गौरा पर्व सुरु

काठमाडौं,
भाद्र ३ ।

सुदूर पश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु भएको छ । सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवम् साँस्कृतिक पर्व हो गौरा ।

सुदूरपश्चिमा मनाइने गौराको पहिलो दिन मङ्गलवार बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गौराको पहिलो दिन गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ । केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।

मङ्गलवार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत/गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन् ।

गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन् । यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन् । त्यस्तै पुरुष महिलाहरूले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन् ।

साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार