लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा-योगेश भट्टराई

रुपन्देही,
साउन २४ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

उनले आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा बताए । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए ।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए ।

धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए । मन्त्री भट्टराई विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार