कसरी सम्भव भयो नो लोडसेडिङ ?
जनता लोडसेडिङको अन्त्य चाहन्थे । मन्त्रालय गएको पहिलो दिनदेखि नै मेरो टार्गेट यही थियो । यो काम मैले आफ्नै लागि एउटा चुनौती खडा गरेको हूँ । ब्रिफिङको क्रममा कर्मचारीहरुसँग मैले भनेँ– जनचाहनाअनुसार काम गर्न आवश्यक छ । त्यसैले अब म गियर चेन्ज गर्दैछु, रफ्तारमा दौडन्छु, तपाईंहरु मलाई साथ दिनुस् । इन्जिनियर कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गरेर मैले पहिलो टार्गेट दिएँ, यसपालिको दसैँ उज्यालो बनाउनुस् । तेस्रो दिन प्राधिकरणमा गएँ, वार्षिकोत्सव थियो । त्यहाँ वर्षभरिको रिपोर्ट राम्रो र व्यवस्थित ढङ्गले देखाएँ पनि । मैले त्यहाँका समस्याका बारेमा बोलेको थिएँ । अर्को साता ३७ बुँदे कार्यक्रम बनाएँ । त्यो कार्यक्रमको पहिलो नम्बरको बुँदामा अहिलेको सेवा प्रवाहको कुरा उल्लेख गरेको छु । अहिलेको अव्यवस्थित सेवा प्रवाहलाई समेट्दै लोडसेडिङको मारबाट जनतालाई कसरी मुक्त गर्नेे भन्ने कुरा एक नम्बर बुँदामा राखेर ३७ बुँदे कार्यक्रम आएको छ । त्यो कार्यक्रमलाई कार्यान्वयनतर्फ अगाडि बढाउँदै गर्दा चुहावटको समस्या देखाप¥यो । त्यसका लागि चुहावट नियन्त्रण कमिटी बनाएँ । एकातिर पैसा नतिर्नेहरुको लाइन काट्ने अभियान चल्यो, अर्कोतिर चुहावट नियन्त्रणको प्रयास थालियो । प्राधिकरणमा पुरानो नेतृत्व थियो । नेतृत्वको पहलकदमी देखिएन, बरु सङ्कट देखेँ । अनि मैले भनेँ, तपाईं राजीनामा दिनुस्, मलाई केही काम गर्नुछ, नयाँ ढङ्गले काम गर्न दिनुस् । इन्जिनियर कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गरेर मैले पहिलो टार्गेट दिएँ, ‘यसपालिको दसैं उज्यालो बनाउनुस् ।’ प्राधिकरणका कर्मचारीलाई आह्वान गरेँ, ‘तपाईंहरुले साथ दिनुस्, हामी राम्रो गर्न सक्छौं ।’ लामो समयदेखि थन्केको कर्मचारीहरुको केही सेवा सुविधासम्बन्धी माग रहेछ । त्यसलाई तत्काल अगाडि बढाइदिएको छु । कर्मचारीलाई सेयर लगानीको अवसर दिनेलगायतका कुरा गरेपछि कर्मचारी साथीहरुमा एउटा उत्प्रेरणा जागेको थियो । म काठमाडौँमै मनिटर गरिरहेको थिएँ, दसैँ उज्यालो भयो । जहाँबाट बिजुली ल्याएर भए पनि तिहार र छठ पनि उज्यालो बनाउनुपर्छ भनेर दोस्रो टार्गेट दिएको थिएँ, त्यो पनि पूरा भयो । मुख्यतः चुहावट नियन्त्रण, संरचनालाई व्यवस्थित बनाउने र विद्युत वितरणमा भएका समस्या समाधान गर्नेतितर हामी अगाडि बढ्यौँ । विद्युत वितरणमा समस्या थियो, कसलाई के मनलाग्यो त्यही तोक लगाएर विद्युत् दिने अनि लोडसेडिङको तालिका टाँसेर बस्ने परिपाटी रहेछ । प्राधिकरणका कर्मचारीलाई आह्वान गरेँ, ‘तपाईंहरुले साथ दिनुस्, हामी राम्रो गर्न सक्छौं ।’ लामो समयदेखि थन्केको कर्मचारीहरुको केही सेवा सुविधासम्बन्धी माग रहेछ । त्यसलाई तत्काल अगाडि बढाइदिएको छु । कर्मचारीलाई सेयर लगानीको अवसर दिनेलगायतका कुरा गरेपछि कर्मचारी साथीहरुमा एउटा उत्प्रेरणा जागेको थियो । अर्कातिर मन्त्रालयमा गुनासो व्यवस्थापन इकाई गठन गरियो । जहाँ देशभरिको सूचना आउन थाल्यो । त्यहाँ कर्मचारीले समस्या सिर्जना गरेको सूचना पनि आउने हुनाले एउटा खालको त्रास उत्पन्न भयो । ३७ बुँदे योजनामा काम गर्नका लागि हामीले प्राधिरणलाई भन्यौँ । कुलमान घिसिङ आफैँ यो क्षेत्रको विज्ञ भएकाले लोड व्यवस्थापन कसरी गर्ने भन्नेबारे उहाँ लाग्नुभो, यसरी लोडसेडिङ अन्त्य गर्न हामी सफल भयौँ ।
त्यसो भए लोडसेडिङ सधैँका लागि हट्ला त अब ?
