केसीको पक्षमा जनलहर

विराटनगर,

ज्येष्ठ २३ ।

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा राप्रपाको तर्फबाट प्रमुखको पदमा उम्मेदवार बनेका कालीदास केसी (कार्की)ले आफ्नो पक्षमा प्रचार प्रसार तीब्र बनाएका छन् ।

स्थानीय तहको दोस्रो चरणको मतदान मिति नजिकिँदै गर्दै प्रमुखका उम्मेदवार केसीले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका हुन् । उनको पक्षमा जनलहर बढ्दै गएको राप्रपा प्रचार प्रसार समिति मोरङले जनाएको छ ।

राप्रपा मोरङका वरिष्ठ नेता समेत रहेका कार्कीले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा कुलो निर्माण, सिचाइ आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले खानेपानीका धाराहरू निर्माणलाई पनि महत्वका साथ अगाडि बढाउने बताएका छन् ।

चिसाङ र डाँस खोलाको तटबन्ध बनाउनेदेखि मूल र सहायक सडकहरूको स्तरउन्नोतीमा केसीले ध्यान दिने बताए ।

कृषि, स्वास्थ्य, शिक्षा र स्वरोजगारीलाई पनि उम्मेदवार केसीले पहिलो स्थानमा राखेर योजनाहरू बनाउने बताए । उनले भने, ‘मलाई मतदाताहरूले विश्वास गरेर विजयी बनाउनु भयो भने मैले युवाहरूका लागि स्वरोजगारीको योजना बनाउने छु । त्यसका लागि मसँग मास्टर प्लान पनि छ ।’ उनले स्थानीय साधन स्रोतलाई प्रयोग गरेर रोजगारी सृजना गर्न सकिने पनि बताए ।

यसअघि पनि कानेपोखरीमा विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका प्रमुखका उम्मेदवार केसीले भने, ‘गाउँको विकासका लागि मैले थुप्रै काम गरेको छु । अहिले भनेर हुँदैन । मतदाताले आफै मूल्यांकन गर्छन् ।’

यसमा तपाइको मत

अन्य समाचार