ज्येष्ठ १० ।
भारतीय वायु सेनाको फाइटर विमान भारत–चीना सीमामा वेपत्ता भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एसयु–३० फाइटर विमान भारत–चीन सीमा नजिकै रहेको आसामको तेजपुर क्षेत्रमा वेपत्ता भएको हो ।
तेजपुरबाट ६० किलोमिटर उत्तरतर्फ विमानसँग सम्पर्क विच्छेद भएको थियो । रसियामा बनेको फाइटर विमान दुई पाइलटसहित आसामको सालोनिबारीबाट मंगलबार बिहान १०ः३० मा उडान भरेको थियो ।
भारतीय वायु सेनाले खराब मौसमका कारण मंगलबार खोजी कार्यलाई रद्द गरेको थियो । रक्षा प्रवक्ताका अनुसार बुधबार पुनः विमानको खोजी शुरु गरिनेछ । भारतीय वायु सेनाको सुखोई–३० विमानमा यसअघि पनि इन्जिनमा समस्या देखिँदै आएको थियो ।
दुईवटा इन्जिन भएको रसियन विमानले सबै मौसममा, हवाई तथा थल कारवाही गर्न सक्षम रहेको बताइएको छ । सन् १९९० ताका यो विमान भारतीय वायु सेनामा ल्याइएको थियो । त्यसयता ७ वटा विमान दुर्घटनाग्रस्त बनिसकेका छन् । गत मार्चमा पनि यस्तै विमान राजस्थानको बारमेर जिल्लामा दुर्घटनामा परेको थियो ।






