मिलन नेवारको ‘मिलन यात्रा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ १३ ।

गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।

माननिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, सङ्गीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पितालगायत अन्य अतिथिहरुको हातबाट शनिवार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल सङ्गीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उद्देश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गीतिक प्रस्तुति र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उद्देश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत/सङ्गीत पारखी भएको बताएका थिए । उनले नेपाली सङ्गीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताए ।

यसमा तपाइको मत

अन्य समाचार