अग्रज रेडियोकर्मी श्यामदास वैष्णव

कृष्णदास वैष्णव तथा दुर्गाकुमारी वैष्णवका पुत्ररत्न श्यामदास वैष्णवको जन्म वि.सं. १९८१ साउन, सप्तमी तिथिका दिन साकुना, सरस्वतीथान, लाजिम्पाट, काठमाडौंमा भएको हो । पारिवारिक पाठशालाबाटै शैक्षिक अध्ययन आरम्भ गरेका वैष्णवले सर्वप्रथम पिता तथा पितामहबाटै दीक्षित हुने अवसर प्राप्त गरेका हुन् । त्यसपछि उनले स्कुल, हाईस्कुल तथा कलेजबाट उच्च अध्ययन आर्जन गरेका हुन् ।

सानै उमेरमा वैष्णवलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रभाव पर्न गयो । उनी प्रायःजसो महाकवि देवकोटाको निकटमा रहन थाले । सोही समयदेखि उनले आफ्नो साहित्यिक सिर्जनालाई सघनरुपमा अगाडि बढाउन थाले । गीत, कविता, कथा, नाटक तथा रुपक आदि साहित्यिक विधामा उनको सिर्जनशील कलम अगाडि बढ्न थाल्यो । विभिन्न साहित्यिक तथा अखबार–छापाहरुमा उनका सिर्जनाहरु क्रमशः प्रकाशित हुन थाले ।

  • बुलु मुकारूङ

२००७ सालको जनक्रान्तिको उभार नेपालभरि नै उठ्यो । त्यसमध्ये पनि जनक्रान्तिले पूर्वाञ्चलको भोजपुर मुकामलाई सरक्कै उठायो । नारदमुनि थुलुङको नेतृत्व साथै रामप्रसाद राई, श्रीपाल राई, हापु गुरूङ आदि तात्कालीन मुक्तिसेनाले भोजपुर जिल्ला कब्जामा लियो । जुन २००७ सालको मङ्सिर महिना थियो । सोही समय कब्जामा लिएको आकाशवाणीलाई प्रयोग गरी रेडियो प्रसारणको श्रीगणेश भोजपुरमा भएको थियो । जुन बेला प्रसारणको पहिलो उद्घोष गर्ने व्यक्ति थिए जयन्द्र थपलिया र पदम राई । त्यसपछि सो आकाशवाणी विराटनगर लगियो । जहाँबाट प्रजातन्त्र रेडियोको नामले प्रसारण भएको थियो ।

रेडियो नेपालको स्थापना सिंहदरबारमा भएपछि बालकृष्ण समले जनार्दन सम र श्यामदास वैष्णवलाई रेडियो नेपाल कार्यक्रम गर्न आग्रह गरे । सोहीअनुसार वैष्णवले रेडियो नाटक, लघुनाटक, गीतिनाटक, पत्राचार, नारी, छात्र, रक्षादल तथा सैन्य कार्यक्रम उत्पादन–सञ्चालन गर्न थाले । रेडियो नाटक लेखन तथा निर्देशनका क्रममा ‘धमिरा’ पहिलो नाटक साथै रुपकमा ‘सम्झना’, ‘राष्ट्रिय जागरण’ आदि गरी करिब पाँच दर्जन जति रेडियो नेपालबाट प्रसारित भए । अग्रज रेडियोकर्मी वैष्णवका ‘रातको आँशु’, ‘पत्कर’, ‘अन्तध्र्वनि’, ‘दृश्य सौगात’, ‘नयाँ लहर’ साथै ‘शैक्षिक नाटक’ आदि कृतिहरुले प्रकाशित तथा प्रसारित हुने मौका पाए । ‘उपहार’ (पछि अङ्ग्रेजी), ‘वैष्वाज पोयट्रिज गार्डेन’ आदि (नेपाली तथा अङ्ग्रेजी) पनि प्रकाशनमा आएको पाइन्छ ।

अग्रज रेडियोकर्मी वैष्णवका पूर्वातीत साइनो–संस्मरणअनुसार खेलौनाजस्तो ट्रान्समिटरबाट सुरू भएको रेडियो नेपाल अनि रेडियो नाटक निर्माण गर्दा पुरूष नै नारी पात्र भएर आवाज–अभिनय गर्नुपथ्र्यो । युगल गीत गाउन पनि नारी स्वरलाई निकै अप्ठ्यारो थियो । त्यस बेलाको परिवर्तनले पनि नेपाली समाज खुकुलो भइसकेको थिएन । त्यस्तो अवस्थामा रेडियो नाटकमा नारी स्वर दिई अभिनय गर्ने पहिलो व्यक्ति शान्ता श्रेष्ठ हुन् भने गायनमा किशोरीदेवी थिइन् ।
यसैगरी, नेवार भाषाको समाचार तथा गीतमा हरि श्रेष्ठ, हिन्दी समाचारमा राजेन्द्रप्रसाद गुप्ता, नेपाली समाचारमा प्रकाशमान सिंह साथै विभिन्न विदेशी समाचार सुनेर नेपाली समाचार सम्पादन गर्ने सुरारीकृष्ण शर्मासमेतलाई अग्रज रेडियोकर्मी वैष्णव अहिले पनि सम्झिने गर्नुहुन्छ । सोही क्रममा तारणीप्रसाद कोइराला, रश्मीराज्यलक्ष्मी राणा, एलिस राणा, देवेन्द्रराज उपाध्याय, भोग्यप्रसाद शाह, ध्रुवकुमार देउजा, बी.बी. सिंह, कुवेर गर्तौला आदि रेडियोकर्मीहरुलाई पनि वैष्णव सम्झिनु हुन्छ । रेडियो सङ्गीतकर्मी गोविन्दलाल नेपाली (शङ्ख–ध्वनिका सङ्गीतकार), नातिकाजी, शिवशङ्कर, हरिप्रसाद रिमाल, किशोरीदेवी, उही गोविन्दबहादुर गुरूङ, पुष्प नेपाली आदि कलाकारसँगका अविस्मरणीय यादहरु पनि वैष्णव सम्झिने गर्नुहुन्छ ।

बिहान बनाएको कार्यक्रम बेलुका तथा बेलुका बनाएको कार्यक्रम बिहान रेडियोबाट प्रसारण गर्ने प्रचलन त्यस बेला रहेको थियो । सोही क्रममा वैष्णवले बिहान एउटा गीत रचना गर्नुभयो र नातिकाजीले तुरून्तै सङ्गीत बनाएर बेलुकाको कार्यक्रममा प्रसारण (प्रत्यक्ष–प्रसारण) गरिएको थियो ।

अग्रज रेडियोकर्मी तथा कवि वैष्णवले २०१२ सालदेखि मात्र नियमित तलब प्राप्त गर्न थाल्नु भयो । यसबाट उहाँ र अन्य रेडियोकर्मीहरु उत्साहित पनि भए । रेडियो नेपालका प्रसारकहरु एउटा परिवारजस्तै थिए त्यस बेला । २०१३ सालमा रेडियो परिवारले टीका भैरवमा वनभोजको आयोजना ग¥यो । दिनभरि खुबै रमाइलो भयो । बेलुका फर्कने बेलामा रेडियोकर्मी तथा कलाकारहरु चढेको मोटरको बे्रक फेल भई ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा गायिका किशोरीदेवी तथा देवेन्द्रराजका छोराको मृत्यु भयो । भोग्यप्रसाद, हरिप्रसाद, देवेन्द्रराज तथा वैष्णव स्वयम् पनि घाइते हुनुभयो ।

रेडियो कार्यक्रमको बढोत्तरी दिनदिनै हुँदै गयो । स्रोताहरुको क्षेत्र पनि विस्तारित बन्दै गयो । भूगोल वा समाजको मात्र होइन, कलाकार तथा प्रसारकहरुको आकर्षण पनि रेडियो नेपालप्रति बढ्दै गयो । धेरै रेडियोकर्मी तथा कलाकर्मीहरुले प्रसिद्धि पनि कमाए । २०२६ सालमा राजकीय प्रज्ञा–प्रतिष्ठानमा कवि वैष्णव प्राज्ञ नियुक्ति हुनुभयो । सो समाचार चौतर्फी फैलियो । बधाई दिनेहरुको लामै लाग्यो । सोही बेला भावविभोर भएर वैष्णवले रेडियो नेपालबाट राजीनामा दिनुभयो । जति बेला उहाँले १८ वर्ष रेडियो नेपालमा काम गरिसक्नुभएको थियो ।

उहाँकै ताजा सम्झनामा– ‘कुन र कति कार्यक्रम दिने भन्नै कुनै निश्चित कार्यक्रमको ढाँचा नभए पनि लाइभ (प्रत्यक्ष प्रसारण)मा कार्यक्रमहरु सञ्चालित थिए । त्यस बेला सबै सञ्चालकहरुलाई प्रोत्साहन दिने चलन थियो । रेडियो नेपालमा जति बेला उहाँ जानुभयो अर्थात् बालकृष्ण समको आग्रहलाई मान्नुभएको थियो त्यो केवल उत्साह, जाँगर र रहर थियो । सोही रहर, जाँगर अनि उत्साहले गर्दा साधना नभए पनि जानी–नजानी रेडियो नेपालको लागि मिहिनेत अनि काम गरियो । जसले आज हामीलाई अगुवाको दर्जा दिलायो ।’

नाटककार वैष्णव एक श्रीमती, चार छोरी, तीन छोरा तथा नाति–नातिनाहरुका साथ हाल ज्ञानेश्वर, काठमाडौंमा बसोवास गर्नुहुन्छ । अहिले पनि उहाँको सिर्जनशीलता कविता, गीत, कथा, नाटक आदि लेखनमा रहेको देखिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार