आजदेखि नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान

काठमाडौं,
भाद्र २४ ।

नेपाली काँग्रेसले आजबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गर्दैछ । काँग्रेसका संस्थापक नेता विपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मङ्गलबार (आज) देखि काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्न गालेको हो । यसअघि नेपाली काँग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।

दोस्रो चरणको जागरण अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ‘हिमाल, पहाड, तराई-मधेश (हिपतम) जागरण’ नाम दिएर १५ दिने दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेको हो । दोस्रो चरणको जागरण अभियान असोस ७ गते समापन गरिदै छ ।

काँग्रेसले दोस्रो चरणको जागरण अभियानमा साङ्गठनिक सुधार र सरकारका गलत कामको खबरदारी गर्ने र सरकार विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ ।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् । यसक्रममा काँग्रेसले सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने जनाएको छ । सरकारले ल्याएका विधेयकहरु लोकतन्त्र र संविधान विरोधी भएको भन्दै जनतामा चेतना जागृत गराउने उद्देश्य काँग्रेसले लिएको छ ।

काँग्रेसले जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ। जागरण अभियानका लागि खटाइएका केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद छन् ।

दोस्रो चरणको अभियानअन्तर्गत काँग्रेसले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित ‘विशेष संवाद’ कार्यक्रम गर्दै युवासँग संवाद गर्ने जनाएको छ ।

काँग्रेसले पार्टीमा आवद्ध र पार्टी बाहिर रहेका युवासँग ‘देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भ’ विषयक खुला बहस आयोजना गर्ने जनाएको छ । बहस कार्यक्रमबाट नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घलगायतका पार्टीका भ्रातृ संस्था र शुभेच्छुक संस्थामा आबद्ध युवा र अन्य असंगठित युवाका विचारहरू सङ्कलन गरिने काँग्रेसले जनाएको छ ।

जागरण अभियानको समापनका दिन काँग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरणलगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तयारी गरेको छ ।

अभियानको अन्तिम दिन असोज ७ गते काँग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने काँग्रेसले जनाएको छ । समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाइने कांग्रेसले जनाएको छ ।

अभियानका क्रममा काँग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रम तय गरेको छ ।

दोस्रो चरणको जागरण अभियानका क्रममा ३सय३० प्रदेशसभा निर्वाचन क्षेत्रमा झण्डै ३५ हजार विरुवा रोप्ने काँग्रेसले जनाएको छ । वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ विरुवा रोपेर दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार