काठमाडौं,
मंसिर १५ ।
सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लामको जन्मदिनको अवसरमा मंसिर १५ गते शुक्रबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा आगामी पुस १० गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै यी दुवै सार्वजनिक बिदाको जानकारी दिएको हो ।
केही वर्षयता क्रिसमसमा सार्वजनिक बिदा दिइँदै आएको भए पनि गत वर्षदेखि क्रिस्चियन धर्मावलम्बीलाई मात्रै दिन थालिएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका हुन् । थापाका अनुसार सरकारले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनले बिहीबार साँझ ट्विट गर्दै भनेका छन्, ‘मन्त्रिपरिषद् बैठकले राष्ट्रनिर्माताप्रति सम्मान गर्दै पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’ गृहमन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भने पृथ्वी जयन्तीका दिनको बिदाबारे बिदा उल्लेख गरिएको छैन ।
राजतन्त्र अन्त्यसँगै सरकारले पृथ्वी जयन्तीका दिनको बिदा खारेज गरेको थियो ।






