‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न

पोखरा,
भाद्र २२ ।

चलचित्रको समाचार लेखन कार्यशाला पोखरामा सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ, नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न भएको हो ।
भदौको १८ गतेबाट सुरु भएको कार्यशाला भदौको २० गते समापन भएको थियो । कार्यशालामा आएका १ सय १२ बढी पत्रकार सहभागी भएका थिए ।

कार्यशालामा चलचित्र पत्रकारहरुलाई सैद्धान्तिक र व्यवहारीक ज्ञान दिइएको थियो । ‘पत्रकार आचारसंहिता’को बिषयमा पत्रकार राजेन्द्र दाहालले प्रशिक्षण दिएका थिए भने ‘डिजिटल तथा मल्टिमिडिया’का बिषयमा रजनिश भण्डारी, ‘चलचित्र समिक्षा’को बिषयमा अनुप सुवेदी, ‘चलचित्र पत्रकारिता हिजो र आज’को बिषयमा नारायण अमृत र ‘पर्यटन र चलचित्र’ बिषयमा सूर्य थपलियाले प्रशिक्षण दिएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले कार्यशालामा चलचित्र पत्रकारहरुको उल्लेख्य र उल्लासमय उपस्थिती रहेको भन्दै खुशी व्यक्त गरे । उनले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि संघले यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बताए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले बोर्ड र चलचित्र पत्रकारको बिषयमा आफ्नो भनाई राखेका थिए । तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी चलचित्र पत्रकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यशालामा सहभागी चलचित्र पत्रकारहरुले कार्यशाला फलदायी रहेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार