काठमाडौं,
असोज ९ ।
‘आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौँ, संसारभरि छरिएर रहेका रानाहँछाहरू एक हौँ’ भन्ने मूल मन्त्रका साथ किरात राई रानाहँछा समुदायका जेष्ठ, विद्वान तथा विज्ञजनहरूको भेला र छलफलबाट स्थापित यस ‘किरात राई रानाहँछा समाज’ले आफ्नो समुदायको हकहित र समुन्नतिका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको सर्वविदितै छ । साथै भाषा, धर्म, संस्कार र संस्कृतिको खोजअनुसन्धान, संरक्षण र सम्बर्धन कार्यमा पनि उत्तिकै विशेष महत्वका साथ काम गरिरहेको छ ।

यसै सन्दर्भमा समानन्तर उद्देश्य भएको एक संस्थाले व्यापक खोजअन्वेषण, छलफल, परामर्श र सर्वसहमति नगरी नै मनोमानी ढङ्गले प्रकाशन गरेको ‘रानोहोंछा वंशावली’का सम्बन्धमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न तथ्यहरूबाट हाम्रो पाछाको नाम ‘रानाहँछा’ नै शुद्ध हो भन्ने प्रमाणित हुँदाहुँदै उक्त संस्थाले मनोगत आधारमा अशुद्ध नाम ‘रानोहोंछा’ प्रयोग गरेकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ । अतः उक्त अपूर्ण, अशुद्ध र भ्रामक वंशावलीको कुनै औचित्य नरहेको हुँदा समस्त रानाहँछा वंशलाई उक्त वंशावली नलिन र विश्वास नगर्न हार्दिक अपिल गर्दछौँ ।






