कविडाँडा साहित्य समाजको आयोजनामा काव्य विमर्श

चितवन,
माघ २३ ।

कविडाँडा साहित्य समाजको आयोजनामा कविडाँडामा एकदिने राष्ट्रिय काव्य विमर्श सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस प्रकारको काव्य विमर्शले नेपाली कवितालाई समृद्ध गर्न महत्वपूर्ण योगदान दिने विचार व्यक्तगर्नुभयो । यस्तो कार्यक्रमका निम्ति प्रज्ञा–प्रतिष्ठान सधैँ सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको धारणा पनि उहाँले व्यक्तगर्नु भएको थियो ।

कविता विमर्शका सन्दर्भमा ‘थिम पेपर’ प्रस्तुत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीले समकालीन नेपाली कवितामा कतिपय कमिकमजोरीहरू रहे पनि समकालीन नेपाली कविता सबल रहेको र यसलाई अझ स्तरीय बनाउन रचनात्मक बहसको खाँचो रहेको दृष्टिकोण व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘समकालीन नेपाली कवितामा पश्चिमी चिन्तनको प्रभाव’, प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘समकालीन नेपाली कवितामा राजनीतिको प्रभाव र भाव’, डा.ऋषिराम शर्माले ‘समकालीन नेपाली कवितामा बहस र वास्तविकता’, समालोचक महेश पौडेलले ‘दक्षिण एसियाली कविताका सन्दर्भमा समकालीन नेपाली कविता’, सरिता तिवारीले ‘समकालीन नेपाली कवितामा नारी चेतना’ र कवि मनु मञ्जिलले समकालीन नेपाली कवितामा सपनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समालोचक डा. लक्ष्मणप्रसाद गौतमले कार्यपत्रहरूमाथि टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक पुरूषोत्तम सुवेदी, आख्यानकार शारदा शर्मा र कवि एवं गीतकार दिनेश अधिकारीलाई साहित्यका क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कवि भूपिनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा आयोजित कवि गोष्ठीमा कवि राजव, श्यामल, शारदा शर्मा, पुरूषोत्तम सुवेदी, मनु मञ्जिल, निमेष निखिल, शार्दूल भट्टराई, डा. नवराज लम्साल, बिना थिङ, हेमन यात्री, सिर्जन अविरल, नवराज ढुङ्गाना, महानन्द ढकाललगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बि. क्षेत्रीले मोफसलमा राष्ट्रिय स्तरको काव्य विमर्श सम्पन्न गर्न पाउँदा आफू निकै खुसी भएको विचार प्रस्तुत गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार