भिडियो गेमको प्रभाव बच्चाहरुको स्वास्थ्यमा

 

 

आजभोली खासगरि शहरबजारमा केटीकेटीहरु खेलकुद, घुम्नेफिर्ने, साथीहरुसँग हाँसीमजाक गरेर समय विताउने भन्दा धेरै क्रेज भिडियो गेममा समय विताउने गर्दछन् । खासगरि काठमाडौंका लगभग प्रत्येक गल्लीहरुमा यस्ता भिडियो गेमहरु खेलाउने पसलहरु देख्न सकिन्छ जसमा बालबालिकाहरु झुम्मीरहेका देखिन्छन् । यसको अतिरिक्त घरमै पनि घण्टौंसम्म टी.भी. वा कम्प्युटरमा गेम खेल्ने, लामो समयसम्म कार्टुन हेर्ने, हिम्स्रक फिल्म त कहिले रोचक गेममा अल्झिरहनु सामान्य कुरा भएको छ । यसको चक्करमा बालबालिकाहरु पढाइको कुरा त छोडौं खानपिन गर्नसमेत भुल्ने गर्दछन् भने केहीले त्यसैको सुरमा धेरै खाने र मोटापनको शिकार हुने गरेको पाइन्छ ।

जब बालबालिकाहरु आफ्ना औंलाहरुको इशाराले अतिबलशाली आकृतिलाई पलभरमा धरासायी गर्छन् जसले उनीहरुको मुहारमा भलै खुसी देखियोस् तर यसले उनीहरुको कोमल मनमा हिंस्रक प्रवृतिले ठाउँ लिन सक्छ । यस्ता मनगणन्ते र निहायत काल्पनिक भिडियो गेम्सको वास्तविकता टाढा–टाढासम्म केही लिनु दिनु हुँदैन । दुई जना पहलवान या खुंखार जनावरद्वारा एकअर्कोमा ज्यान लिने हमला र ढिस्यूँ–ढिस्यूँ वा धायँ–धायँको आवाजले तिनमा उत्तेजना पैदा गरेर हिंसाको वीउ रोप्ने गर्दछन् । एकाग्रचित्त भएर तल्लिन बच्चाहरुको अतिरित्त यस्ता गेमलाई हेर्ने वरिपरि झुमिएका बच्चाहरुको मनमा पनि यसको नराम्रो असर पर्ने गर्दछ ।

मनोवैज्ञानिकहरुको भनाई छ भिडियो गेम्समा देखाइने रोमाञ्चकारी हिंस्रक दृश्य बच्चाहरुको अवचेतनमा गएर बस्ने गर्दछ जसको असर कुनै पनि समय हुनसक्छ । बच्चाहरु तर्कवितर्क नगरीकन गेम्स, कार्टुन वा सन्देशहरुलाई साँच्चै मानेर त्यसको जस्ताको तस्तै नक्कल गर्ने कोशिस गर्ने गर्दछन् । जसले कहिलेकाहीँ दुर्घटनाहरु भएका खबरहरु पनि हामीले बेलाबेलामा सुन्ने गरेका छौं ।

अष्ट्रेलियाका शोधकर्ताहरुको मतअनुसार टी.भी. बाट निस्कने खास किसिमका किरणहरुले दिमागको कार्यप्रणाली बन्द गरिदिन्छ, खासगरेर नजिकैबाट टीभीमा गेम हेर्ने बच्चाहरुको दिमागले विकिरण सहन गर्न सक्दैन । जब एकचोटी दिमाग शुन्य हुन्छ, आँखा टीभीको पर्दामा टक्क अडिन्छ । बच्चाहरु सम्मोहित भएर टीभी लगातार हेरिरहन्छन् । परिणामस्वरुप मस्तिष्कको फोटो सेन्सेटीभ कोषिकाहरु धेरै छिटो छिटो प्रतिक्रिया गर्न थाल्दछन् जसले दिमागको सन्तुलनलाई नै विगार्छ र मस्तिष्कमा असमान्य तरल पदार्थ बग्ने गर्दछ । यसले छारेरोग हुने सम्भावना अत्यधिक रहन्छ ।

शोधबाट यो पत्ता लागेको छ कि वर्तमानमा प्रचलित नयाँ नयाँ ट्रिक फोटोग्राफीबाट बनेका भिडियो गेम जसमा चित्रहरु धेरै छिटोछिटो हल्लने र बदलिने गर्दछन् । साथसाथै पर्दाको रोशनी पनि घट्ने बढ्ने क्रम र बदलिने क्रम धेरै नै छिटो हुने गर्दछ । यसले बच्चाहरुको नाजुक मस्तिष्कमा धेरै गलत प्रभाव पर्ने गर्दछ । धेरै लामो समयसम्म भिडियो गेम खेल्ने गर्नाले आँखाको ज्योति कम हुने, चिडचिडापन, चक्कर आउनु, मानसिक तनाव, बच्चाहरु छिटो रिसाउने, झोक्किने, दिमागको शीघ्र थकान, छारेरोग, मोटापन, निन्द्रा नलाग्नु, मन्द बुद्धि हुनु र क्यान्सरजस्ता समस्यासमेत हुनसक्ने विज्ञहरु बताउँछन् ।

अतः बच्चाहरुलाई भिडियो गेम खेल्न दिँदा ध्यान राखौं त्यसमा शिक्षात्मक र सांस्कृतिक ज्ञान बढाउने खालका मनोरञ्जन गेम हुन् । डराउने, भयानक दृश्ययुक्त, हिंस्रक खालका गेमहरु खेल्न र हेर्न नदिऔं । गेम खेल्दा, कार्टुन हेर्दा टीभीबाट कम्तिमा आठ देखि दस फिटकोभन्दा कम दुरीमा र लगातार घण्टौंसम्म टीभी वा भिडियो गेम हेर्न नदिऔं ।

टीभी च्यानलहरु र केवल कनेक्सनले आजको संस्कृति टीभी संस्कृति बनाइदिएको छ । हरेक चिजका फाइदा र वेफाइदा त्यतिकै हुने गर्दछन् । आफ्नो खाली समयमा टीभीको अगाडि बसेर समय विताउने राम्रा माध्यम भएका छन् टीभी च्यानलहरु । त्यसैमा अहिले त झन मोवाइल र इन्टरनेटहरुले त्यसको ठाउँ ओगट्दैछ । मनोरञ्जन, नयाँ नयाँ जानकारी दिने तथा तनावबाट मुक्ति दिन दिनभरीको थकान मेटाउनका लागि टीभी एक सुलभ साधन भएको छ । त्यसैकारण यसलाई प्रत्येकको घर–घर, कोठा–कोठामा राख्ने र नियमित हेर्ने एउटा अनिवार्य आवश्यकता बनेको छ र आदत पनि ।

चिकित्सकहरुको भनाई छ, धेरै टीभी हेर्नाले दृष्टिदोष उत्पन्न हुनसक्छ । यसको अतिरिक्त आँखामा तनाव, रातो हुनु, मस्तिष्कको सोच्ने शक्ति कुण्ठित हुनु, स्मरण शक्ति कमजोर हुनु, शारीरिक र मानसिक रुपमा छिटो थकान आउनु, रचनात्मक शक्ति कम हुनु, आँखा पोल्नु, चिडचिडापन, मोटोपन, कोलेस्ट्रोल बढ्नु, चक्कर आउनु जस्ता दुस्परिणाम देखिन सकछ । भनिन्छ, धेरै भयो भने गुण पनि तितो हुन्छ । फाइदा गर्ने चिजले पनि घाटा पु¥याउँदछ त्यसैले होला धेरै टीभी हे¥यो भने यी माथिका समस्याहरु देखिने गर्दछ ।

टीभीका दुष्परिणामहरुबाट बच्नका लागि आठदेखि दस फिटको दुरीबाट हेर्ने, बल या ट्युवलाइटको रोशनीमा हेर्ने, व्यर्थका कार्यक्रम हेरेर आफ्नो समय नष्ट नगर्ने, आफ्नो रुचीअनुसार र ज्ञानवर्दक, मनोरञ्जन कार्यक्रम एकदुई घण्टाभन्दा लामो समयसम्म लगातार नहेर्ने, बीचबीचमा आँखालाई आराम गर्ने मौका दिने गर्नुपर्दछ । जसले गर्दा यसको दुष्परिणामबाट बच्न सकिन्छ ।

-नवीनकिरण भुसाल

यसमा तपाइको मत

अन्य समाचार