यो विद्युत् नक्कली पनि होइन, अहिले कहीँबाट थप विद्युत् ल्याइएको पनि छैन । मात्र लोड व्यवस्थापन गरिएको हो । हिजोको वितरणमा समस्या छ । के छ अहिले सबै म भन्दिनँ । रिपोर्टहरु आएपछि भन्छु । आवश्यकभन्दा बढी बिजुली कसैलाई दिइएको छ । सोर्सफोर्समा दिइएको छ । व्यवस्थापनहरुले सही गरेर दिएका छन् । डकुमेन्टहरु छन्, भोलि सार्वजनिक गरौँला । जनतालाई लोडसेडिङको तालिका दिने र अरुलाई विद्युत् दिने गर्दाखेरीको परिणाम नेपाली जनता लोडसेडिङको मारमा पर्दै आएका थिए । त्यसमा ध्यान केन्द्रित गर्दा अहिले लोडसेडिङ हटाउन सम्भव भएको छ ।
नदीमा पानीको सतह घट्दैछ, हिउँद यामका विकल्पहरु के छन् ?
पानी घट्ने कुरालाई हामी रोक्न सक्दैनौँ । पानीसँगै इनर्जी घट्छ, त्यस्तो बेला के गर्ने भनेर दसैँअगाडि नै सूचना निकाल्न लगाएको छु । मन्त्रालयमा दैनिक विद्युत्को वैकल्पिक स्रोत लिएर आउनेहरुको ताँती थियो, ‘मैले भने प्राधिकरणमा जानुस् ।’ म विश्वस्त छु, काठमाडौँलाई लाडसेडिङ मुक्त गराउन सकिन्छ । देशभरकै बारेमा पनि अलिकति मिहिनेत गर्नुपर्छ असम्भव छैन । त्यसमा समय त अलिकति लाग्छ नै । प्राधिकरणले सूचना निकालेसँगै अहिले १६ वटाभन्दा बढी कम्पनीहरुले वैकल्पिक स्रोतबाट विद्युत् सप्लाई गर्नका लागि निवेदन दिएका छन् । त्यसैले हामीले हिउँदयामका लागि पनि विकल्प खोजिसकेका छौँ । अब विकल्पसहित लोडसेडिङलाई अन्त्य गर्ने हाम्रो योजना छ । काठमाडौँमा लोडसेडिङ अन्त्य गरेपछि देशभरि आशा पैदा भएको छ । काठमाडौँको लोडसेडिङमुक्त गर्ने कुरा अभ्यासकै रुपमा छ । अन्तिम घोषणा गरिसकेका छैनौँ । कुलेखानीको पानी सकेर काठमाडौँलाई उज्यालो बनाएको भनेर केही मान्छेले आलोचना गरे पनि जनताको समर्थनले मलाई झन् उत्साहित बनाएको छ । अब यसलाई निरन्तरता दिनेतिर, वैकल्पिक स्रोतहरु जुटाउनेतिर मन्त्रालय र प्राधिकरणको टिम केन्द्रित भइरहेको छ ।
उद्योगपतिहरु कसैले बढी बिजुली पाएको र कसैले पाउँदै नपाएको गुनासो थियो । अहिले उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
उहाँहरुको पनि सकारात्मक सहयोग र प्रतिक्रिया आइरहेको छ । म एकदमै खुसी छु । उहाँहरुले पनि सकारात्मक भूमिका खेल्दिनुहुन्छ भन्ने अपेक्षा छ । उहाँहरुले मसँग के भन्नुभएको छ भने पाउँदा पनि हामीले १६ घण्टा पाएका थियौँ र अहिले नपाउँदा पनि २० घण्टासम्म बिजुली बाल्न पाइरहेका छौँ । अहिले हामीले उद्योगहरुमा पिक आवरमा बत्ती नबाल्न भनेका छौँ । पहिले उहाँहरुले अनेकौँ खर्च गरेर १६ घण्टा बत्ती बाल्न पाउनुभएको रहे छ । अहिले निःशुल्क पाएको भनेको २० घण्टा हो । उहाँहरु यसबाट एकदम खुसी हुनुहुन्छ । व्यवसायमा वृद्धि भएको सुनाउनुभयो । पर्यटन व्यवसायमा नयाँ उत्साह आएको सुनाउनुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्न सजिलो भएको, चोरी अपराध कम भएको भनेर प्रहरीहरुले सुनाउनुभयो । त्यतिमात्र होइन इन्धन आयतमा १५–२० अर्ब रकम जोगिएको भनेर सुनाउनुभएको छ । हेर्दाखेरी सामान्य बत्ती बाल्ने कुरा न थियो तर यसको बहुआयामिक प्रभाव रहेछ भन्ने कुरा धेरैपछि थाहा भयो । अहिले म उत्साहितसँगै निकै गम्भीर पनि छु । अझै बढी चुनौती थपिएको महसुस भएको छ । अहिले पनि कर्मचारीलाई भनेको छु, तार र नट बोल्टतिर ध्यान नदिनुहोस् । बरु तपाईंहरु अरुणमा (अरुण तेस्रो) सेयर हाल्दिने वातावरण बनाइदिन्छु भनेको छु ।
त्यस्ता गलत क्रियाकलापलाई गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुहुन्छ ?
अहिले त्यसबारे केही पनि नभनौँ । यसको व्यवस्थित रिपोर्ट मैले माग गरेको छु । के कारणले आज लोडसेडिङ हटाउन सम्भव भयो र के कारणले हिजो सम्भव थिएन ? हिजो किन सम्भव भएन ? यी कुराको अध्ययनसहितको रिपोर्ट आएपछि सार्वजनिक गरौँला । पहिले रिपोर्ट हेरौँ । कुन खालको रिपोर्ट आउँछ, कारण के हो, त्यस आधारमा निर्णय गरौँला । तीन महिनाको कामको अनुभवले कम्तीमा काठमाडौँलाई सधैँका लागि लोडसेडिङमुक्त बनाउन सकिन्छ भनेर एउटा आत्मविश्वासको साथ भन्न सकिन्छ ।
काठमाडौँबाहिरका सहरलाई पनि लोडसेडिङमुक्त गर्ने कुनै योजना छ ?
एउटा अभ्यासकै क्रममा भएको हुनाले विरानगर, धनगढी, चितवन, बुटवलजस्ता सहरहरुबाट पनि त्यस्तै माग आएको छ । केही दिनअघि चितवन गएको थिएँ । त्यहाँ थोरैमात्र लोडसेडिङ भएको अवस्था छ । यसको निरन्तरता हुन्छ कि हुँदैन भन्ने जिज्ञासा सबैतिर छ । त्यसैले अब काठमाडौँबाट बाहिर पनि फैलाउँदै लगेर देशभरि नै कत्तिपय ठाउँमा पूर्णरुपले लोडसेडिङ अन्त्य गर्ने र कतिपय ठाउँमा थोरैभन्दा थोरैमात्रै हुने अवस्था सिर्जना गर्नुपर्छ भन्ने किसिमले अहिले छलफल भइरहेको छ । हामी त्यसको तयारीमा छौँ ।
नो लोडसेडिङ का लागि जटिलता तपाईंंले फेस गर्नुप¥यो कि परेन ?
काठमाडौँलाई जिरो इनर्जीमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा एउटा योजना अगाडि बढाएको छु । त्यसका लागि काठमाडौँका ठूला व्यवसायी र अपार्टमेन्ट सञ्चालकहरुसँग छलफल गरेको छु । लोडसेडिङ अन्त्य हुँदा वैकल्पिक ऊर्जालाई पनि त्यहाँ जोड्न सम्भव हुन्छ । जहाँ लोडसेडिङ अन्त्य हुन्छ, त्यहाँ जोड्न सकिन्छ, अन्त सम्भव हुँदैन । त्यस कारण त्यसलाई जोड्न के गर्न सकिन्छ त भनेर हामीलाई जनताको पनि सहयोग चाहियो । जनताले सहयोग गरेमा देशभरिको लोडसेडिङ अन्त्य गर्न सकिन्छ । अहिले काठमाडौँको सबै घरहरुमा भएका इन्भर्टरको स्विच अन छ । त्यहाँ अनावश्यक रुपले विद्युत् खर्च भएको छ किनकि उपभोक्ता लोडसेडिङ सधैँका लागि हट्छ भन्नेमा विश्वस्त हुन सकेका छैनन् । जुन दबावको कुरा छ, म जनताको मुद्दामा मात्र प्रभावित हुन्छु, अरुको प्रभावले मलाई छुँदैन । प्रयत्न त यो समाजमा भइराख्छ । तर, त्यसले मलाई असर पर्दैन ।
नेपालको पानी, जनताको लगानी भन्ने तपाईंंको नारा सार्थक होला ?
यो नारा नेपाली जनताको जीवनलाई कसरी उठाउने भन्ने सोचसँग सम्बन्धित छ । नेपाललाई आत्मनिर्भर कसरी बनाउने र राष्ट्रियता कसरी बलियो बनाउने भन्नेसँग सम्बन्धित छ । जनतालाई आत्मनिर्भर बनाउन पानीमाथि स्वामित्व स्थापित हुनुपर्छ । त्यो भनेको हाइड्रोमा सेयर हालेर आउने बेनिफिट जनताले पाउनुप¥यो । सामान्य जनताले अन्यत्र एक रुपियाँ हालेर पाँच–दस रुपियाँ पाउँदैनन् तर हाइड्रोमा पाउँछन् । त्यसैले जनतालाई यता आकर्षित गर्न खोजिएको हो । यसबाट राष्ट्रनिर्माणमा जनताको पनि योगदान हुन जान्छ । मैले सुनेँ, नेपालमा पैसै छैन, विद्युत बन्दैन । जहिल्यै नेगेटिभ सोच्ने पोजेटिभतिर कहिल्यै नजाने राज्य प्रणालीको चिन्तन मैले पाएँ, त्यसलाई मैले पोजेटिभ बनाउन खोजेको हो । त्यसमा जनताको साथमा मात्र धेरै कुरा गर्न सकिन्छ भन्ने मेरो मान्यता छ ।
अन्त्यमा ?
लोडसेडिङ हटाउने ठूलो चुनौती छ । यसको सामना गर्न सक्दा एउटा मन्त्रीका लागि भन्दा राष्ट्रका लागि महत्वपूर्ण आयाम बन्नेछ । यो चुनौतीलाई सामना गर्न सिङ्गो सरकार प्रतिबद्ध छ । यसमा सञ्चारमाध्यमको सहयोग र उपभोक्ताको पनि सहयोगको अपेक्षा छ । अर्को कुरा, जनताको सहयोग मैले कहाँनेर अपेक्षा गरेको छु भने पिक आवरको समयमा बढी विद्युत् खपत हुने साधनहरु प्रयोग नगरिदिने । आवश्यक परेका बेलामात्रै बत्ती बाल्दिने, अर्थात् बिजुलीको प्रयोग कमभन्दा कम गरिदिने, बिजुली चोरी भएको सूचना दिने र सीएफएल चिमभन्दा पनि कम बिजुली खपत हुने लिडको प्रयोग गरिदिने हो भने यो लोडसेडिङ सदाका लागि अन्त्य गर्न सकिन्छ । (मिलाप डेस्क)






