प्रज्ञाप्रतिष्ठानमा ‘नेपाली संस्कृति र राष्ट्रियता’सम्बन्धी विमर्श

काठमाडौं,
माघ २३ ।

प्रज्ञा भवन, कमलादी, काठमाडौंमा ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयक प्रवचन गोष्ठीको आयोजना गरिएको छ । माघ २३ गते बुधवारका दिन प्रज्ञा-प्रतिष्ठान, संस्कृति विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘नेपाली संस्कृतिका विषयमा बुझ्नुभन्दा पहिले इतिहासलाई बुझ्नु पर्ने’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म पढिएको नेपालको इतिहास सत्यतथ्यमा होइन दन्त्यकथा र जनश्रुतिमा आधारित छ । त्यसकारण पुरातन सोँच र मान्यतालाई संशोधन गरी नेपालको इतिहासको पुनर्लेखन नै गरिनु आवश्यक देखिन्छ ।’ उहाँले नेपाल पौराणिक कालदेखि नै स्वतन्त्र रहेको पनि उल्लेख गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘बहुलता नेपाली इतिहास र संस्कृतिको शक्ति’ भएको उल्लेख गर्दै ‘श्रुतिपरम्परा, कथाकहानी र पश्चिमा विद्वानहरूमा निर्भर रहेको नेपाली इतिहास र संस्कृतिलाई’ अब तथ्यपरक किसिमले बदल्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसो भयो भनेमात्रै हामीले चाहेको नेपाली संस्कृति र राष्ट्रियता मजबुद हुन्छ ।’

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ‘नेपाली संस्कृतिमाथि विचलन आउन नदिन यस्तो विमर्श चलाउनु आवश्यक देखिएको’ बताउनुभयो । उहाँले ‘राष्ट्रले चाहेको प्राज्ञिक आपूर्ति गर्न प्राज्ञहरू कटिबद्ध हुनु पर्नेमा जोड दिँदै प्रज्ञा–प्रतिष्ठानले संस्कृति विभाग मार्फत् हरेक तीन–तीन महिनामा ‘संस्कृति विमर्श’ कार्यक्रम सञ्चालन गर्ने’ जानकारी दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले अब जनता र समाजको तहबाट नेपालको इतिहास र संस्कृतिसम्बन्धी विमर्शलाई घनीभूत बनाई सार्थक परिणाम निकाल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला लगायतका विद्वान–विदुषीहरूको उपस्थिति रहेको थियो । वेदाचार्य लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी सुरु भएको कार्यक्रम बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार