साङ्गीतिक विमर्स अभियान सम्पन्न

काठमाडौं,
पौष १९ ।

सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौँको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरेले बताउनुभयो ।

गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सातवटा एल्बलमा एकै दिनमा रेकर्ड भएका थिए । गीतमा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भर्नु भएको छ ।

मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो ।

दोस्रो चरणको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको छ ।

बाँकेको कोहलपुरमा भएको कार्यक्रममा गीतकार डा उपाध्यायका सातवटा गीति एल्बम लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, वरिष्ठ कथाकार सनत रेग्मीले देशव्यापरी रूपमा चलेको यो अभियानले स्थानीय साहित्य र समाजका बारेमा जान्न, बुझ्न सजिलो हुने बताउनुभयो ।
‘कृति लोकार्पण मात्र नभई जिल्लाको साहित्य र सङ्गीतको अवस्थाका बारेमा हुने छलफल नै यो अभियानको सुन्दर पक्ष हो ।’ वरिष्ठ कथाकार रेग्मीले भन्नुभयो, ‘यस्तो छलफलबाट साहित्यका बिभिन्न विधाको सैद्धान्तिक र संरचनात्मक विषयमा नयाँ धारबाट सोच्ने, मन्थन गर्ने बारेमा सरोकारवाला निकायलाई सोच्न बाध्य पार्छ ।’

पोखरामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले साहित्यको इतिहासमा पूर्वपश्चिम अभियान चलेको भए पनि सङ्गीतको इतिहासमा भने पद्मदीप स्मृति प्रतिष्ठानले ऐतिहासिक अभियान चलाएको धारणा राख्नुभयो ।

अभियानका समयमा हुने जिल्ला स्तरको साहित्य र सङ्गीत बारेको छलफलपछि रचना लेख्ने र सुनाउने मात्र नभई विधागत संरचनाका बारेमा समेत सर्जकलाई झकझक्याउनेमा उहाँले जोड दिनुभयो । ‘पोखरामा साहित्य र सङ्गीतको अवस्था आशा गरे जस्तो नभए पनि निरासाजनक भने छैन, नयाँ पुस्ताको लेखन र साधनाबाट म सन्तुष्ट छु ।’ श्रेष्ठले भन्नुभयो ।

अभियानको क्रममा भएको छलफलमा सहभागीहरुले साहित्यिक तथा साङ्गीतिक संस्थाबीच अस्वस्थ प्रतिस्पर्धाका कारण जिल्लास्तरको लेखनमा गुणस्तर नभएको, एउटा विधाका लेखकहरूले अर्को विधाका लेखकको अस्तित्व स्वीकार गर्न नसकेको, स्थानीय सरकारले साहित्य र सङ्गीतको लागि पर्याप्त बजेट नछुट्याएको, जिल्लास्तरमा प्रकाशकको अभावमा कृति प्रकाशनमा समस्या भएको लगायतका विचार तथा गुनासा सुनाएका थिए ।

झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरिएको आयोजक पद्मदीप स्मृति प्रतिष्ठानका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन पत्रकार लिलप्रकाश चन्दले गर्नु भएको थियो भने पद्मदीप स्मृति प्रतिष्ठानका अध्यक्ष घिमिरे, गीतकार उपाध्याय, सङगीतकार श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ुसरदु को पनि सहभागिता थियो ।

यसमा तपाइको मत

अन्य समाचार