दाङ ।
सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नो जन्मभूमि दाङमा राष्ट्रिय भावका गीतहरूको एकल गायन सम्पन्न गरेका छन् । राष्ट्रकवि माधाव घिमिरेको रचना र नातिकजीको सङ्गीत/स्वरमा रहेको नेपाली हामी रहौँला कहाँ… डी.बी. महेशको रचना/सङ्गीत/स्वर रहेको हे आमा नेपाल तिमीलाई… बोलका राष्ट्रिय भावका गीत अग्रज स्रष्टाको सम्मानमा २ वटा गीत साथै आफ्नो प्रकाशोन्मुख एल्बम सुरक्षा भित्र सङ्ग्रहित ३ वटा गरि जम्मा ५ वटा राष्ट्रिय भावका गीत गाएका थिए ।
सुरक्षा भित्र रहेका कालीप्रसाद रिजालको शब्दमा सुन हे सुन तन्नेरी हो… दिनेश अधिकारीको शब्दमा पूर्व जागौँ पश्चिम जागौँ… नवराज लम्सालको शब्दमा सकिएला संसार छोड्न… बोलका राष्ट्रिय भावका गीतहरू सन्तोषले सुनाउँदा दर्शकहरू भावविह्वल देखिन्थे ।
कार्यक्रममा उपस्थित साहित्यकार डा. नवराज लम्सालले भर्खरै भारतीय आक्रमणबाट गोविन्द गौतमको निधन भएको बेला आयोजना गरिएको यो राष्ट्रिय भावको सांगीतिक साँझलाई ‘गोविन्द गौतम सम्मान साँझ’ पनि भन्न सकिने बताउनुभयो । गीत, संगीत र गायनका त्रिवेणी सन्तोष श्रेष्ठ नेपालकै गहना भएको उल्लेख गर्दै उहाँले राम्रो सङ्गीतकार मात्रै नभएर एक असल नागरिक भएकोले श्रेष्ठलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
संस्कृतिविद तथा बरिष्ठ संगीतकार बुलु मुकारुङले पनि श्रेष्ठ नेपालकै सम्पत्ति भएको बताउनुभयो । मुकारुङले यस प्रकारका एकल गायन प्रसस्त भएका छन् तर मिश्रित गीतहरूको गायन भएको पाएका छौँ । राष्ट्रिय भावका गीतहरू मात्रै समेटिएको एकल गायन नेपालमै पहिलो पटक भएको उल्लेख गरे। राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता एवं रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परिषद्का बरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले स्वागत गर्नुभएको थियो । गीतकार प्रकाश केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।






