एउटै छानामुनि सम्पूर्ण छायाँकन गर्न सकिने अत्याधुनिक स्टुडियो सञ्चालनमा ल्याएको छु


 

– बीबी फुयाँल, सञ्चालक, फुयाँल सुटिङ स्टुडियो

पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ  ?

भरखरै भक्तपुरमा फुयाँल सुटिङ स्टुडियो सञ्चालनमा ल्याएको छु । मध्यपुर थिमीको राधे राधेनजिकै बोडेमा सञ्चलानमा ल्याएको यो स्टुडियोका विविध काममा नै व्यस्त छु भन्नुपर्ला । म एउटा चलचित्रकर्मी भएका कारण तत्सम्बन्धी कामहरुमा पनि आफूलाई संलग्न गराउँदै आएको छु ।

के–कस्ता सुविधासहित सञ्चालनमा ल्याउनु भएको छ यो स्टुडियो  ?
एउटा चलचित्रका लागि चाहिने सम्पूर्ण अवयवहरु हामीले स्टुडियोमा राख्ने प्रयास गरेका छौं । स्टुडियोमा चलचित्र, टेलिचलचित्र र म्युजिक भिडियोसम्मको छायाँकन सुविधा छ । बेडरुम, लिभिङरुम, डाइनिङहल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, क्रोमा सेटसहितका सम्पूर्ण सुविधा छन् स्टुडियोमा ।

कसरी सोच आयो स्टुडियो सञ्चालनमा ल्याउने  ?
नेपाली चलचित्रमात्र होइन, म्युजिक भिडियोदेखि टेलिशृङ्खलासम्मले छायाँकन स्थलको अभाव महसुस गरिरहेको पृष्ठभूमिलाई ध्यान दिँदै मेरो एकल प्रयासमा सुविधा सम्पन्न स्टुडियो निर्माण गरेर सञ्चालनमा ल्याएको हुँ ।

कति समय लाग्यो यो पूर्ण सञ्चालनमा आउनका लागि  ?
मैले स्टुडियो निर्माणका लागि झन्डै एक वर्ष खर्चिएँ । अहिले यो स्टुडियो अन्तर्राष्ट्रियस्तरको बनेको छ । दुई महिनामा अर्को भवन पनि तयार गर्दै छु । यसमा अझै सेवा सुविधाहरु थप्दैछु ।

तपाईं चलचित्रको निर्देशक पनि, अब समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त  ?
हो, मैले नेपाली क्रिकेटमा आधारित ‘च्याम्पियन’ सहित झन्डै आधादर्जन चलचित्र निर्देशन गरिसकेको छु । काम गर्दै जानुपर्छ समय व्यवस्थापन गर्ने कुरा हो, मिल्छ । अहिले चलचित्रको निर्देशनको साटो चलचित्रको छायाँकन स्थललाई व्यवस्थित बनाउने अभियानका रुपमा नेपालमा सेट लगाएर छायाँकन गरिने ट्रेन्ड विकसित भएसँगै एउटै छानामुनि हरेक प्रकारका छायाँकन गर्न सकिने अत्याधुनिक स्टुडियो तयार पारेर सञ्चालनमा ल्याएको छु ।

प्रस्तुतिः गीता अधिकारी

यसमा तपाइको मत

अन्य समाचार