म पाउँछु । यो कसको प्रेरणाबाट पाउनुभएको हो । आजसम्म कति नाटक र चलचित्रमा अभिनय गर्नुभयो ?
हजुर, सन् १९७८ तिरै हुनपर्छ विशेष केही वर्षमात्रै सेना (गोरखा पल्टन) मा रहँदा सानोतिनो अभिनय गरिटोपलियो । त्यसपछि गान्तोकमा स्तरीय नाटक अभिनय प्रविष्ठिको कुरा गर्नुपर्दा वरिष्ठ नाटककार थमन नौवागज्यूको पूर्णाङ्की ‘विक्रान्त’ आदि हुँदै वरिष्ठ नाटककार एवम् चलचित्र निर्देशक चुनिलाल घिमिरज्यूको पूर्णाङ्की ‘पुरानो मान्छे’ आदि हुँदै स्व. आर.डी. लेप्चाको एक नाटक (नाम स्मरण भएन र यो दिल्लीमा मञ्चन भएको थियो), ध्रुव लोहागणज्यूको ‘आँधी आएपछि’ पूर्णाङ्की, कमल काफ्लेको एकाङ्की ‘नेचरल डिजास्टर’, श्री हेमन्त तृषितद्वारा लिखित÷निर्देशित पूणाङ्की काश र श्री टङ्क सुवेदी, श्री गङगा सागर पञ्चकोटीका केही सडकनाटकहरु आदि गरी करिब २४ वटा जति नाटकमा दिइएको अभिनयधर्म निभाउने कार्य गरियो । त्यसमा सबैभन्दा बेसी थमन नौवागका ९–१० वटा नाटकमा अभिनय गर्ने अवसर मिलेको थियो ।
अब त्यसरी नै पर्दाभिनय (फिल्म)हरुको पनि यहाँ सङ्क्षिप्तमै उल्लेख गर्नुपर्दा सर्वप्रथम बहुआयमिक व्यक्तित्व चुनिलाल घिमिरेद्वारा एक एड् फिल्मबाट सुरू गरी महादान, लक्ष्य, अधिकार, पोस्टमार्टम किन मायामा आदि गरी ११ वटा, निर्देशक प्रताप सुब्बाज्यूको जागरण, असमका निर्देशक (नाम स्मरण भएन)को टेलिफिल्म ‘सर्बोध बुद्ध’, विनोद सेरिङको अँगालो यो मायाको र चुनिलाल घिमिरेद्वारा लिखित÷निर्देशित दुरदर्शन गान्तोकद्वारा निर्मित धारावाहिक यात्रा उज्यालोको (दुरदर्शन नर्थ–इष्टद्वारा १३ एपिसोडसम्म प्रसारित) र उसैगरी घिमिरेज्यूकै पटकथा र निर्देशनमा गान्तोक दूरदर्शनद्वारा निर्मित रेसी बह रही है – धारावाहिक (हालै दिल्ली दूरदर्शन किसान च्यानलबाट ४ एपिसोड प्रसारित), यस अतिरिक्त पाल्छेन लेप्चाद्वारा लिखित÷निर्देशित पाँचवटा डकुमेन्ट्री, निर्देशक रञ्जित सिंहको ‘त्याग’ र ‘उपहार’ दुईवटा टेलिफिल्म र दुईवटा डकुमेन्ट्री, प्रणय चामलिङको एउटै फिल्म ‘स्वीकृति’मा केही सानोतिनो अभिनयकला दर्शाउने सुयोग मिलेको थियो । बितेको डेढ–दुई वर्षदेखि केवल कविता साधनामा मात्र तल्लीन भएजस्तो छु । अब जीवनको पछिल्लो पाटो साहित्यप्रति नै लगाउने कर्तव्य सम्झेको छु ।
यहाँलाई प्रेरणाबारे बताउनुपर्दा मन्थन फिल्ममा अमोल पालेकर र एक दूजे के लिएमा कमल हसन आदिको जीवन्त अभिनय हेरेपछि सुसुप्त लहडमा विशेष बल थपिएको, जसलाई विगत थोरै मौकाहरुमा दर्शकवर्गसमक्ष पु¥याउन पाएँ । म अवसर प्रदाताहरुप्रति आभार व्यक्त गर्दछु ।
तपाईंको जीवनको अर्को पाटो सैनिकसेवा पनि रहेछ । सोबारे केही अनुभव भनिदिनुहुन्छ कि ?
आफू किशोर अवस्थाको हुँदाखेरी यता सिक्किमभरि नै पल्टनेहरुको निकै बोलवाला हुन्थ्यो । मेरो आँखामा पनि यसो जिउडाल मिलेको खाइलाग्दो मान्छेको छाप बसेको र मनमा पनि त्यस्तै स्मार्ट हुने इच्छा टुसाएर होला जेनतेन, नाप–जोख भएर दार्जिलिङ हुँदै देहरादुन र वनारस पुगरे प्रशिक्षण सुरु भयो । दिनमा सात पिरियड क्लास लाग्थ्यो, जो ४४ हप्तासम्म चल्थ्यो । तर, मलाई अचम्म लाग्दो कुरो के भयो भने सधैँभरि सातै पिरियड दुश्मनको कुरा, आज पनि दुश्मनकोे कुरा, भोलि पनि दुश्मनकै कुरा सम्झिन्थें । ए बाबा म सबैसित मिलेर बस्ने मान्छे, क्लासमा कहिलेकाहीँ त एक किसिमको विरक्ति पनि आउँथ्यो र मैले सुरूबाटै निर्णय लिएअनुसार केही वर्षभित्रै लागिपरेर त्यागपत्र स्वीकृत गराई पुनः अजातशत्रुको मन लिई फर्की आएको मान्छे हुँ ।

तपाईंबाट सिर्जना भएका कृतिहरु कुन कुन हुन् ? साथै, अप्रकाशित कुनै कृति पनि छन् कि ?
म त एक निमित्त मात्र हुँ भन्ठान्दछु । अदृश्य शक्तिकै देन हो जो यसप्रकार छन्– भावधान (कवितासङ्ग्रह), काव्याणु (एक हरफे कवितासङ्ग्रह), जीवनचित्र (त्रयभाषिक कवितासङ्ग्रह, अङ्ग्रेजी भीम ठटाल र हिन्दी सुवास दीपकद्वार अनुवादित), सन्त कबिरका दोहावली कृति (नेपाली भाषामा भावानुवाद), मानव (कवितासङ्ग्रह), अन्तर्मन (कवितासङ्ग्रह) डा. वेद व्यथितको हिन्दी काव्यकृति (नेपाली भाषामा रुपान्तरण), भावधान तथा अन्य कविताएँ (हिन्दी कवितासङ्ग्रह) यशश्वी अनुवादक सुवास दीपकको अनुवादमा, मनको क्यान्भास (कवितासङ्ग्रह), शब्द समाधि (काव्याणुसङ्ग्रह), गार्डनको सम्झनामा (बालकथा, नेसनल बुक ट्रस्टद्वारा प्रकाशित), मनको क्यान्भास (दोस्रो संस्करण), जीवन चित्र (दोस्रो प्रकाशन), भाँचिएको चश्मा (चुनिलाल घिमिरेको तत्वाधानमा प्रकाशनोमुख कवितासङ्ग्रह), अप्रकाशित त्यस्तो केही छैन, आधा–अधुरा खेस्राहरु त हुन्छन् नै, धमिराले नबिगारे विचारौंला ।
‘मभित्रको एउटा अति सामान्य मानस र अदृश्य शक्ति’ र ‘चेतना विन्दु’ भनेर तपाईं घरीघरी भन्नुहुन्छ नि, योे खासमा के भन्न खोज्नुभएको हो ?
पक्का हो र शाश्वत पनि छ । जुन कुरा मेरो पहिलो किताब ‘भावधान’ देखि नै लेख्दै आइरहेको छु । सुन्नुहोस् यसबारे मेरो चित्त बुझ्दो अथवा एकदमै अबुझ कसैलाई चित्त बुझाउने तरिकाले बुझाउनुपर्दा उत्तर केही लम्बिने र पाठकलाई पनि झिँजो लाग्न सक्ला । यतिमात्र भन्छु– अदृश्य शक्ति भनेको त्यो सकारात्मक शक्ति हो, जसले चराचर ब्रह्माण्ड, संसार, प्रक्रियाको परिकल्पना सिर्जना र सञ्चालन गर्दछ । उदाहरणका लागि मान्छे दृश्यीत छ र देखिन्छ तर उसको प्राण, ताप र चेतना अदृश्यीत हुन्छ । जसको परस्पर समन्वय र असमन्वयताले जीवन र मृत्युलाई बुझाउँछ या भनौं छुट्याउँछ । तपाईं वायूको अस्तित्व मान्नु हुन्छ कि हुन्न ? अवश्यै मान्नुहुन्छ, होइन त ? तर, वायूको रङ, रुप र आकार वा स्थूल प्रमाण कसरी साबित गर्नुहुन्छ ? बस् यति यसरी नै बुझ्ने अनवरत चेष्टा गर्नुहोस् । अन्ततः अवश्यै बुझ्नुहुनेछ ।
‘सर्जक’ र ‘लोहोरो’को व्यावहारिक काम सिर्जना गर्नु र कुनै चिजलाई पिँध्नुुजस्तो लाग्छ, के यो नाम सुहाएको छ ?
सर, सोझो अर्थमा मात्रै नलिइयोस्, यस सिर्जनधर्मीको मौलिक र वस्तुपरक उपनामलाई यसको सृष्टि कस्तो परिस्थितिले हुन्छ आफ्नो अस्तित्व रहनु वा नरहनुको यात्रा–सङ्घर्ष, त्यसपछिको चयन प्रारब्ध र कर्मपक्षपट्टि पनि कृपया चिन्तन गरियोस् । यति भनौं, लोहोरो दुई किसिमले तयार हुन्छ । प्रथम– प्राकृतिक तवरले चिल्लिएर र अर्को मानिसद्वारा तयार पारिएर । हुन त यो युग मिक्सीको हुन आएको छ । अहिले बुझ्दा त यसै उपनाममा मेरो सर्जकको जीवनदर्शन पो पाइँदो रहेछ ।
तपाईं नेपाली साहित्य र भाषामा समर्पित भएको म पाउँछु । त्योबाहेक एउटा सक्रिय अनुवादकको रुपमा सन्त कबिरका दोहावली–अन्तर्मन प्रकाशमा ल्याउनुभएको छ । कबिर सन्तको जीवनबाट कत्तिको प्रभावित हुनुहुन्छ ? र, यसभित्रका दोहाहरुले नेपाली समाजलाई केही सकारात्मक सन्देश दिएको जस्तो लाग्छ ?
अब यहाँ हो भनेर बेखबर पाठकहरुका लागि मात्रै भए पनि भन्नै पर्ने हुन्छ । नत्र त सो सानो पुस्तिका दुई हजार छपाएकोमध्ये केवल दसवटा मात्रै रहेकाले नै आजको समाजमा सन्त कबिरका चिन्तन–दर्शनको महत्व साबित गरिहाल्यो नि । बेसी के बोल्नु र मैले, पछिबाट मेरो जीवनको सर्वप्रमुख आदर्शमानवकोे रुपमा कबिरप्रति नै श्रद्धा राख्दछु । आज विश्वसमाज अनेकन सङ्कीर्णताले ग्रस्त बन्दै गरेको समयमा नितान्त मानवका सद्भावपरक पङ्क्तिहरुले सकारात्मक औषधिकै काममा उपयुक्त छन् उहाँका अधिकाधिक दोहा ।
कवि अमरको चिनारी सिक्किमदेखि बाहिर अझ भारतका राज्यहरुमा र नेपालमा परिचित हुँदै आएको म पाउँछु । तपाईंभित्रको यो प्रतिभालाई कसरी उजागर गर्नुहुन्छ समाजमा र कार्यक्रमहरुमा ?
राज्यबाहिर होस् वा भित्र, देशका अरू राज्यतिर होस् वा भनौं विश्वकै नेपाली भाषा–साहित्य र कला–संस्कृतिको तीर्थ देश नेपाल, ती–ती ठाउँ र साहित्य पारखीहरुबाट म र मभित्रको सर्जकलाई अवश्यै ढाडस मिलिरहेछ । म जहिले जहाँ पनि जान्छु ममा जे–जस्तो छ त्यहीँ–त्यहीँ नै प्रस्तुत गर्ने गरेको छु ।
अमर बानियाँ ‘लोहोरो’ र साहित्यिक कार्यक्रम एउटा परिचयात्मक जीवन भएको पाउँछु । कार्यक्रममा तपाईंको उपस्थितिले सकारात्मक ऊर्जाहरु नयाँ प्रतिभाहरुले पाएजस्तो लाग्छ ?
हेर्नुहोस् सर, प्रकृतिको धर्म उसले दिनुपर्ने थोक, परोक्ष शिक्षा, सन्देश आदि दिइरहेकी छिन् । कसले के, कति र कसरी लिँदैछन् वा रित्तै छन् त्यो त ग्रहणकर्तामाथि निर्भर रहन्छ कि जस्तो लाग्छ ।
सिक्किमदेखि बाहिरका कार्यक्रमहरुको केही अनुभवहरु भनिदिनुहुन्छ कि ?
त्यस्तो अनौठो अनुभव त खासै पाउँदिन । अँ यति हो, हाम्रो राज्यको साहित्यिक कार्यक्रमहरुतिर आवादीको अनुपातमा उपस्थिति पातलो देखिन्छ । यसो हुँदा हाम्रो समाजले साहित्यको उपादेयताप्रति महत्व नदिएको हो वा साहित्य नै आफ्नो जीवन–धर्मबाट बाहिरिँदै गएको हो कि भन्ने भान गराउँछ । तर, त्यस्तो त नहुनुपर्ने, जसो होस् यो अति चिन्तनीय विषय भने हो ।
तपाईं समाजलाई के सन्देश दिन चाहनुहुन्छ ? सहित्य–नाटक–अभिनयले हाम्रो समाजलाई केही प्रभाव त पारेकै होला, होइन ?
म एक आममान्छेले के सन्देश दिनु र । हाम्रो पूर्वीय समाजमा अर्ति–उपदेशको कुनै कमी छैन । यदि छ त केवल व्यवहारिकताको, आदर्शको, त्याग र समर्पणको । अर्को उत्तर, साहित्यका कुनै पनि विधाले सोसम्बन्धी समाजको अतीत, वर्तमान र भविष्यको रुप रेखाङ्कन गरेको हुन्छ । साँच्चै भन्नु हो भने विविध सभ्यता अनुसन्धान र विकासको वर्तमान समय–घुम्तीसम्मको महायात्रामा साहित्यले नै त ठूलो योगदान दिएको छ र दिनेछ । यसमा म पूर्ण आशावादी छु ।
अन्त्यमा ?
मेरो भन्नु त जहाँ–जहिले पनि लामो केही हुँदैन र छैन । यति थपेर भन्न चाहें, मजस्तो एक अति सामान्य केवल कविताको बूढो विद्यार्थीलाई यस प्रकारको अन्तर्वार्ता लिनुभएर मेरो दुर्बलता र अज्ञानतालाई सार्वजनिक गर्ने आग्रह राख्नुभयो, जसमा तपाईंकै महानतालाई सम्मान जनाउँदै मैले पनि उत्तर दिने कोशिस गरें र यसमा कहीँ त्रुटी हुन गए अग्रीम क्षमाप्रार्थी छु । नेपालबाट प्रकाशित हुने र सिक्किममा समेत पठनीय मिलाप मासिकप्रति पनि आभारी छु ।






