वि.सं. २००४ सालमा भारतको लखनउमा माता देवी ठकुरी र पिता गम्भीरसिंं ठकुरीको कोखबाट जन्मिएकी माया ठकुरी नेपाली साहित्यको लोकप्रिय व्यक्तित्व हुन् । उनले २०२१ सालमा ‘आशा’ पत्रिकामा ‘बौलाही’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्राको प्रारम्भ गरेकी हुन् । २०२५ सालमा ‘पेनफ्रेन्ड’ शीर्षकको कथा प्रकाशनमा आएपछि उनी नेपाली कथा लेखनमा निरन्तर सक्रियरुपमा लाग्ने स्थापित हस्ताक्षर हुन् ।
वरिष्ठ कथाकार माया ठकुरीका नजुरेको जोडी (कथासङ्ग्रह–२०३०), गमलाको फूल (कथासङ्ग्रह–२०३३), साँघु तरेपछि (कथासङ्ग्रह–२०४८), आमा जानुहोस् (कथासङ्ग्रह–२०६४) प्रकाशित कथा सङ्ग्रहहरु हुन् । उनका कथामा समसामयिक विषयवस्तु, पीडा, सामाजिक यथार्थ र मानवीय जीवनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको पाइन्छ । उनका अधिकांश कथाहरुमा मानवीय संवेदनामा करूणता जागृत हुँदै टुङ्गिन्छन् । उनका कथामा पुरूषप्रधान समाजमा नारीले भोग्नुपरेको मनोदशा, नारी संवेदना, यौनपीडा, समाजमा व्याप्त रोग, भोग, गरिबी, अभाव, पीडा आदि अनेक पक्ष चित्रित भएको पाइन्छन् । यिनका पछिल्ला कथामा नारी अस्मिताप्रति सचेतता प्रस्फुटित भएको पाइन्छन् । ती कथामा नारी पात्रहरु सहनशील र पलायनमुखी नभई विद्रोही देखिएका छन् । आफ्नो लेखनको माध्यमबाट पाठकको मन पगाल्न सक्ने उच्च व्यक्तित्वकी धनी वरिष्ठ कथाकार माया ठकुरीसित साहित्यकार श्रीराम राईले मिलाप मासिक पत्रिका लागि गरेको कुराकानीको सारसंक्षेप–
साहित्यिक क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
म जुन समाज र परिवारमा हुर्कें, बढें र पारिवारिक सङ्घर्षहरुसित जुध्न बाध्य भएँ, त्यही परिवेश र पीडाबोधले गर्दा म साहित्य लेखनमा लागेकी हुँ ।
तपाईंको लेखनको अभीष्टता के हो ?
मेरो लेखनको अभीष्टता हाम्रो समाजमा सदियाँैदेखि चलिआएको मानिस–मानिसबीचको असमान स्थिति, सामाजिक संरचनाभित्रको विकृति र मानिसको सामाजिक र आर्थिक समस्यामात्रै नभएर जीवनका अनेक समस्याहरुका कारणले गर्दा मानिसको असीमित इच्छा र कुण्ठालाई उजागर गर्नु पनि हो । मेरो लेखनले समाजलाई सुन्दरतामात्रै नदेखाएर त्यसभित्रको कुरुपतालाई पनि चित्रण गरोस् भन्ने म चाहन्छु ।
समग्रमा भन्नुपर्दा मेरो कथा लेखनले समाजमा चुलिँदै गएको विकृतिको पर्खाललाई भत्काएर एउटा सुन्दर सम्बन्धहरुको साँघुको निर्माण गर्नु पनि हो ।
तपाईंको विचारमा कथामा हुनुपर्ने तत्वहरु के–के हुन् ?
मेरो विचारमा कथामा हुनुपर्ने तत्वहरु सर्वप्रथम त पृष्ठभूमि हुनुपर्छ, जसमा आफूले चाहेको कथावस्तु अटाओस्, पात्रहरुको सामाजिक स्थिति, परिवेश र द्वन्द्व जो उनीहरुले आफ्नो इच्छा पूर्ण गर्नका लागि अथवा आफूले चाहेको गन्तव्यमा पुग्नका लागि गर्नुपर्ने विषय होस् । कथा लेख्नुभन्दा पहिले लेखकले आफूलाई पनि त्यही कथाभित्रको चरित्रको रुपमा सोच्नुपर्छ ।
विगत र वर्तमानका कथा लेखनमा के–कस्ता प्रवृत्तिगत अन्तर आएका छन् ?
युग परिवर्तित हुनुका साथै त्यसमा भएका परिवर्तनले विश्वभरि नै ठूला– ठूला परिवर्तन हुनु स्वाभाविकै हो ।
अहिलेको अवस्था धेरै समयसम्म यस्तै रहिरहन्छ भन्ने छैन । आज हामी देशको एउटा कुनामा बसेर सञ्चारको सहायताले विश्वदर्शन गर्न सक्षम भएका छौं । त्यसको असर हाम्रो साहित्यमा मात्रै नपरेर हाम्रो सोचाइमा पनि परेको छ । यस कारण हाम्रो लेखनमा नयाँ परिवर्तन आउनु स्वाभाविकै हो ।
तपाईं कथामा कस्तो विचार दिन खोज्नुहुन्छ ?
कथामा म मेरो विचारलाई राख्न चाहन्न । कारण त्यो मेरो एकलौटी विषयले मेरो कथालाई एकै प्रकारको ताल दिइरहेको हुन्छ । लेखन कला भनेको एक प्रकारले सुमधुर सङ्गीतजस्तै पनि हो । जसरी सङ्गीतमा विभिन्न प्रकारका वाद्ययन्त्रको धुनले गर्दा त्यसलाई अझ सुन्दर र कर्णप्रिय तुल्याइन्छ । त्यसरी नै कथालाई पनि अनेक तत्वहरुले सिँगार्ने प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।
तपार्इंको लेखनको सोख, अम्मल वा पेसा के हो ? लेखनले तपार्इंको घरपरिवारमा कस्तो प्रभाव परेको छ ?
लेखन मेरो सोेख, पेसा र अम्मल केही पनि होइन । यो मभित्र बाल्यकालदेखि जरा गाडेर रहेको एउटा वरवृक्ष हो । जो समयको साथसाथै बढ्दै गयो । अब आएर कथा लेखन मेरो निमित्त एउटा अनिवार्य उत्तरदायित्व भएको छ । जसलाई मैले बाँचुञ्जेल र लेख्न सक्ने बल हुँदासम्म निर्वाह गर्नु पर्नेछ ।
तपाईंको गीतियात्राको बारेमा पनि केही बताइदिनुस् न !
म सानैदेखि गीत गाउन र नाच्नमा खुबै रूचि लिने गर्दथें । विशेषगरेर मेरी मुमा र हजुरमुमाले सुदूरपश्चिम रूकुमकोटमा गाउने गरेका लोकगीतहरु खुबै गाउने गरेको हुनाले मैले पनि उहाँहरुको नक्कल गर्दै लोकगीतहरु, तीजका गीतहरु गाउन थालेकी थिएँ । पछि गएर मैले थुपै्र लोकगीत, तीजको गीत र आधुनिक गीतहरु अल इन्डियन रेडियो र रेडियो नेपालमा पनि रेकर्ड गराएँ । मलाई रेडियो नेपालले ‘क ’ श्रेणीको लोकगायक भनेर प्रमाणपत्र पनि प्रदान गरेको छ । मैले केही वर्ष भारतखण्डे सङ्गीत महाविद्यालयमा शास्त्रीय सङ्गीतको अध्ययन पनि गरेकी छु ।
मैले लेखेका गीतिकथा रेडियो नेपालबाट पनि प्रसारित भएका छन् ।
मेरा थुप्रै गीत, कथा, कविता र लेखहरु अल इन्डिया रेडियो र रेडियो नेपालबाट प्रसारण भएका छन् । तर, हाल गलाको समस्याले गर्दा मैले गायन विधालाई माया मार्नुपरेको छ ।
अहिलेको नेपाली साहित्य कतातिर गइरहेको छ ? पछिल्लो समयमा नेपाली आख्यानलाई कसरी हेरिरहनुभएको छ ?
अहिलेको नेपाली साहित्यको यात्रा एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेको छ । देशको अव्यवस्थित अवस्था, अनियन्त्रित राज्यव्यवस्था, गरिबीको कारणले गर्दा युवाहरुको विदेश पलायन र पारिवारिक विखण्डता आदिको प्रभाव हाम्रो साहित्यमा प्रचुर मात्रामा परेको छ ।
पहिले सारा नेपालीको मन हामी नेपाली भन्ने भावना थियो भने अब त वंश, थर, र जातको निम्ति एक–अर्कालाई शत्रु ठान्ने अवस्थाको सिर्जना भएको छ । अब त उहिले जस्तै स्वतन्त्र साहित्य लेखन छैन जस्तो भएको छ ।
साहित्य लेखनका लागि पहिले स्वतन्त्र भएर कलम चलाउनु सकिन्न थियो भने अबचाहिँ साहित्य रचना गर्ने स्थिति निर्माण भएको छ ।
साहित्य राजनीतिबाट प्रभावित हुन्छ कि हुँदैन ? साहित्यकारले पार्टीको झण्डा बोक्नुलाई कसरी लिनुहुन्छ ?
साहित्यकार पनि आफ्नो वैचारिक सोच र छनोटका लागि स्वतन्त्र हुनुपर्दछ । तर, त्यसो भयो भन्दैमा उसले कुनै एउटा दलको झण्डा बोक्नुपर्छ भन्ने कुरालाई म मान्दिनँ ।
साहित्यकारले समाजको खुला रुप र विकृति अनि त्यसमा भएका विकृतिलाई रेखाङ्कित गरेर आफ्नै प्रकारले समाजलाई जागरूक गराउन सक्छ ।
देशको झण्डा ‘हामी’ सबै हामी हौं भन्ने अथ्र्याउँछ भने कुनै एउटा तोकिएको झण्डाले उसको व्यक्तित्वसमेत ‘म’मा सीमित पारिदिएको हुन्छ । मेरो विचारमा स्वतन्त्र लेखनको निम्ति लेखकले कुनै झण्डाको सहारा लिनु पर्दैन ।
साहित्य लेखनमा कला र विचारको सम्बन्ध कस्तो हुनुपर्छ ? प्रगतिवादी लेखनमा नाराको प्रयोगलाई के भन्नुहुन्छ ?
साहित्य लेखनमा कला र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्दछ । कलाविहीन साहित्य रुखो र फिक्का हुन्छ ।
साहित्यलाई परिवेशअनुसारको संवाद् र अन्य आवश्यक तत्वहरुले सुन्दर तुल्याउनुपर्दछ । जसमा कौतुहलताको विशेष स्थान हुन्छ । साहित्यमा नारा हुनु जरूरी छैन । त्यसमा भएका तत्वहरुले समाजमा रुपान्तरण ल्याउन सक्षम हुन्छ ।
सामाजिक रुपान्तरणमा साहित्यको कस्तो भूमिका हुन्छ ?
सामाजिक रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विश्वको कुनै पनि देशको राजनीतिक, सामाजिक, भौगोलिक, आर्थिक परिवर्तनलाई त्यस देशका सात्यिकारहरुले आफ्नो लेखनबाट बहिष्कार गर्न सक्दैनन् । शताब्दीयांैदेखि पृथ्वीमा जे जति परिवर्तनहरु भए र भइरहेका छन्, ती सबैको कुनै न कुनै प्रभाव त्यस देशको साहित्यमा समेटिएको हुन्छ । यस कारण सामाजिक रुपान्तरणमा साहित्यले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।
नेपालमा साहित्यको बजार कस्तो छ र पठन संस्कारको विकास गराउन के–के गर्नुपर्ला भन्ने लाग्छ ?
नेपालमा पनि साहित्यको बजार दिन प्रतिदिन बढ्दै गएको छ र हिजो–आज साहित्य अध्ययन गर्ने जमात पनि बढिरहेको छ । पठन संस्कारको विकास भएको छ । बिक्री वितरणका लागि प्रकाशकहरुले पनि निकै चासो लिएर नयाँनयाँ प्रविधि अपनाएका छन् ।
नेपालमा लेखनलाई व्यावसायिक बनाउन सम्भव छ ? कसरी ?
नेपालमा लेखनलाई व्यावसायिक बनाउनका लागि अझ केही समय कुर्नुपर्ने अवस्था छ । तपाईं नै भन्नुस् न, हाम्रा कुनचाहिँ लेखकले आफ्नो पुस्तकबाट पाएको पारिश्रमिकले एउटा सानो छाप्रोसम्म बनाउन सकेका छन् ?
सिर्जनालाई कालजयी बनाउन के गर्नुपर्छ ? के पुरस्कृत सबै कृति गुणस्तरीय हुन्छन् त ?
सिर्जनालाई कालजयी बनाउन के गर्नुपर्छ त्यो म जान्दिनँ । तर, एउटा साहित्यकारले सक्दो समय साहित्य अध्ययन, त्यसबारेको विचार–विमर्श आदि क्रियाकलापमा सहभागी हुनुपर्दछ । नयाँ पुस्ताका लेखकहरुबाट पनि हामीले धेरै सिक्न सक्छौ । उनीहरुको कृतिलाई कमजोर ठान्ने र मै हुँ भन्ने प्रवृत्तिलाई पन्छाउन आवश्यक छ ।
आफूभन्दा अग्रज, समकालीन र नयाँ पुस्ताको साहित्यलाई अध्ययन गर्ने, धेरै अरूको पढ्ने र थोरै आफूले लेख्ने गर्नुपर्दछ जस्तो मलाई लाग्दछ ।
साहित्यमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?
साहित्यमा लागेर मैले आफ्नो पहिचान प्राप्त गरेकी छु ।
साहित्यको क्षेत्रमा महिलाको सहभागिता र सिर्जनाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
साहित्यको क्षेत्रमा महिलाको सहभागिता पनि दिनानुदिन बढ्दै गएको छ । तर, सबै लेखनहरुमा स्तरीयता नभए तापनि अधिकांश लेखन उच्चकोटीकै रहेका छन् । लेखनमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हुनु पाठकको मन जित्न सकिने अवस्था हो ।
प्रेम र यौनलाई कसरी लिनुहुन्छ ?
प्रेम र यौनमा आगो र पानीजस्तै अन्तर देख्दछु म । प्रेम शाश्वत हुन्छ भने यौन क्षणिक हुन्छ ।
नयाँ लेखकलाई कस्तो सुझाव दिनुहुन्छ ?
आजको प्राविधिक युगमा युवा जमातलाई हामीले सिकाउनुभन्दा पनि उनीहरुबाट सिक्न सक्ने अवस्था छ । तै पनि यतिचाहिँ भन्न चाहन्छु– साहित्य लेखन भनेको डोरीमा पाइला चालेर हिँड्नुजस्तै हो । अलिकति पनि सन्तुलन बिग्रियो भने ठीक अवस्थामा आउन कठिन हुन्छ । आफ्नो विचार र व्यवहारलाई सन्तुलित राख्दै अघि बढ्नुहोस् ।







