नेपाली गीत सन्देशमूलक हुन्छन् –मोहम्मद वारिस खान, गायक

यहाँले हालै दर्शक÷स्रोतामाझ एल्बम ‘आगो र फूल’ ल्याउनुभएको छ । कस्तो पाइरहनु भएको छ प्रतिक्रिया ?

हो, मैले गत महिना एक कार्यक्रमबीच एल्बम ‘आगो र फूल’ सार्वजनिक गरेको छु । त्यसलाई एउटा विशेष कार्यक्रमबीच विमोचित गरिएको थियो । यस एल्बमका गीतहरुलाई सुनेर र हेरेर राम्रै प्रतिक्रिया पाइरहेको छु । पछिल्लो समय यु–ट्युबमा पनि यसले राम्रै भ्युअर्स पाइरहेको छ ।
तपाईंंको यो कतिऔं एल्बम हो ?
मेरो यो दोस्रो एल्बम हो । पहिलो एल्बम निकालेको ९ वर्ष पनि यो दोस्रो एल्बम लिएर दर्शक÷स्रोतमाझ आएको छु म ।
गीत–सङ्गीतको क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानो छँदादेखि नै एक खालको रुचि थियो– गीत गाउने र सुन्ने । पढाइ लेखाइतिर कम मन जान्थ्यो । यो क्षेत्रले नै मेरो मनलाई लोभ्याउँथ्यो । पढाइ पनि त्यत्तिकै महत्वपूर्ण छ जीवनमा । मैले त्यसलाई पनि पूरा गरें तर मेरो मन मस्तिष्कमा गीत–सङ्गीत नै थियो । म नेपाल–भारतको सीमा क्षेत्रको बासिन्दा हुँ र मेरो पढाइ–लेखाइ भारतमा भयो । त्यहाँ म धेरै हिन्दी गीत सुन्थें । त्यो बेलाको हिन्दी गीतले मलाई आकर्षण गथ्र्यो । सुन्ने र स्कुलका कार्यक्रमहरुमा भाग लिएर गीत गाउने गर्थें त्यतिबेला । मेरो स्वरलाई मन पनि पराइन्थ्यो । मेरो घरमा साङ्गीतिक माहोल भने थिएन । त्यसैले आधिकारिक रुपमा एल्बम लिएर आउन अलिक समय लागेको हो ।
पहिलो एल्बमको निकै लामो समयको ग्यापपछि दोस्रो एल्बम लिएर आउनुभयो नि ?
हो, मैले माथि पनि भनें– पहिलो एल्बम निकालेको ९ वर्षपछि दोस्रो एल्बम लिएर आएको छु । पहिलो एल्बम निकाल्दा मलाई त्यति धेरै थाहा पनि थिएन । काठमाडौं मेरा लागि नौलो थियो । त्यो बेला पनि साथीहरुको साथ सहयोग पाएँ, त्यसका लागि धन्यवाद । मैले एउटा अनुभव गर्न पाएँ । तर, त्यसमा भएका गीत र त्यो एल्बमका बारेमा बजारमा भने त्यति चर्चा भएन । पछि आफ्नो व्यवसाय, कारोबारमा लागें तर मेरो मन–मस्तिष्कमा गीत–सङ्गीत नै थियो र त्यसैको निरन्तरता हो एल्बम ‘आगो र फूल’ ।
एल्बम ‘आगो र फूल’मा रहेका गीतमध्ये अलिक बढी मनपराइएको कुन पाउनुहुन्छ ?
मेरा लागि सबै सिर्जना बराबर नै छन् । तर, पनि के हो भने दर्शक÷स्रोताको आ–आफ्नो रुचिअनुसार मनपराइने रहेछ । चारवटै गीत एकदमै राम्रो रहेको छ । मलाई एकसँग अर्को तुलना गर्न गाह्रो छ । सबै राम्रा छन् । एल्बममा ‘कि त मेरो मुटुलाई…’, ‘आउनु है कान्छी…’, ‘काली काली बान्की परेकी…’ र ‘जिन्दगीभर जीवनसाथी…’ जस्ता चारवटा गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सुरेश अधिकारी, शिखर सन्तोष, वसन्त सापकोटा र रविराज शाहको सङ्गीत रहेको छ भने शीतल कादम्बिनी, सुरेश अधिकारी र प्रगति थापाका शब्द रहेका छन् ।
अबका दिनमा पनि तपाईंले यस क्षेत्रमा निरन्तरता नै दिनुहुन्छ कि ?
हो, मैले यो क्षेत्रलाई निरन्तरता दिने सोचाइ नै बनाएको छु । मेरा तीनवटा गीतहरु रेकर्डिङको तयारीमा छन् । म यो क्षेत्रबाट टाढा जाने कुरा सोच्न पनि सक्दिनँ । हिन्दी गीतमा पनि अफर आएको छ । दुईवटा भोजपुरी गीत पनि गाउँदैछु ।
यो क्षेत्रमा लागेर अहिलेसम्म आउँदा कत्तिको साह्रो–गाह्रो अवस्थाको सामना गर्नुप¥यो ?
हरेक क्षेत्रमा सफल हुनका लागि विभिन्न कालखण्डहरुलाई पार त गर्न नै पर्छ । मैले यसअघि जति नै यो क्षेत्रमा लागेर सङ्घर्ष गरे अहिले आएर मेरो भाग्य खुलेको जस्तो लागिरहेको छ । यस एल्बममा वरिष्ठ सङ्गीतकार, गीतकारहरुले मलाई यति माया गर्नुभएको छ कि मैले बयान नै गर्न सक्दिनँ । उहाँहरुको माया र सर्पोटले म निकै अगाडि जान्छु जस्तो लाग्छ ।
कस्ता र कसको गीत बढी सुन्न रुचाउनु हुन्छ ?
पहिला म भारतीय गायकहरुको गीत बढी नै सुन्थें र गाउँथे पनि । नेपाली गीतमा स्वर स्रमाट नारायण गोपाल, भक्तराज आचार्य, त्यस्तै नयाँ आएर रामकृष्ण ढकालको गीत मनपर्छ । मैले स्थानीय स्तरमा हुने कार्यक्रममा रामकृष्णको ‘ओराली लागेको हरिणको चाल भो…’ धेरै नै गाएको छु ।
अहिले आएर गीत–सङ्गीत के हो जस्तो लाग्छ ?
मलाई के लाग्छ भने सङ्गीत जीवन हो । जीवन नै सङ्गीत हो । गीत–सङ्गीतबिना जीवन बाँच्छजस्तो लाग्दैन मलाई । गीत–सङ्गीत जीवनको आधार हो । गीत–सङ्गीतका रुप धेरै हुन्छन् । कुनै न कुनै रुपमा मान्छेले यसलाई गुनगुनाएकै हुन्छन् । यसले औषधीका रुपमा पनि काम गर्ने गर्छ ।
नेपाली गीत–सङ्गीतलाई कसरी हेर्नुभएको छ ?
नेपाली गीत–सङ्गीत मलाई एकदमै राम्रो लाग्छ । अहिलेसम्म आउँदा नेपाली गीत–सङ्गीतले धेरै फड्को मारेको छ । मलाई के लाग्छ भने पहिला–पहिलाका र अहिलेका पनि केही अपवादलाई छोडेर नेपाली गीतले प्रायः म्यासेज दिइरहेका हुन्छन् ।

(प्रस्तुतिः गीता अधिकारी)

यसमा तपाइको मत

अन्य समाचार