काठमाडौं ।
अहिलेको बदलिदो संगीत स्वादका बीच लिम्बु गीतसङगीत कहाँ पुगिरहेको छ भन्ने जिज्ञासा सबैको मानसपटलमा आइरहेको हुनुपर्दछ । यसैको तिर्सना मेटाउन राजधानीस्थित ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ संस्थाले ‘वेश्मा लाङ्योक’ कार्यक्रम गर्न भएको छ । सो कार्यक्रमको तयारी पुरा भएको आयोजक पक्षले जनाएको छ ।
साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा साँस्कृतिक संस्थान नाचघरमा जमलमा आउँदो माघ २७ गते विहीबार सम्पन्न हुनेछ । यस कार्यक्रममा बरिष्ठ साहित्यकार, मुन्धुमविद् तथा प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति प्राज्ञ बैरागी काइला प्रमुख अतिथि रहनेछन् । कार्यक्रमले लिम्बु गीतसङ्गीतका धरोहर फेदापहाङ लाजेशा भगत सुब्बालाई अभिनन्दन गर्ने छ । साथै प्राज्ञ सङगीतकार अशोक लोहोरुङ राईलाई सम्मान गर्नेछ ।
लिम्बू भाषा, संस्कार सस्कृति संरक्षण तथा प्रबधन गर्ने उदेश्यले स्थापित ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आफ्नो बार्षिक उत्सव तथा लिम्बु समुदायको मौलिक चाड कक्फेक्वा तङ्नाम, येले तङबे ५०७७ कोे उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजनागर्न लागेको हो । यस कार्यक्रममा हिलिहाङ हाक्पारे पालाम सयङका सदस्य तथा सङगीतकार प्राज्ञ श्री अशोक लोहोरुङ राईद्वारा सङगीतबद्ध लिम्बु भाषाका गीतहरुको मात्र प्रस्तुती रहनेछ । लिम्बु गीतसंगीतका लागि एरेन्जको हिसावले उनी सबैभन्दा बढी योगदान दिने व्यक्ति हुन् ।
लिम्बु भाषामा ‘वेश्मा लाङ्योक’ नामाकरण दिइएको यस कार्यक्रम नेपाली भाषामा ‘फरक पाइला’ हो । नामअनुरुप यस कार्यक्रममा लिम्बु भाका, मौलिक बाजागाजा अनि लिम्बुभाषी दर्जनौ गायकगायिकाको प्रत्यक्ष उपस्थितीमा सामुहिक लाइभ कन्सर्ट हेर्न र सुन्न सकिनेछ । यो एउटा मिनी अर्केष्ट्रा हो, जुन लिम्बुमात्र नभएर सिङ्गो आदिवासी समुदायको लागि पनि पहिलो कार्यक्रम हो । कार्यक्रममा दिपक लिम्बु, मनु नेम्बाङ, देशु सुहाङ, कुशल थलङ, सञ्जय तुम्रोक, सुसन साम्सोहाङ, विष्णु चेम्जोङ, श्रेयसी चेम्जोङ, सीता सिङगक, सुनिता थेगिमलगायतको प्रस्तुती एकै समयमा एकै ठाउँमा हेर्न सुन्न पाइनेछ । कार्यक्रमलाई यासेली योङहाङ र विष्णुमाया सिङगकले सञ्चालन गर्दैछन् ।
यस एतिहासिक कार्यक्रममा विशुद्ध लिम्बु संगीतको फ्लेभर सुन्न पाइनेछ । यसका साथै कार्यक्रममा लिम्बु साँस्कृतिक नृत्यहरुको प्रस्तुती पनि रहनेछ । साँस्कृतिक नृत्यहरुको निर्देशन दिनेश माङमुले गरिरहेका छन् ।
कार्यक्रमको औचित्यको प्रश्नमा आयोजक संस्थाका अध्यक्ष प्रदिप योङहाङले भने,‘लिम्बू आदिवासीहरु मौलिक भाषा, संस्कार र संस्कृतीलगायतको विशिष्ट पहिचान भएका समुदाय हुन् तर विडम्बना, विशेषगरी लिम्बु गीतसंगीतको कुरा गर्नुपर्दा आयातित सङ्गीतको ठाडो आक्रमणबाट लिम्बु मौलिक संगीतको अस्तित्व धरासायी बन्न पुगेको पुगेको छ । यसप्रति सजग हुनुपर्ने तथा नयाँ पुस्तालाई लिम्बू गीतसङ्गीतप्रति झुकाव राख्न पहलकदमीको आवश्यकता महसुस भएको छ ।’ यसैलाई सम्बोधन गर्नका लागि नैे वेस्मा लाङयोक (फरक पाइला) नामक मौलिक लिम्बु सांगीतिक कार्यक्रमको सोच र र तयारी अगाडी सारिएको योङहाङले बताए ।






