‘सयकडा दश’को बैंककमा प्रिमियर

काठमाडौं,
माघ १५ ।

चलचित्र ‘सयकडा दश’को बैंककमा प्रिमियर गरिएको छ । यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘सयकडा दश’ले अन्तर्राष्ट्रिय प्रिमियर बैंककमा गरेको हो ।

स्थानिय मेजर एकमाइ हलमा आयोजित प्रिमियर नेपाली डायस्पोराले खचाखच बन्यो जहाँ नेपाली राजदूत समेत सहभागि रहे ।

थाइ नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्यान्डका नेपाली भाषी समेत उपस्थित रहे । नेपालदेखि प्रिमियरमा भाग लिन निर्माता एवम् अभिनेता राजाराम पौडेल पनि पुगेका थिए ।

बर्मेली अभिनेत्री सोनिया राईको समेत डेब्यु भएकाले चलचित्रलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । प्रिमियरमा पौडेल र एक्ट्रेस राई आकर्षण बने ।

थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्कीलगायत तीनसय बढीले चलचित्र हेरेका थिए ।

प्रिमियरपछि दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिए । राजदूत गुरुङले सामाजिक कथावस्तुले भरिपूर्ण चलचित्रलाई सरकारले बनाउनुपर्नेमा नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद दिए ।

थाइ नेपाली संघका अध्यक्ष कार्कीले पुर्खाको देशको अवस्था चलचित्रमा हेर्दा दुःख लागेपनि चलचित्र हेरेर युवा कस्सिए नेपाल भ्रष्टाचारमुक्त हुने बताए ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले मप्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई चलचित्र हेर्न आग्रह गरे ।

रामशरण पाठक निर्देशित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको मुख्य भूमिका छ ।

यसमा तपाइको मत

अन्य समाचार