पत्रकारिता, अभिनय, निर्देशन, निर्माता तथा प्रस्तोता रहेका माधवराज खरेलको अर्को परिचय भनेको लेखक पनि हो । ढुङ्गे युग, विरानो माया, कुइनेटो, कस्तो यो जीवन, दुर्गामाण्डौंलगायत एक दर्जनभन्दा बढी डकुमेन्ट्री विभिन्न टेलिभिजनहरुमार्फत् प्रसारण गरिसकेका कार्यक्रम निर्माता तथा प्रस्तोता खरेलको सामाजिक घटनामा आधारित ‘दुर्गामाण्डांैउपन्यास पाठकमाझ आएको छ । कलर्स इन्टरनेसनल पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको यो उपन्यास हालै बजारमा आएको हो ।

– गीता अधिकारी
दुर्गामाण्डौंमा उनले आफ्नो १२–१५ वर्षदेखिको वृतचित्र, टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन एवम् प्रस्तुति, पत्रकारिता, कलाकारिता एवम् चलचित्र निर्माण, लेखन, निर्देशनको अनुभवलाई पाठकमाझ पस्कने प्रयास गरेका छन् । बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्ला, भुम्लुसल्ले–९ जन्मस्थान भई हाल काठमाडौंलाई कमर्थलो बनाएका खरेलले देशको सुदूपश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथा तथा एकल महिला र बोक्सीको आरोपमा महिलामाथि हुने हिंसालाई उठान गर्न खोजेका छन् यस उपन्यासमा । उनले सुदूरपश्चिमको डोटेली भाषालाई उपन्यासमा प्रयोग गर्ने कोसिस गरेका भए पनि यसभित्र उठान गर्न खोजिएको महिलाहिंसाको कुराले आमरुपमा नेपालका अन्य ठाउँलाई पनि प्रतिनिधित्व गर्दछ । खरेलले उपन्यासमा डोटीको एउटा विकट गाउँमा रहेकी दुर्गा भन्ने पात्रले भोगेका हिंसा तथा आरोह–अवरोहलाई प्रस्तुत गर्न खोजेका छन् ।
यति बेला २१औं शताव्दीका कुरा चलिरहँदा हाम्रो मुलुकमा अहिले पनि बालविवाह, छाउपडी, बोक्सीको आरोप, महिला हिंसाका अनेक रुप रहेका छन् । माधवको यसैका विरुद्ध सानो प्रयास देखिन्छ दुर्गामाण्डौं । म आफैँ मध्यपश्चिमको रोल्पाभन्दा पर त पुगेकी छन् तर अध्ययनबाट थाहा हुन्छ कि सुदूरपश्चिम सुन्दर पश्चिम हो । यो सुन्दर पश्चिममा मानवसिर्जित अनेक विकृति–विसङ्गतीहरुको रहेको लेखकले यस पुस्तकमार्फत् प्रष्ट्याउन खोजेको पाइन्छ । धर्मको नाममा, संस्कारको नाममा, प्रथाको नाममा जरा गाडेका कुप्रथाहरुलाई रचनात्मक शैलीमा यस उपन्यासमार्फत् पाठकमाझ ल्याउने खरेलको कोसिस सह्रानीय रहेको देखिन्छ ।
नेपालका विभिन्न स्थानमा महिलाहिंसाका घटनाहरु व्याप्त छन् । यसै विषयवस्तुलाई केही यथार्थपरक र केही कथानक रुपमा नजिकबाट पस्किने प्रयास गरेका छन् खरेलले । उनले सुदूरपश्चिममा घटेका महिलाहिंसासम्बन्धी केही घटनाको यथार्थसँग नजिक रहेर प्रतिनिधि घटनाको रुपमा यस उपन्यासमा प्रस्तुत गरेका छन् । पुस्तकमा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङका केही मीठा, व्यङ्ग्यात्मक शैलीका महिला अधिकारका कुराहरु, प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका केही प्रसङ्गहरुसमेत रुपमा उल्लेख छन् ।
महिला हिंसाका विरुद्ध काम गर्न खुलेका संस्थाहरुले डलर र रुपैयाँको पछाडि लाग्नुभन्दा वास्तविक पीडित महिलाहरुका हकहितमा काम गर्ने एवम् आफ्ना निकायका सङ्गठनले सही काम गरेको छ कि छैन भनेर निगरानी गर्ने हो भने पक्कै पनि समाजमा महिला हिंसाका घटनाहरुमा कमी आउने थियो । सरकारी निकायहरुले पनि तालिम र गोष्ठीलाई मात्रै बढावा दिएर महिला हिंसा कम हुन्छ भन्ने दिवास्वप्न देख्नुभन्दा वास्तविक पीडितको घाउमा मल्हम लगाउने प्रयास गर्ने र मल्हम लगाउँछु भनेर खुलेका विभिन्न संस्थाहरुको काममा निगरानी बढाएमा पक्कै पनि परिणाम राम्रै आउन सक्थ्यो भन्छन् माधव यस पुस्तकमार्फत् । यस मानेमा यो पुस्तक उपन्यासमात्र नभएर महिलाहिंसाविरुद्धको एउटा बुलन्द आवाज रहेको छ भने सरोकारवालाहरुका लागि खबरदारी पनि ।
पत्रकार नवराज दुवाडी, भाषा सम्पादक पत्रकार कमलाकुमारी जोशीको मिहिनेतले यो उपन्यासलाई अझ पढ्नका लागि मिठास थपिदिएको छ । दुर्गामाण्डौं पहिलो उपन्यास कृति लिएर नेपाली साहित्य फाटमा होमिएका स्रष्टा माधवको प्रयासलाई अन्तर्हृदयबाट धन्यवाद दिनै पर्छ । उनको यो उपन्यासले केही जानकारी र केही सन्देश दिएको छ ।
लेखनको यो यात्रा नरोकियोस्, जुन तपाईंले प्रारम्भ गर्नुभएको छ । गीता कामना छ, माधवजीसित । तपाईंका धेरै धेरै सिर्जनाहरु छापाका रुपमा, श्रवणका रुपमा या दृश्यका रुपमा आइरहून । बस् यत्ति नै, अहिलेलाई यही कामना ।






