महिला सशक्तिकरण सम्बन्धि लघु चलचित्र निर्माण गरिने

काठमाडौं,
भाद्र ५ ।

महिला सशक्तिकरण सम्बन्धि लघु चलचित्र निर्माण गरिने भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिको बैठकले महिला सशक्तिकरण सम्बन्धि लघु चलचित्र निर्माण गर्ने निर्णय गरेको हो ।

संयोजक सवनम मुखियाका अनुसार उक्त समितिले महिलाको जनस्तर उकास्न, महिलालाई सक्षम बनाउने चेतनामूलक लघु चलचित्रहरु निर्माण गर्नका लागि पहिलो बैठकबाट सूचना माग भएबमोजिम आवेदन परेको र त्यसबाट छनौट गरी लघु चलचित्र निर्माणका लागि अनुमति दिइएको छ ।

लघु चलचित्र निर्माण निर्देशनमा अम्बिका भण्डारी, आशुका अर्याल, मिरोन राजभण्डारी, मिरा गुरुङ छनौट भएका छन् । त्यस्तै छायाँकनमा अन्जिता लामा, इतुषा पोखरेल छनौट भएका छन् भने लेखनमा सबु सुवेदीलगायतका छनौट भएका छन् । आगामी असोज १ देखि ३ गतेसम्म विरगञ्जमा निर्माता सङ्घले आयोजना गर्न लागेको चलचित्र महोत्सवमा महिला चलचित्रकर्मी सशक्तिकरण समितिले निर्माण गरेको लघु चलचित्रलाई प्रदर्शन गरिने भएको छ ।

सवनम मुखियाको संयोजक रहेको चलचित्रकर्मी सशक्तिकरण समितिमा निर्देशक तथा सम्पादक रक्षासिंह राणा, पत्रकार गीता अधिकारी, निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, लेखक तथा कलाकार जय ओझा, पत्रकार सविता पोखरेल, सञ्चारकर्मी रिना मोक्तान र चलचित्र विकास बोर्डको अधिकृत निर्मला चौलागाईं रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार