नेपाली साहित्यमा अग्रहणी स्थानमा आउने नाम हो महेश प्रसाई । प्रसाईंका कविता जति सशक्त छन्, त्यत्तिकै उनले कलम चलाएका अन्य साहित्यिक कर्महरु पनि । नेपाल र भारतका थुप्रै सङ्घ–संस्थाबाट सम्मानित महेश प्रसाईंका अग्निको प्राग्भूमिमा, निसृत समुद्र र कालोतिर्खा, प्रत्याञ्चाको बादल, शब्दवस्त्रमा रुपको नदी, भूमिकापछि, केही चमक र शिखाहरु, सनैसनै रेगिस्तानहरु, नेपोलियन र सुकुमार सपनालगायत कविता÷काव्य प्रकाशित छन् भने शब्द सारथी, भारतीय नेपाली कवितावृत्तमा डा. पवन चामलिङको योगदान, केही प्राक्कथनहरु, फूलैफूलका आलापहरु, पवित्र क्रान्ति परिशीलनलगायत समीक्षा÷गल्प प्रकाशित छन् । साहित्य–सत्यम् शिवम् सुन्दरम्को विशिष्ट योग हो । जहाँ विवेक, चेतना, संवेदना छ, त्यहाँ साहित्य छ । विवेक, चेतना र संवेदनाको ओजमा सत्यम् शिवम् सुन्दरम् पल्लवित हुन्छ भन्ने मान्यता राख्ने महेशसँग मिलाप मासिकका लागि भारतको २२औं राज्य सिक्किममा रहेर नेपाली भाषा साहित्यको उन्नयनमा लागिरहनुभएका साहित्यकार प्रद्युम्न श्रेष्ठले गरेको कुराकानीः–
तपाईंंलाई सिक्किम कस्तो लाग्छ ? सिक्किम पटक–पटक आउनुहुन्छ, यसको कारण केही छ कि ? यहाँका चिन्तकहरु को–को हुन् भन्ने ठान्नुभएको छ ?
सिक्किम धर्तीको इन्द्रकील हो, जहाँ देउतै–देउताहरुले बास गरेका छन् । स्वर्गको परी भनिसकेको छु मैले सक्किमलाई । स्वर्ग भनेको सुन्दर आत्माहरुको सङ्गमस्थल हो । यहाँका पर्वतीय शृङ्खलाहरु, नद–नदीहरु, फाँट–बेंसीहरु, समग्रमा मनोरम प्राकृतिक छटाहरु सृष्टि रचनाका अनुपम दृष्टान्तमा पर्छन् । धर्तीको सौन्दर्य व्यञ्जनामा सिक्किमलाई विशिष्ट अलङ्कारका रुपमा लिन सकिन्छ । पर्यावरणीय स्वच्छताका दृष्टिमा पनि यो भूमि निर्मल छ, कञ्चन छ, पवित्र छ ।
यहाँका मानिस सुन्दर छन् । जीवन सुन्दर छ । सिक्किम वेदभूमि हो । पुण्यभूमि हो । कल्याण भूमि हो । ज्ञानभूमि हो । सिक्किमको विशिष्टता सर्वोच्च छ ।
सत्यम् शिवम् सुन्दरम्को योग हो सिक्किम ।
रस, अलङ्कार र माधुर्यको अनुभूति हो सिक्किम ।
सिक्किमसित नेपालको पनि नश्लीय सम्बन्ध छ । राजनीतिक भूगोलले पार्थक्य भए पनि भाषा, साहित्य, कला, संस्कृति, धर्म, वर्ण आदिले नेपाल र सक्किम एकै छौं, एउटै छौं ।
सिक्किमको धर्तीमा टेकेपछि मन रोमाञ्चक हुन्छ । आनन्दानुभूति सञ्चार हुन्छ । स्वस्थता र स्फूर्ति उत्पन्न हुन्छ । सिक्किमकोे जलवायु उत्साह–उमङ्गको अलौकिक ऊजाशीलता छ । सुखी सिक्किम, समृद्ध सिक्किम, सिद्धेश्वरीय सिक्किमको भावमा प्रवेश भएपछि सिक्किम आउनुको प्रयोजन स्वतः छर्लङ्ग हुन्छ ।
सिक्किमसित नाता गाँसिएपछि टाढिन नसकिने रहेछ ।
सिक्किमसित मेरो नाता छ । यो सम्बन्धको बन्धनमा आउने–जाने क्रम चलिरहन्छ । म सायद त्यसैमा पर्छु ।
यहाँका चिन्तकहरु को–को हुन् भन्ने प्रश्न गर्नुभएको छ यहाँले । एकजना विशिष्ट चिन्तकका रुपमा मैले सर्वप्रथम आदरणीय श्री पवन चामलिङलाई देखेको छु, जसले ‘पवित्र क्रान्ति’ जस्तो दर्शन प्रतिपादन गर्नुभएको छ । प्रकृति र प्राणीजातिको आरोग्य प्रवद्र्धन गर्ने यो दर्शन सम्पूर्ण जगत्को कल्याणमा केन्द्रित छ । पवित्र क्रान्तिका प्रतिपादक श्री पवन चामलिङ साहित्यको पनि विशिष्ट चिन्तक हुनुहुन्छ । क्रमैले यहाँ साहित्यका चिन्तकहरुमा अन्य व्यक्तित्वहरु पनि हुनुहुन्छ । श्री सीडी राई, श्री महानन्द पौडेल, पद्मश्री केदार गुरुङ, श्री सानुभाइ शर्मा, डा. शान्ति क्षेत्री, श्री सुवास दीपक, श्री कालुसिंह रणपहेली, श्री गिर्मी शेर्पा, श्री उपमान बस्नेत, डा. राजेन्द्र भण्डारी, डा. पुष्प शर्मा, श्री गहर उदासी, श्री विरु वाङ्देल, श्री प्रद्युम्न श्रेष्ठ, श्री भीम दाहाल, श्री बिमल काफ्ले, श्री जगदीश शर्मा, श्री टीबी चन्द्र सुब्बा, श्री अमर बानियाँ ‘लोहोरो’, श्री चुनीलाल घिमिरे, श्री पेम्पा तामाङ आदि यहाँका साहित्यक चिन्तकहरु हुन् ।
म यी चिन्तकहरुलाई नमन गर्छु ।
तपाईंं एउटा कवि, सम्पादक, प्राध्यापक र द्रष्टा पनि हुनुहुन्छ । नेपाल राष्ट्रको सन्दर्भमा वर्तमान परिस्थितिबारे तपाईंंको के दृष्टिकोण रहेको छ ?
नेपाल बुद्धमूमि हो । पाशुपत्य भूमि हो । नेपाली जातिको गौरवभूमि हो । नेपाल बहुभाषी, बहुजाति, बहुसंस्कृतिको सम्पदास्थल हो । क्रान्तिकारी राजनीतिक परिवर्तनले केही अस्थिरता देखिएको भए पनि यसको वर्तमान पनि सुन्दर छ । भविष्य पनि सुन्दर छ । म नेपालप्रति पूर्ण आशावादी छु ।
नेपालप्रति विश्वको ध्यान केन्द्रित छ । नेपाल र नेपालीलाई माया नगर्ने कोही छैनन् ।
सर्वोच्च शिखर सगरमाथाको देश ।
ज्ञानी ध्यानी सन्त महन्तहरुले जन्म लिएको देश ।
गौतम बुद्धको देश ।
महर्षि जनकको देश ।
सीताको देश । भृकुटीको देश । लिभिङ गडेसको देश ।
नेपाललाई छिमेकतिरबाट हेर्ने दृष्टिकोण अत्यन्त आत्मीय छ । तसर्थ, नेपालको शान्ति, स्थायित्व र विकासप्रति सबैले शुभेच्छा प्रकट गर्ने गरेका छन् ।
राजनीतिक अस्थिरता देखिएको हुँदा तपाईंले पनि चिन्ता प्रकट गर्न खोजेको हुनुपर्छ । यो केही समय रहे पनि यसको निवारण भएर नै छाड्नेछ ।
साहित्यलाई परिभाषित गर्नुपर्दा कसरी गर्न चाहनुहुन्छ ? तपाईंं साहित्यप्रति कसरी आकर्षित हुनुभएको हो ?
साहित्य–सत्यम् शिवम् सुन्दरम्को विशिष्ट योग हो । जहाँ विवेक, चेतना, संवेदना छ, त्यहाँ साहित्य छ । विवेक, चेतना र संवेदनाको ओजमा सत्यम् शिवम् सुन्दरम् पल्लवित हुन्छ । यस्तो विशिष्ट अलङ्कारको परिभाषा गरिरहनुपर्छ जस्तो लाग्दैन । मनुष्य सभ्यता, संस्कृति र जीवन दर्शनको प्रतिविम्बन गर्ने सशक्त माध्यम साहित्यलाई परिभाषाको घेरामा सीमाङ्कन गर्न त्यति सरल छैन ।
म साहित्यको परिभाषातिर केन्द्रित छैन । साहित्य साधना प्रमुख कुरा हो । यो जीवन साधनाका लागि हो । सुन्दर रचना सिर्जना गर्नका लागि हो । म निरन्तर यात्रामा छु । सिर्जना यात्रामा । यो जीवन सुन्दर कर्मका लागि हो । कल्याणकारी अनुष्ठान सम्पन्न गर्नका लागि हो । म निरन्तर अनुष्ठानमा छु, सत्यम् सुन्दरम्का संस्कृतिमा । पीडा र वेदनाबाट उद्भवित म, कविताकै वात्सल्यतामा थिएँ । आघात र संवेदनाबाट निसृत म, अनुभूतिकै गङ्गे्ययमा थिएँ । यसलाई आकर्षण मात्र भन्न मिल्छ र ?
म त साहित्यको अन्तमै समाहित भइसकें कि !
कवितामा तपाईंंको विशेष रुचि रहेको देखिन्छ ? कविता के हो तपाईंंका विचारमा ? एउटा मनपर्ने कविता भन्नुहुन्छ कि ?
म साहित्यिक–साँस्कृतिक परिवेशमा जन्मिएँ, हुर्किएँ । पीडा, वेदना र संवेदनाहरु साथी थिए त्यहाँ । अनुभूतिको नदीमा बग्दै जाँदा कवितासित साक्षात्कार गर्न पुगेछु म ।
त्यसपछि कविताको आराधना गर्न थालेछु ।
कवितामा जीवनको सार थियो । आनन्द प्राप्त गर्दै गएँ म ।
कविताकेलीमा जीवनको ऊर्जाशील तरङ्ग थियो । रतिदै गएँ म । मेरो मावली जिवा प्रख्यात भाषाशास्त्री महानन्द सापकोटा ।
मैले बाल्यजीवनदेखि नै उहाँको सान्निध्य पाएँ । उहाँको संस्कार पनि छ मभित्र ।
कविता जीवनको अपरिहार्य विषय बन्यो मेरा लागि । अब रुचिमात्र भन्न मिल्छ र ? रुचि त परिवर्तन भइरहन सक्छ । तर, ‘अपरिहार्य’ भनिएको यो ‘एट््याचमेन्ट’को दीर्घजीवन छ । अपरिवर्तित । शास्वत ।
अनुभूतिको नदीमा प्रवाहशील जीवनको साङ्गीतिक झन्कार हो– कविता । संवेदनाको गति नैरन्त्र्यमा आस्थाको सञ्चरणशील अलङ्कार हो कविता ।
आफ्ना कृति सन्तानजत्तिकै प्रिय हुन्छन् । आत्मीय हुन्छन् । यो, ऊ वा त्यो विशेष भन्ने हुँदैन । मेरा सन्तान अरुलाई कस्तो लाग्छन् कुन्नि ! मलाई त सबै मायालु लाग्छन् ।
प्राध्यापन सेवामा तपाईंंको आकर्षण कसरी सिर्जना भयो ? के तपाईंं यो सेवाबाट सन्तुष्ट हुनुहुन्छ त ? प्राध्यापनबारे आफ्ना केही अनुभव बताइदिनुहुन्छ कि ?
एउटा पेशामा आवद्ध हुनुपथ्र्यो । म प्राध्यापन पेशामा आवद्ध भएँ । लेखन र प्राध्यापनमा सामञ्जश्यता रहेको हुँदा म प्राध्यापन पेशातिर आकर्षित हुन पुगेको हुँ ।
लेखन सिर्जन धर्मिताको विषय हो । प्राध्यापन पनि सिर्जन धर्मितादेखि बाहिर छैन । नयाँ ‘जेनेरेशन्स’सित म सधँै अन्तरपक्रयारत हुने गर्छु । ती काँचो माटो हुन् । तिनलाई हामीले जस्तो बनायो त्यस्तै बन्छन् । यी सबै कुराहरु हाम्रो रचनाशिल्पमा निर्भर गर्छन् ।
म प्राध्यापन गरिरहेको हुन्न, अध्ययन गरिरहेको हुन्छु । मेरो अध्ययन, चिन्तन र अनुभव ‘रिभाइज’ भइरहेको हुन्छ त्यहाँ । म पुरानो ‘जेनेरेशन’को व्यक्ति । ती नयाँ ‘जेनेरेशन्श’ सित मैले आफूलाई ‘फ्युजन’ गरिरहेको हुन्छु । यो ‘फु्युजन’ नै नवीन रचना हो ।
यी नयाँ पुस्ताहरुमा म अनुवाद भइरहेको हुन्छु । युगलाई हाँक्ने यो नयाँ पुस्ता हो । ती हामीभन्दा एक कदम अगाडि छन् । यी नयाँ पुस्ता एकलव्य हुन् । हामी द्रोणाचार्य भइरहेका छौँ कि छैनौ, म भन्न सक्तिनँ ।
म नयाँ पुस्तालाई सम्मान गर्छु ।
म प्राध्यापन पेशाबाट पूर्णतया सन्तुष्ट छु ।
प्राध्यापन कार्य ‘कलात्मक टेक्निक’मा आधारित हुन्छ । म मनोविज्ञान कला व्यवहार र प्रेमानुभूतिलाई प्रयोग गर्छु ।
’पवन चामलिङमाथि एक सय एक प्रश्न“, ’प्रश्नको चक्रव्यूभित्र स्रष्टाहरु“ र ’नेपोलियन र सुकुमार सपना“ जस्ता कृतिहरु अध्ययन गर्ने अवसर पाएँ मैले । तपाईंंका अन्य कृतिहरु अध्ययन गर्न बाँकी नै छ । तपार्इंंले यी कृतिहरु सिर्जना गर्दा सिक्किमलाई मूलभूत पृष्ठभूमिमा राखेर गरेको देखिन्छ । यसको उद्देश्य के होला ?
सिक्किम आउने–जाने क्रमहरुले मेरो सिर्जनालाई ऊर्जा प्राप्त भएको कुरा मैले स्वीकार गर्नै पर्छ ।
पवन चामलिङ एक विशिष्ट दार्शनिक–चिन्तक । उहाँ नेपालीभाषी वरिष्ठ कवि पनि । ‘भिजन र मिशन’ भएको व्यक्तित्व । मैले उहाँलाई अध्ययन गर्ने अवसर पाएँ । मेरो त्यही अध्ययनको प्रतिफल हो ‘पवन चामलिङमाथि एक सय एक प्रश्न महेश प्रसाईंसित ।’ मैले त्यहाँ पवन चामलिङको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्ने काम गरेको छु । यसैगरी सिक्किमका स्रष्टाहरु प्रायः सबैसित भेटघाट सत्सङ्ग गर्ने अवसर पाएँ मैले । सिक्किमका अधिकांश स्रष्टाहरुलाई अन्तर्वार्ताका माध्यमबाट प्रस्तुत गर्न खोजेको छु, ‘प्रश्नको चक्रव्यूहभित्र स्रष्टाहरु’ नामक कृतिमा । तथापि यहाँका केही अन्य विशिष्ट स्रष्टाहरु छुट्न पुग्नुभएको छ । उहाँहरुलाई दोस्रो संस्करणमा समेट्ने प्रयत्न गर्नेछु ।
यी कार्यहरु सिक्किम र नेपाललाई साहित्यिक साँस्कृतिक सेतुका रुपमा कायम गर्न सकिन्छ कि भन्ने मेरो सोच हो । नेपाल र सिक्किमको नश्लीय सम्बन्ध भएकै कारण मैले सिक्किमलाई महत्व दिएको हुँ । ‘नेपोलियन र सुकुमार सपना’ मेरो कविता कृति हो । यसमा भएका केही कवितामा सिक्किमका विम्बहरु छन् ।
महेश प्रसाईंंसित तपाईंं कसरी व्यवस्थापन गर्नुहुन्छ ? महेश भनेको महादेव हो, के महादेवले मनपराउने खाद्यपदार्थ र पिउने चिजमा रुचि भएर हो कि ?
मैले महेश प्रसाईंलाई व्यवस्थापन गर्न सकेको छैन । व्यवस्थापन भूतद्रव्यीय सङ्कटसित आवद्ध विषय हो । यो सङ्कटलाई मैले खासै महत्व दिएको छैन ।
महेश प्रसाईंले रचनाधर्मिता निर्वाह गरे पुग्छ । सुन्दर काव्यकृतिहरु सिर्जना गर्न सके यथेष्ट हुनेछ । महेश प्रसाईं काव्य साधनामा चुर्लुम्म डुबेको व्यक्ति । कविता विम्बको तरलीकृततामा प्रवाहशील महेशलाई कसरी व्यवस्थापन गर्न सम्भव छ र ! नैरन्तर्य बग्ने गति कुनै बन्धनमा बाँधिन चाहँदैन । महेश प्रसाईं बग्ने गतिको नाम हो । उसले बग्नै पर्छ, बगिरहनुपर्छ । उसको गन्तव्य अनन्त छ ।
व्यवस्थापकीय संयन्त्रले मनुष्य समाज, राज्य संरचनालाई एउटा निर्धारण–प्रणालीमा परिचालन गरिरहेको हुन्छ । यो आवश्यक पनि छ । तर, कवि र कविता व्यवस्थापनका विष होइनन् । संवेदना र अनुभूतिले परिचालित कवि र कविता अराजक पनि हुन सक्छन् । महेश प्रसाईं तिनै संवेदना र अनुभूतिले निसृत चेतक ।
यो निश्चित हो महेश महादेव र महादेव महेश । नामको गुरुत्वाकर्षणले केही त प्रभाव पार्छ नै । त्यसैले महेशमा महादेवको लक्षणाहरुले ‘भाइब्रेट’ गरेमा कुनै अस्वभाविक हुने छैन । तपाईंले मलाई पिउने कुरातिर सङ्केत गर्नुभएको छ । यो सत्य हो म महादेव ‘प्रसाद’ ग्रहण गर्छु ।
नेपाल र भारतका सर्जकहरुका विचारहरु र कृतिहरुमा तुलनात्मक अध्ययन गर्नुपर्दा कसरी गर्न चाहनुहुन्छ ? के– कस्ता फरकपनहरु पाउनुभएको छ ?
भाषाका सर्जकहरु सबै महान् छन्, नेपालमा होस् वा भारतमा । नेपालका सर्जकहरु पनि मुनष्य संवेदनालाई नै प्रवाह गर्छन् । भारतका सर्जकहरु पनि मनुष्य संवेदनाकै संवाहक हुन् । दुवैतिरका सर्जकहरु ‘सत्यम् शिवम् सुन्दरम्’बाट बाहिर छैनन् । केवल शैली र प्रस्तुतिमा फरकपन हुन सक्छ ।
आञ्चलिकता, सामाजिकता, राजनीतिकता र साँस्कृतिकता आदिले केही फरकपन आउनु स्वाभाविक हो । जाति, भाषा, संस्कृति–सभ्यताको पहिचान दिने कार्य साहित्यबाट मात्र सम्भव छ । यस कार्यमा नेपालका सर्जकहरुले यथेष्ट भूमिका निर्वाह गरेका छन् । भारतीय नेपाली सर्जकहरुले पनि आफ्नो क्षमताअनुसारको भूमिका निर्वाह गरिरहेका छन् ।
भौगोलिक, राजनीतिक, सामाजिक, साँस्कृतिक जीवन पद्धतिहरुले आ–आफ्ना मौलिक स्वरहरु दिइरहेका हुन्छन् । नेपालभित्र एउटा पीडा छ, नेपालबाहिर अर्को पीडा । पीडा त पीडा नै हो । सोहीबमोजिम अभिव्यक्ति सम्प्रेषण हुने गर्छ । तात्विक अन्तरचाहिँ प्रविधि र प्रस्तुतिमा मात्र हुन्छ ।
भारतीय नेपाली भाषा र साहित्यको विकासमा सिक्किमको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
भारतीय नेपाली भाषा र साहित्यको विकासमा सिक्किमको भूमिका नेतृत्वदायी पङ्क्तिमा छ । भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता प्रदान गराउन सिक्किमले निर्वाह गरेको भूमिका उदाहरणीय छ । भाषा मान्यताका दिशामा कसैले गर्न नसकेको काम सिक्किमले गरेको छ ।
यो कार्यबाट नेपाली जाति सम्मानित भएको छ । सिक्किममात्र सम्मानित भएको छैन, सँगसँगै भारतीय नेपाली सम्मानित भएका छन् । नेपालभित्रका नेपाली सम्मानित भएका छन् । यसमा हामी सबैले गौरव गर्नैपर्छ ।
‘अपतन साहित्य परिषद’को योगदानलाई स्मरण गर्ने हो भने ‘अपतन’का संस्थापकहरुले सिक्किममा नेपाली भाषा र साहित्यको विकासमा जुन जनजागरणको कार्य भएको छ, त्यसलाई पछि आउने पुस्ताहरुले पनि काँधमा काँध मिलाउने कार्य गरेका छन् ।
सिक्किमका उच्चकोटीका स्रष्टाहरु छन् । यिनले सिक्किमको माटोलाई सार्थक तुल्याउने कृतिहरु यथेष्ट प्रदान गरिसकेका छन् । नयाँ पुस्ता पनि उत्तिकै क्रियाशील भएर आइरहेका छन् ।
भारतीय नेपाली भाषाको विकासमा दार्जिलिङ, असम, डुअर्स, देहरादुन, वराणसी आदि ठाउँहरुको भूमिकालाई पनि स्मरण गर्नुपर्ने हुन्छ । तथापि सिक्किम अग्रणी स्थानमा छ ।
सम्मानीय मुख्यमन्त्री श्री पवन चामलिङज्यूको ’पवित्र क्रान्ति“ विचारधाराप्रति तपाईंं विशेष प्रभावित भएको देखिनुहुन्छ । के तपाईं उहाँलाई व्यक्तिगत रुपमा र सामाजिक एवम् राजनीतिक रुपमा राम्ररी चिन्नुहुन्छ ? यसबारे तपाईंंको सकारात्मक चिन्तनलाई पुष्टि गरिदिनुहुन्छ कि ?
पवन चामलिङ एक प्रखर विचारक, कुशल दार्शनिक, वरिष्ठ कवि, नेपाली भाषीका एक धरोहर । पवन चामलिङको दर्शन, सिद्धान्त र विचारहरुलाई लिएर हामी सम्पूर्ण नेपालीले गर्व गर्नैपर्छ । उहाँले सम्पूर्ण प्राणी जाति, बोट–वनस्पति, कीट–उद्भीज, पशु–पन्छी र प्रकृतिको रक्षा गर्न पवित्र क्रान्ति–दर्शन प्रतिपादन गर्नुभएको छ । विश्वात्माको खोजी, पहिचान र स्थापनामा उहाँले जुन दर्शन र विचार प्रदान गर्नुभएको छ, त्यो स्वयम्मा स्तुत्य छ ।
म उहाँको ‘वसुधैव कुटुम्वकम्’ जस्तो विश्व विचारबाट नतमस्तक भएको छु । मैले पवन चामलिङको यो विश्व विचारबाट प्रभावित भएर उहाँको दर्शनमाथि पुस्तक नै लेखेको छु– ‘पवित्र क्रान्ति परिशीलन ।’ यसैगरी उहाँको प्रतिनिधि नेपाली कविता सम्पादन पनि गरेको छु, जुन नेपालको साझा प्रकाशनले प्रकाशित गरिसकेको छ ।
पवन चामलिङको कृति र कार्यलाई नेपालमा चिनाउने सन्दर्भमा मैले सकेजति काम गरेको कुरा यहाँलाई जानकारी गराउन उचित ठानेको छु ।
पवन चामलिङप्रति विश्वका सम्पूर्ण नेपालीले गर्व गर्नै पर्छ ।
तपार्इंंको ध्यान नेपालभन्दा भारतका नेपाली साहित्यकारहरुप्रति बढी केन्द्रित भएको देखिन्छ । त्यसमा पनि तपाईंं सिक्किम बढी आइरहनुहुन्छ । यसको कारण के होला ? यहाँ नै किन तपार्इंंले आफूलाई केन्द्रित तुल्याउनुभएको हो ?
मैले माथि नै भनिसकेँ नेपालको सिक्किमसित नश्लीय सम्बन्ध छ, रगतको नाता छ । पहाड उस्तै, नदी उस्तै, बोट वनस्पति उस्तै, मानिस उस्तै, जातिभाषा संस्कृति उस्तै । केही–केही फरक छैन नेपाल र सिक्किमका बीचमा ।
केवल राजनीतिक भूगोल फरक छ ।
सिक्किमलाई नेपालले माया गर्छ । सिक्किमले नेपाललाई माया गर्छ ।
मेरो यहाँ आउने–जाने क्रम खास महत्वको विषय होइन । मैले भनिसकेको छु, सिक्किमसित नश्लीय सम्बन्ध छ हाम्रो । र, यो सम्बन्धलाई आत्मीय एवम् रचनात्मक बनाउन मेरो भूमिका छ कि छैन ? यस किसिमको भूमिका निर्वाह गर्ने क्रममा मजस्ता स्रष्टा अरु पनि छन् । तथापि मेरो सानो भूमिकालाई बिर्सन मिल्दैन कि ? जे भए पनि सिक्किममा मेरो उपस्थितिले राम्रो कार्य गरेको छ भने तपाईं पनि स्वागत गर्नुहोस् । यदि छैन भने सोहीअनुरुप तपाईंको विवेक प्रयोग गर्नुहोस् ।
सिक्किमका स्रष्टालाई नेपालसित निकट बनाउँदा कुनै अनर्थ हुन्छ भने मेरो भन्नु केही छैन ।
तपाईंंको स्वविवेकले के भन्छ, के नेपाली साहित्यका कृतिहरु फस्टाउन सक्लान् त ? लेखक, पाठक र प्रकाशकहरुका बीचमा कसरी तालमेल मिलाउने हो ? साहित्यक कृतिहरुले पुस्तक पसलहरुमा आत्महत्या गरेको जस्तो लाग्दैन त ? किन सिक्किममा पाठकहरुको कमी भएको हो ?
भानुभक्त, देवकोटा, भूपि शेरचन, पारिजात, पारसमणि प्रधान, इन्द्रबहादुर राई, पवन चामलिङ, महानन्द पौडेल, पदमश्री सानु लामा, लीलाबहादुर क्षेत्रीजस्ता धरोहर नेपाली साहित्यमा छन् । यिनले लेखेका कृतिहरु नेपाली साहित्यका ‘माइलस्टोन’का रुपमा देखिएका छन् ।
नेपाली साहित्यका कृतिहरु निश्चित रुपमा फस्टाइएका छन्, फस्टाउँछन् । राम्ररी अनुवाद र सञ्चार गर्ने हो भने हाम्रो नेपाली साहित्य विश्व साहित्यमा अग्रपङ्क्तिमा रहन सक्छ । यसतर्फ हामीले ध्यान दिन सकेका छैनौँ ।
राम्रो कृति लेख्न सकेमा पाठकसित स्वतः तालमेल मिल्न सक्छ । पाठकलाई बिमार पार्ने कृतिहरु लेखेर कसरी त्यो लेखकको पाठकसित तालमेल मिल्न सक्छ र !
सबैलाई लेखक हुने होड छ । कतिपयको साधना पुगेको देखिँदैन । लेखन भनेको साधारण कर्म होइन । यो जोखिमपूर्ण कार्य हो । यो जोखिमबाट खरो उक्रिने मात्र पाठकसितको तालमेलमा जोडिन सक्छ । पाठक न्यायाधीश हो । पाठकसित खेलवाड गर्नु उचित होइन ।
यो पनि सत्य हो कि साहित्यिक कृतिका पाठक साह्रै न्यून छन् ।
कविका रुपमा नेपाली साहित्यलाई कस्तो कृति प्रकाशन गरेर प्रदान गर्न मनलागेको छ ? तपाईंले प्रकाशकहरु कसरी प्राप्त गर्नुभएको छ ?
एउटा कवि विशिष्ट काव्यकृतिको साधनामा हुन्छ । उसको समर्पण नवीन दर्शनको चिन्तनमा आधारित हुन्छ । सम्पूर्ण मनुष्य जगत्लाई लाभदायक हुने सिर्जना नै उसको अभीष्ट हो ।
एउटा कवि लोकमङ्गलको कामनामा हुन्छ सधैँ ।
म स्वयम् कविता लेख्ने व्यक्ति । अक्षर र शब्दको पहाड मात्र बनाउनु छैन मलाई । म शब्द पीडामा छु, शब्दक्रीडा गर्न रुचाउँछु ।
शब्दब्रह्म मजाक गर्ने विषय होइन ।
मैले अहिलेसम्म जे लेखेँ जति लेखेँ, ती सबै मङ्गलाचरण हुन् । अझै लेख्न बाँकी छ ।
लेख्ने प्रयत्नमा छु म ।
यो प्रत्यनले विशिष्ट कृति रचना गर्न सक्ने क्षमता प्रदान गरोस् । त्यो विशिष्ट भनेको समाजलाई अत्यन्त उपयोगी हुने रचनाको परिकल्पना हो ।
साधनामा छु म ।
तीव्र तिर्सनामा छु म ।
म त्यो गन्तव्यको नजिक पुग्न सकेको छैन ।
नेपाली साहित्यलाई समृद्ध तुल्याउन सक्ने कृति रचना गर्ने इच्छा छ । सरस्वती माताले त्यो इच्छा पु¥याइदिए हुन्थ्यो । हेराँै के हुन्छ ।
प्रकाशकहरु आकस्मिक रुपमा भेटिन्छन् । ईच्छा गरेपछि सबै कुराहरु मिल्दै आउने रहेछ ।
साहित्य र राजनीतिमा के फरक छ ? साहित्यिक व्यक्तिले राजनीतिक परम्परालाई कसरी अगाडि बढाउन सक्छ ? बीपी कोइराला र पवन चामलिङबारे केही भनिदिनुहुन्छ कि ?
साहित्य सुन्दर सौष्ठवयुक्त फूलको बगैँचा हो भने राजनीतिचाहिँ एक प्रवद्र्धनात्मक क्षमता भएको कुलीन माली । साहित्य शास्वत विषय हो । यो सर्वत्र पुजिन्छ ।
साहित्यरहित मनुष्य समाजको कल्पना गर्न सकिन्न । मनुष्यको श्रेष्ठता साहित्यबाट नै प्रतिविम्बन हुने गर्छ ।
मनुष्य एक विवेकशील प्राणी हो । ऊ साहित्यिक लिवासमा सुसज्जित भएपछि झनै सुन्दर र आकर्षक देखिन्छ ।
यस्तो सुन्दर र श्रेष्ठ व्यक्तित्वले निर्वाह गर्ने राजनीतिक परम्परा व्यवस्थित र कलात्मक हुन्छ ।
अङ्ग्रेजीमा एउटा कहावत छ, ब् उयभत ष्क ब mबल, बदयखभ mबल।
सामान्य मानिसबाट धेरैमाथि उठेको व्यक्ति कवि हुन्छ । त्यो कवि स्रष्टा हो, साहित्यकार हो । उसले धारण गरेको राजनीतिक परम्परा मानवीय हुन्छ, समाजसापेक्ष हुन्छ । युगीन चिन्तनसित आवद्ध हुन्छ । युगीन जीवनको संवाहक यो साहित्यिक व्यक्तिसित राजनीतिक ऊर्जा पनि साथै रहँदा उसले समाजमा साँस्कृतिक कुलीनतन्त्रलाई स्थापना गर्न पाउँदा उसको सोच, चिन्तन र कार्य योजनाले अपेक्षाकृत सफलता हासिल गराउँछ । किनभने ऊ प्रेगमेट्जिमको धरातलबाट अगाडि बढने गर्छ ।
बीपी कोइराला राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्वलाई एकैसाथ लिएर अगाडि बढ्नुभएको व्यक्तित्व । उहाँ सरल, मितव्ययी, अनुशासनप्रिय, मिलनसार व्यक्ति हुनुहुन्थ्यो । मिष्ठभाषी बीपी कोइरालाको जीवनपद्धति गान्धीवादी प्रकृतिको थियो । बीपीको राजनीतिक जीवन अत्यन्त सङ्घर्षपूर्ण रह्यो । उहाँले प्रतिपादन गरेको समाजवादी चिन्तन माक्र्सवादी विचारधाराबाट प्रभावित रहेको देखिन्छ । बीपी दूरद्रष्टा व्यक्ति पनि ।
उहाँ साहित्यमा आफूलाई अराजकतावादी भन्ने गर्नुहुन्थ्यो । उहाँका साहित्यिक कृतिहरु अत्यन्त उच्चकोटीका छन् । विशिष्ट छन् । अराजकतावादी झलकहरु पनि पाइन्छन्, उहाँका ती कृतिहरुमा ।
पवन चामलिङको व्यक्तित्व र कृतित्व झण्डै बीपी कोइरालासित मिल्दोजुल्दो पाउँछु । पवन चामलिङको राजनीतिक जीवन पनि सङ्घर्षपूर्ण नै रहेको थियो प्रारम्भमा । श्री चामलिङ पनि शिष्ट, सरल, मिलनसार, दयालु, सहयोगी प्रकृतिको व्यक्तित्वमा पर्नुहुन्छ । पवन चामलिङ एक दार्शनिक, चिन्तक, वरिष्ठ कवि ।
उहाँका कविताकृतिहरु विद्रोही छन् । युगीन कालखण्डका प्रतिनिधिकारक छन् । पवन चामलिङको जीवन र व्यवहार बीपी कोइरालासित धेरै हदसम्म मिल्दोजुल्दो रहेको पाइन्छ ।
पवन चामलिङमा ‘भिजन’ र ‘मिशन’ दुवैको योग छ ।
लेखकहरु प्रायः सधँै अभावमा बाँचेको देख्छु म । के लेखकहरुले पनि आफ्नो रचना सिर्जना गर्दा कुनै आकर्षक पेशामा लागेर तिनका सिर्जना शक्तिलाई टेवा दिनुपर्ने होइन र ?
केही लेखकहरुलाई छोडेर भन्ने हो भने अधिकांश लेखक अभावमा छैनन् । केवल तिनले नाटक गरेका हुन् । लेखक व्यापारी–उद्योगति होइनन् । लेखक भनेको लेखक हो । मैले अधिकांश लेखकहरुलाई राम्रैसँग जीवन निर्वाह गरेको देखेको छु ।
लेखकले पनि सम्पन्न जीवन बाँच्न पाउनु हुँदैन भन्ने होइन । संभ्रान्त–सुखी सम्पन्न जीवन बाँच्ने लेखकहरुले पनि उच्चकोटीका कृति लेखेका छन् । लेखकले भौतिक तृष्णा राख्नु उचित होइन । आवश्यकता र सुविधाको चाहना राख्नु अनुचित होइन । लेखकलाई राज्यले राष्ट्रले सुविधा र सम्मान प्रदान गर्न आवश्यक छ ।
लेखक स्वाधीन हुन्छ, स्वाभिमानी हुन्छ । उसको आत्मसम्मानलाई बचाउन सरकार पनि संवेदनशील हुन आवश्यक छ । किनभने यो लेखक भनेको राष्ट्रको गहना हो, गौरव हो ।
लेखक आकर्षक पेशामा रहन पाउँछ । उसलाई यो सुविधा सरकारले नै प्रदान गरेर उसको सिर्जना शक्तिलाई टेवा दिने हो भने उसबाट महत्वपूर्ण कृतिहरु निस्कन सक्छन् ।
तथापि अभाव र जटिलताबाट पनि श्रेष्ठ कृतिहरु निस्केका छन् । एउटा वास्तविक लेखक भौतिक सुख, सुविधा र आर्थिक समृद्धिको खोजिमा रहँदैन । उसले आधारभूत आवश्यकतालाई व्यवस्थापन गर्ने कुरा बेग्लै हो । ऊ संसारलाई नयाँ चिज दिन चाहन्छ ।
तपाईंको जन्म, शिक्षा, सम्मान पुरस्कार र कृतिहरुबारे छोटकरीमा परिचय दिनुहुन्छ कि ?
मेरो जन्म भारतको मणिपुरस्थित काला पहाडमा भएको हो, वि.सं. २०१३ असोज २१ गते आइतबारका दिन । मैले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एल.एल.बी उत्तीर्ण गरेको हुँ । मेरो शिक्षा–दीक्षा नेपालमै भएको हो ।
मेरो जीवनको उद्गमस्थल धरान र विराटनगर हुन् ।
अहिले काठमाडौँलाई साधनास्थल बनाएको छु मैले ।
मेरा कृतिमा भूमिकापछि (मुक्तकसङ्ग्रह), अग्निको प्राग्भूमिमा (कवितासङ्ग्रह), निसृत समुद्र र कालो तिर्खा (कवितासङ्ग्रह), प्रत्यञ्चाको बादल (कवितासङ्ग्रह), शब्द वस्त्रमा रुपको नदी (काव्य), केही चकमक र शिखाहरु (मुक्तकसङ्ग्रह), शैन–शैन रेगिस्तानहरु (कवितासङ्ग्रह), नेपोलियन र सुकुमार सपना (कवितासङ्ग्रह), शब्द सारथि (विम्ब र विम्बहरु), भारतीय नेपाली कवितावृत्तमा डा. पवन चामलिङको योगदान (समीक्षासङ्ग्रह), फूलैफूलका आलापहरु (गल्पसङ्ग्रह), केही प्राक्कथनहरु (भूमिकै भूमिका) र पवित्र क्रान्ति परिशीनल (विश्लेषण) रहेका छन् । केही पाण्डुलिपिहरु प्रकाशनको पालो कुरेर बसेका छन् ।
पुरस्कार÷सम्मानमा प्रतिभा पुरस्कार, युवावर्ष मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, व्यथित काव्य पुरस्कार, धरणी सम्मान, एम्बेसेडर फर पिस, कामेश्वर पोद्दार स्मृति सम्मान (भारत)लगायतका रहेका छन् ।
मान्छेको बुद्धि–विवेक कति वर्षमा पलाउँछ ? के विवेकशील प्राणी भएर पनि मान्छे–मान्छेबीच फरक धारणा भइरहेकै हुन्छ ? किन हामीले सकारात्मक विचारलाई टेवा दिन सकिरहेका छैनौँ ?
चेतनशील मान्छेमा बुद्धि–विवेक पलाइरहन्छ, रोकिँदैन । उमेरको हदबन्दीले काम गर्छ भन्ने कुरामा म विश्वस्त छैन । संस्कारित मान्छे अविवेकी हुँदैन । एकेडेमिक शिक्षाले मात्र मान्छे पूर्ण ज्ञानी हुन्छ भन्ने छैन ।
कुनै पनि व्यक्तिले आफ्नो असलपन र श्रेष्ठता, संस्कार र प्रारब्धबाट ल्याएको हुन्छ । यो सकारात्मक विचार पनि उसको संस्कारित जीवनले नै निर्धारण गरेको हुन्छ । असन्तुष्टी, कुण्ठा, अभाव र असफलताजस्ता गुणहरुले नै मानिसलाई नकारात्मक बनाउँछ ।
जीवन बुझ्नै मानिस सकारात्मक हुन्छ । जीवनको रहस्य बुझेको व्यक्तिले समयलाई उपयोग गर्न जानेको हुन्छ । किनभने यो जीवन क्षणिक छ । यो क्षणिक आयूमा उसले धेरै असल र श्रेष्ठ कार्यहरु सम्पन्न गर्नुपर्ने हुन्छ । मानिसले गरेका सार्थक कार्यहरु नै अनन्तकालसम्म रहन पाउँछन् ।
मान्छे नै ईश्वर हो । मान्छे नै दानव हो ।
देवमय कार्य गर्ने ईश्वर हुन्छ । अमानवीय कार्य गर्ने दानव हुन्छ । यी सबै कुराहरु उसका विवेक र चेतनामा निर्भर गर्छन् । ज्ञान र चेतनाले पनि मानिसलाई कहिलकाहीँ दम्भी र अहङ्कारी बनाउँछ । उसले समयमै त्यसलाई नियन्त्रण गर्न सक्यो भने कुनै अनिष्ट उत्पन्न हुन सक्तैन । सात्विक जीवन पद्धति र स्वच्छ सोच राख्न सक्यौँ भने मानिस–मानिसमा भेद देखा पर्न सक्तैन ।
एउटा लेखक उत्कृष्ट कृति रचना गर्छ तर व्यवहारमा चाहिँ ऊ निकृष्ट पनि देखिन्छ । यस्तो विरोधाभास किन ?
यो तपाईंले उठाउँदै आउनुभएको प्रश्नले मलाई पनि घत लागेको छ । सबै देवकोटा, बीपी कोइराला, पवन चामलिङ, भूपि शेरचन, पारिजात हुँदा रहेनछन् । मैले नाम लिएका लेखकहरुलाई व्यवहारमा पनि पढेको छु, तिनका कृति पनि पढेको छु ।
यी व्यक्तित्वहरु लेखन र व्यवहारमा एउटै छन् । उत्कृष्ट छन् ।
अधिकांश लेखकमा यस किसिमको समान गुण पाइँदैन । तर, तिनका कृतिहरुलाई मात्र स्वागत गर्ने हो । तिनका व्यवहारबाट टाढै रहनुपर्छ । आजकल म त्यस्ता लखेकहरुबाट टाढै रहन थालेको छु । कृतिचाहिँ पढ्न छाड्दिन ।
लेखक पनि साधारण मनुष्य भएका कारण उसमा पनि लोभ, तृष्णा, स्वार्थ, अहङ्कारजस्ता रागहरु उत्पन्न भएको होला । तर, साधारण मनुष्यपनबाट माथि उठ्ने कोसिस गरेमा यस किसिमको अन्तरविरोध उत्पन्न हुन सक्तैन ।
यथार्थमा लेखक स्रष्टा सामान्य मनुष्यबाट माथि उठेको व्यक्ति हो । उसलाई समाजले सम्मानपूर्वक हेर्छ । तर, उसले आफूले आफूलाई ‘मेन्टेन’ गर्नै पर्छ ।






