हङकङमा ‘च च हुई’

काठमाडौं,
जेठ ९ ।

चलचित्र ‘च च हुई’को यतिवेला हङकङमा छायाँकन भइरहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘च च हुई’को छायाँकन गत साता देखि हङकङमा भईरहेको हो ।

निर्माणपक्षका अनुसार हङ्कङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा चलचित्रको छायाँकन भइरहेको छ । चलचित्रको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लाम लगायत हङकङमा छन् ।

त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतको अभिनय रहेको चलचित्रको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो ।

हङकङ छायाँकन पछि नेपाल आएर चलचित्रको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको चलचित्र हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् ।

‘यसपटक कमर्सियल चलचित्रको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘चलचित्र मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ चलचित्रमा पछिल्लो समयका चर्चित सङ्गीतकार राजनराज शिवाकोटी र रोशन थापाको सङ्गीत रहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ टोलि प्रस्थान गरेको थियो ।

चलचित्र ‘लुटेरा’ डेब्यु निर्देशन गरेका साम्तेनले तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल चलचित्र निर्देशन गरिरहेका छन् । हरेक चलचित्रमा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको चलचित्र निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको थियो, त्यसैले पनि उनले यसपटक भिन्न किसिमकै चलचित्र निर्देशन गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार