जागरण अभियानले पार्टी र कार्यकर्तामा उर्जा अभिवृद्धि गरेको छ – नेपाली कांग्रेस

काठमाडौं,
जेठ २७ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्न भन्दै वैशाख २५ गते सुरु गरेको पहिलो चरणको जागरण अभियानले पार्टी र कार्यकर्तामा उर्जा अभिवृद्धि गरेको जनाएको छ ।

निर्वाचनमा नराम्रोसँग पराजित बनेको कांग्रेस आन्तरिक गुटबन्दी र आरोप प्रत्यारोपमा रुमल्लिँदा कार्यकर्तामा निरासा छाएको थियो । आन्तरिक विवावदकैबीच सुरु गरिएको जागरण अभियानले कार्यकर्तामा उर्जा अभिवृद्धि भएको कांग्रेसले दाबी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जागरण अभियानले पार्टीमा उर्जा अभिवृद्धि गरेको बताएका छन् ।

विज्ञप्तिमा ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण पार्टीका आम साथीहरुमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको उल्लेख छ ।

सभापति देउवाले वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको प्रथम चरणको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्ने स्वदेश र विदेशमा रहेका सबै नेपालीप्रति धन्यवाद दिएका छन् ।

गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशीलताको प्रशंसा गर्दै जिल्लाहरुमा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समितिहरु, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैप्रति धन्यवाद दिए ।

उनले विज्ञप्ति मार्फत जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर नेपाली कांग्रेसलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प यो घडीमा हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन् । सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधि विरुद्ध थप जागरण बढाउँदै एकतावद्ध ढंगले कार्य गर्न अपिलसमेत गरेका छन् ।

उनले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्दै संघीयताको सफल कार्यान्वयन गर्न गराउन दवावको प्रभावकारी भूमिका कांग्रेसले निर्वाह गर्ने बक्तव्यमा बताएका छन्। जागरण अभियान मार्फत् यो दिशामा प्राप्त ऊर्जालाई पूँजीकृत गर्दै नेपाली कांग्रेस अघि बढ्ने उनको बक्तव्यमा उल्लेख छ ।

सभापति देउवाले जागरण अभियानले पार्टी र कार्यकर्तामा नयाँ उर्जा मिलेको बताएपनि जागरण अभियानमा नेताहरुले संगठन सुदृढिकरणलाई भन्दा पनि एकअर्काको आलोचनमा नै बढी समय बिताए । गुटगत राजनीतिमा रुमल्लिएको कांग्रेसका नेताले जागरण अभियानका क्रममा गुटको राजनीतिलाई स्थानीय तहसम्म पुर्याएको भन्दै कार्यकर्ता निरास बनेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार