काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन

काठमाडौं,
भाद्र २३ ।

सोमबार (आज)देखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा आएको छ । सुन्दर यातायात प्रा.लि.ले आजबाट दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो । राजधानीको भृकुटीमण्डपमा रक्षामन्त्री इश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका छन् ।

यी बसहरु रिङरोडमा गुड्नेछन् । बसमा करिब ३० देखि ३५ वटा सिटहरु रहेका छन् । प्रा.लि.ले बसमा यात्रा गर्दा यात्रुहरुका लागि भाडा तिर्न स्मार्ट कार्डको समेत व्यवस्था गरेको छ । स्मार्ट कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुट दिइने अध्यक्ष थापाले जानकारी गराए ।

यसअघि प्रा.लि.ले बस चार्ज गर्नका लागि चावहिलको भत्किएको पुल नजिकै चार्जिङ स्टेसन समेत खोलिसकेको छ ।
यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्ने जनाइएको छ ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार