माग्दा मिल्ने भए म आमालाई माग्थें-सुनिता गिरी 

प्रवासमा रहेर पनि नेपाली साहित्यमा अनवरतरुपले आफूलाई समर्पित गराइरहेकी साहित्यकार हुन्, सुनिता गिरी । चितवन, रत्ननगरमा जन्मिएर पाँचथर, फिदिमलाई कर्मघर बनाएकी उनी हाल हङकङमा कार्यरत छिन् । पछिल्लो समय विभिन्न साहित्यिक र सामाजिक सङ्घ–संस्थामा आबद्ध रहेर अत्यन्तै सशक्त कविताहरु लेखिरहेकी सुनितासँग मिलापले गरेको कुराकानीः-

तपाईंको दृष्टिकोणमा साहित्य के हो  ?

साहित्य भनेको मानिसको हृदयको सबैभन्दा सुन्दर ऐना हो, जहाँ मानिसले कहिले आफ्नै दुःखको गहिरो छायाँ देख्छ त कहिले सुखको उज्यालो अनुहार ।

साहित्यप्रतिको रुचि कहिलेदेखि बढ्यो तपाईमा ?

जब मैले पहिलोचोटि आफ्नै जीवनलाई नजिकबाट बुझें, आफूभित्रका अथाह दुःख, आँसु, सङ्घर्ष, सपना र माया– ममतालाई सूक्ष्मरुपले चिनें, त्यहीँदेखि ममा साहित्यप्रति अगाध रुचि सुरु भएको हो । अहिले त यो मेरो सबैभन्दा नजिकको साथीजस्तो भएको छ ।

यो क्षेत्रमा तपाईलाई पारिवारिक सपोर्ट कस्तो छ  ?

मलाई साहित्यमा लाग्न सबैभन्दा बढी प्रेरणा र प्रोत्साहन दिने नै मेरो परिवार हो ।

 पछिल्लो समय के लेखिरहनु भएको छ  ?

कविताहरु लेखिरहेकी छु । साथै ती कविताहरुलाई सङ्ग्रहको रुपमा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।

कवितासङ्ग्रह आउँदै गरेको सुखद् जानकारी गराउनुभयो, उक्त सङ्ग्रहबारे केही भनिदिनुहुन्छ कि  ?

सिर्जनाको सङ्ग्रह भनेको आफ्नो कोखको सन्तानजस्तै हो । दुवैलाई जन्मिएपछि हुर्किन माया, ममता र साथको सधैं खाँचो पर्छ । त्यसैले प्रकाशनपछि मेरो कवितासङ्ग्रहले पनि पाठकहरुको अमूल्य माया पाउनेछ भन्ने मैले विश्वास लिएकी छु ।

अहिले हङकङमा नेपाली साहित्यको अवस्था कस्तो छ  ?

हङकङको अहिलेको साहित्यिक अवस्था सन्तोषजनक देख्छु म । मलाई लाग्छ, प्रशस्त साहित्यिक संस्था खोल्दैमा समग्र साहित्यको विकास हँुदैन । एउटै साहित्यिक समूहभित्र अटेर पनि साहित्यको विकासमा टेवा पु¥याउन सकिन्छ । जुन कुरा हङकङमा हरेक महिनाको अन्तिम आइतबार भव्य रुपले सम्पन्न हुने ‘हङकङ साहित्य साझा शृङ्खला’ बाट पनि प्रमाणित हुन्छ, जुन साहित्य शृङ्खलाले हङकङमा सिर्जनारत नयाँ–पुराना सबै स्रष्टाहरुलाई एक ठाउँमा जोड्न सफल भएको छ ।

 हङकङको साहित्यलाई अझै समृद्ध पार्न अब के–कस्तो काम गर्नुपर्ला  ?

भाषा साहित्यको नाममा हङकङमा जति संस्थाहरु खोलिएका छन्, ती संस्थाहरुद्वारा नेपालबाट प्रायःजसो कलाकारहरुलाई झिकाएर मनोरञ्जन दिलाउने काममात्रै भएको देखिन्छ । यसबाट हाम्रो रचनात्मक विकास सम्भव हुँदैन । त्यसैले साँच्चिकै भाषा, साहित्य र स्रष्टाको उन्नयनका खातिर संस्थाहरु खोलिएका हुन् भने अब विधागत विद्वान् तथा स्रष्टाहरुलाई झिकाएर साहित्यका विभिन्न आयामहरुमा बौद्धिक छलफल चलाउन आवश्यक छ । यसो भएमात्र यहाँका सर्जक तथा भाषा साहित्यको विकासमा थोरै भए पनि टेवा पुग्छ ।

तपाईको जीवनमा अत्यन्त प्रभाव पारेको पुस्तक कुनै छ  ?

मेरो जीवनमा मलाई प्रभाव पारेका पुस्तकहरु त धेरै छन् । तीमध्ये पनि ‘शिरिषको फूल’ मैले सदा सम्झिरहने पुस्तक हो ।

सामाजिक रुपान्तरणमा साहित्यको कस्तो प्रभाव रहन्छ  ?

कला र साहित्यबिनाको समाज अँध्यारोमात्रै होइन, अपाङ्ग नै हुन्छ । समाजलाई स्वस्थ, सुन्दर र गतिशील बनाउन साहित्यको अहम् भूमिका रहन्छ । यसर्थ, सामाजिक रुपान्तरणको भरपर्दो जग नै साहित्य हो ।

साहित्यलाई आफूबाट अलग्याएर हेर्दा कस्तो अनुभव गर्नुहुन्छ तपाईं  ?

साहित्यलाई आफूबाट अलग्याएर हेर्दा आफूलाई निष्पट अन्धकारबीच निस्सासिरहेको विरानो यात्रीजस्तो अनुभव गर्छु । नेपाली साहित्यमा महिला स्रष्टाहरुको लोभलाग्दो सूची छ । त्यो सूचीबीच आफूलाई कहाँनेर पाउनुहुन्छ तपाईं ?साहित्यमा महिला स्रष्टाहरुको बाक्लो उपस्थितिप्रति गर्व लाग्छ मलाई । जुन उपस्थितिबीच मेरो पनि कहीँ आफ्नै स्पेस छ । त्यो स्पेसलाई सुरक्षित र मजबुत बनाउने कुरामा म सचेत छु ।

अन्त्यमा, भगवान्सित वरदान माग्दा यदि कुनै एउटा मूल्यवान चिज मिल्ने भए के माग्नुहुन्थ्यो  ?

त्यसरी माग्दा मिल्ने भए म मेरी आमालाई माग्थें । उहाँको छातीमा लुटपुटिएर रुने इच्छा बाँकी नै छ मसित । तर, आज आमा हुनुहुन्न ।

यसमा तपाइको मत

अन्य समाचार