धार्मिक क्षेत्रका पण्डाहरुले धेरै अन्योलपूर्ण कार्य गरिरहेका छन्

 

काठमाडौं, काँडाघारी निवासी सानुभाइ थापा ‘ॐ’ का अनुयायी । ‘ॐ’ शब्दका पुजारी । राष्ट्रवादी व्यक्ति । कुशल चिन्तक । अध्यात्म चेतनाका अनुकर्ता । समाजलाई रुपान्तरण गर्न सनातनीय पद्धतिहरुलाई अनुशरण गर्दै अनेक विचार, धर्म र संस्कृतिका व्यक्ति एवम् मान्यताहरुलाई कार्यान्वयन तहमा पु¥याउने सचेतक पनि । नेपाल सुन्दर छ । शान्त छ । विशाल छ । महान् छ । विश्वमै सर्वश्रेष्ठ छ । नेपाललाई राजनीतिले ध्वस्त तुल्याएको छ । भ्रष्टाचारले आक्रान्त बनाएको छ । सामाजिक विकृतिले अधोगतितिर पु¥याएको छ । तथापि, विविध जात–जाति, धर्म–संस्कृति, प्रथा–परम्पराले युक्त नेपाललाई बनाउन ॐ दर्शनको मनोक्रान्तिबाट नेपाल र नेपालीको सम्बद्र्धन गराउने दिशामा सानुभाइ थापा (ॐगुञ्जा) ले अथक प्रयास गरिरहनुभएको छ । एक निरन्तर ‘ॐ’ दर्शनबाट । ‘ॐ’ दर्शनका अभियन्ता सानुभाइ थापासित साहित्यकार महेश प्रसाईंले उहाँका आध्यात्मिक चिन्तनमाथि गर्नुभएको वार्ताको सारसंक्षेपः–

 

तपाईं जागिरे जीवनबाट निवृत भइसकेपछि जनसचेतना कार्यतिर अग्रसर हुनुभएको देखिन्छ  । तर, तपाईंको सन्देश प्रष्ट भएको देखिँदैन नि ?
म प्रष्ट छु । मेरो अभियान प्रष्ट छ । समाजलाई ठीक बाटोमा हिँडाउन मैलै सात्विक विचारलाई लिनुपर्छ भनेको हुँ । कसैले कसैलाई दुःख–कष्ट दिनु हुँदैन । सबैले आफ्नो कर्तव्य र दायित्वलाई बुझेर चल्नुपर्छ । प्राणीहरुमा मनुष्य जीवन सर्वश्रेष्ठ मानिन्छ । तसर्थ, यो जीवनलाई दुरुपयोग गर्नु हुँदैन । भौतिक हिंसा गर्नु हुँदैन । यसका साथसाथै मानसिक हिंसा पनि गर्नु हुँदैन । सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ । कसैलाई निषेधमा राखेर आफ्नो दभ्यता र अभिमान जारी गर्नु हुँदैन । ‘ॐ’ शब्दको सारलाई बुझेर यसको मन्त्र शक्तिको मार्गदर्शनमा हिँड्ने हो भने सबैको भलो हुन्छ । मैले मनुष्य समाजको भलो चिताएको हुँ ।

यसका लागि के–कस्ता पहलहरु गर्नुभएको छ त ?
म प्रचारभन्दा पनि परिणाममुखी कार्यमा विश्वास गर्छु । यथार्थमा म कार्यान्वयन तहमा छु । यस बेला नेपाल विदेशी क्रिश्चियनहरुको पैसाले गुमराहतिर धकेलिँदैछ । राजनीतिक पार्टीका नेताहरु विदेशी पैसामा बिक्री भइरहेका छन् । यहाँ क–कसले विदेशी पैसा खाएर सनातनीय हिन्दू धर्मलाई सङ्कटमा पारिरहेका छन् भन्ने कुरा सबैलाई थाहा छ । परिआएका खण्डमा म तिनीहरुको पोल खोल्न सक्छु ।
अहिले देशको राष्ट्रियता खतरामा परेको छ । सबै नेपालीहरु सचेत हुन आवश्यक छ । स्कुल, कलेज, सङ्घ–संस्था, सरकारी कार्यालयका व्यक्ति र निकायलाई ‘काउन्सिलिङ’ गर्न आवश्यक छ । मैले त्यसतर्फ ध्यानाकर्षण गराइरहेकै छु ।

नेता, उच्च पदस्थ व्यक्ति, सामाजिक अभियन्तालगायतका जिम्मेवार व्यक्तिहरुलाई कत्तिको घच्घच्याइरहनु भएको छ त ?
कुनै पार्टीका नेता ठीक छैनन् । सबै भ्रष्ट छन् । तिनीहरु उच्च पदमा पुग्नुभन्दा अघि कस्तो हैसियतमा थिए, पदमा पुगेपछि तिनीहरुको समृद्धि कस्तो अवस्थामा हुन्छ, तपाईं स्वयम् छुट्याएर हेर्नुहोस् । तिनीहरुको जीवनमा आकाश–जमीनको अन्तर हुन्छ । समाजमा राम्रा मान्छे नभएका होइनन् । तिनीहरुले अवसर पाउँदैनन् । पाए पनि तिनीहरुको खुट्टो तानिन्छ । तथापि, मैले आफ्नो ‘मिशन’लाई अघि बढाउने कोसिस गरिरहेकै छु ।

तपाईं नेता र उच्च पदस्थ व्यक्तिहरु भ्रष्ट छन् भन्दै हुनुहुन्छ । तिनका प्रमाण खोजेर कारवाही गराउन कत्तिको क्रियाशील हुनुहुन्छ त ?
हेर्नुहोस्, प्रमाणहरु प्रशस्त छन् । तर, कारवाही गर्ने निकाय नै चोखो छैन । आर्थिक लाभका पदमा बसेका अधिकांश सरकारी कर्मचारीहरु भ्रष्ट छन् । कागजमा छलेर र किर्ते गरेर भ्रष्टाचार गर्छन् । सरकार स्थिर छैन । छ–छ महिनामा भागवण्डा गरेर खाने व्यक्तिहरु सरकारमा पुग्छन् । तिनले नै ती कर्मचारीहरुको संरक्षण गर्छन् । यस्तो स्थितिमा कसलाई गुहार्नु ? तथापि, नागरिक समाजलाई झकझकाउने प्रयास गरिरहेको छु ।

तपाईंले भ्रष्टाचार निवारण गर्ने निकाय नदेखेकै हो त ? अख्तियारले चाहिँ के गरेर बसिरहेको छ त ?
‘सानालाई ऐन ठूलालाई चैन’ भने जस्तो छ अहिलेको नेपालमा । अख्तियारले ठूला र शक्तिशाली व्यक्तिले गरेको भ्रष्टाचारलाई रोक्न सकेको छ त ? अर्को कुरा त्यहाँ गएका व्यक्तिहरुलाई नै हेर्नुहोस् त, ती कति योग्य र इमानदार छन् ?

हामी अध्यात्मवादी दर्शनमा वार्ता गर्दै थियौँ । राजनीतिक मुद्दातिर पो लागेछौं । तपाईंको आध्यात्मिक पक्षबाट देशलाई भ्रष्टाचारमुक्त गर्न सकिन्न र ?
बल्ल तपाईं विषयवस्तुमा आइपुग्नु भयो । चिन्तनतर्फ अग्रसर हुन आह्वान गरेको हुँ । सर्वप्रथम स्वच्छ विचार, पवित्र सोच र पवित्र क्रान्तिबाट अगाडि बढ्नु पर्छ । मैले ब्रोसियर, लिटरेचर, अन्तर्वार्ताबाट प्रशस्त बोलिसकेको छु । कतिपय ठाउँमा ‘फ्लेक्स’बाट पनि जनचेतना जगाउन कुनै कसर छाडेको छैन । यो मुलुकलाई स्वच्छ, शान्त हराभरा तुल्याउन मनको शुद्धीकरण गर्नै पर्छ ।
धार्मिक क्षेत्रका पण्डाहरुले धेरै अन्योलपूर्ण कार्य गरिरहेका छन् । यिनलाई पनि शुद्धीकरण गर्न आवश्यक छ ।

यसमा तपाइको मत

अन्य समाचार