यस्तो आयो प्रेमलीलाको ट्रेलर

काठमाडौं,
माघ ३ ।

चलचित्र प्रेमलीलाको ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी देशभरका सिनेमाघरमा आउँन लागेको यो चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खानबीचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।

कार्यक्रममा बोल्दै चलचित्रकी नायिका दिपशिखा खड्काले चलचित्र निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनी बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ’, खड्काको भनाई थियो । आफु महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रमका निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन् ।

पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको सङ्गीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ ।

चलचित्रमा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार