दान्यहिरा सिरपा प्रदान

काठमाडौं,
असोज ३० ।

नेपालभाषाको साहित्य र संगीतको उत्थानमा सकृय रहँदै आएको नेपालभाषा एकेडेमीले विगत चौध वर्षदेखि नियमित रुपमा प्रदान गरिंदै आएको नेपालभाषाको साहित्य र सङ्गीत क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा सिरपा आइतबार प्रदान गरिएको छ ।

दुई वर्षमा एक वर्ष साहित्य र वाङ्गमय क्षेत्रमा अनि एक वर्ष सङ्गीत क्षेत्रमा यो दान्यहिरा सिरपा प्रदान गरिंदै आएको छ भने यो वर्ष सङ्गीत क्षेत्रको पालो परेकोले सङ्गीत क्षेत्रमा आफ्नो जीवन जीवन अर्पण गरेका ९० वर्षीय सङ्गीत साधक भिमबहादुर नकःमिलाई यसवर्षको दान्यहिरा लाईफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ ।

पचास हजार रुपैया धन राशी सहितको यो पुरस्कार प्रमुख अतिथी नेपालभाषा एकेडेमीका संरक्षक वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले प्रदान गरेका थिए भने नगद राशी दाता एवम् नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाःले प्रदान गरेका थिए ।

शुरुशुरुमा सङ्गीत क्षेत्रमा एक जनालई लाइफटाइम अचिभमेण्ट र एक जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिंदै आएकोमा यसै वर्षदेखि दान्यहिरा सिरपा संगीतका तिनै बिधा सङ्गीतकार, गीतकार र गायकलाई प्रदान गर्न थालेको कुरा पुरस्कारका स्थापनाकार यज्ञरत्न धाख्वाःले बताए । जस अनुसार यो वर्ष गीतकार काजीराज शाक्य, सङ्गीतकार बिरेन शाक्य र गायक ईश्वर अमात्यलाई यो सिरपा (पुरस्कार) प्रदान गरिएको हो ।

यो सिरपाको धन राशी जनही सत्र हजार रुपैयाँ रहेको छ । एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीको सभापतित्वमा सम्पन्न भएको पुरस्कार अर्पण कार्यक्रममा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दरले स्वागत मन्तव्य राखेका थिए भने एकेडेमीका प्राज्ञ सदस्य विजयरत्न असंबरले दान्यहिरा सिरपा को कार्यविधी र प्रावधानमाथि प्रकाश पारेका थिए ।

यस्तै गरी पुरस्कार अर्पण समारोहमा एकेडेमीका भाइस चान्सलर र दान्यहिरा सिरपाका दाता कथाकार यज्ञरत्न धाख्वाःको बा¥हौं कृतिका रुपमा नेपालभाषाको कथा सङ्ग्रह पुस्तक ‘हारां मैंचा’ (नखरमाउली केटी)को पनि प्रमुख अतिथी शताब्दी पुरुष डा. जोशीद्वारा बिमोचन गरिएको थियो । बिमोचित पुस्तकका बारेमा एकेडेमीमा प्राज्ञ सदस्य प्रा. प्रेमशान्ति तुलाधरले समालोचना गरेका थिए ।

एकेडेमीका प्राज्ञ सदस्य साहित्यकार शशीकला मानन्धरले उदेघोषण गरेको सो कार्यक्रममा गायकहरु जुजुकाजी रञ्जित, ईश्वर अमात्य, हरिशरण साय्मि, रमना श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए भने कलाकार अञ्जला नकर्मिले नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार