‘जुनी’ लिएर आइन जुनी खालिङ राई

काठमाडौं,
पौष १९ ।

गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतका अतिथिहरूद्वारा विमोचन गरिएको हो ।

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री शेर्पाले गीत-सङ्गीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–सङ्गीतको प्रवद्र्धनमा कलाकारहरू लाग्नु पर्छ । उनले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गरे ।

कार्यक्रममा गायिका लोचन भट्टराईले ‘गीत-सङ्गीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति’ भएको धारणा राखिन् । किरात राईका प्रतचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले ‘जुनी’ एल्बमका गीतहरू अब्बल रहेको बताए । उनले लोकजीवन र लोकलयमा आधारित गीत–सङ्गीत कालजयी रहने विचार व्यक्त गरे । गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले विमोचित एल्बमका गीतहरूले स्रोताको मन छुने बताए ।

साँघुरी गाउँपालिका–९, धनकुटाकी गायिका राईले ग्रामीण परिवेशमा घाँस–दाउरा गर्दा नै आफूले गीत गाउन सिकेको सुनाइन् । कार्यक्रममा उनले एल्बममा समाविष्ट गीत ‘यो नजरले त्यो नजर देखेझैँ लाग्यो’ गाएर सुनाएकी थिइन् ।

एल्बमभित्र गीतकार जीवन खालिङ राईको शब्द, तीर्थ खजुम र एमबी कुँवरको सङ्गीत रहेको ‘तिम्रो मुस्कान’, जीवनकै शब्द अनि सन्देश याम्फू र गायिका स्वयम्को सङ्गीतको ‘जोवन बाहेक छैन मसँग’, जीवनकै शब्द र सूर्य वालिङ राईको सङ्गीत रहेको ‘साँझ–बिहान’, आशा राईको शब्द र कृष्णभक्त राईको सङ्गीतको ‘यो नजरले त्यो नजर’, हरिप्रसाद राईको शब्द तथा सङ्गीत रहेको ‘भेडेटारको डाँडैडाँडा’ र सुखकला राईको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको ‘कस्तो माया बस्यो कुन्नि’ बोलका ६ गीत सङ्ग्रहित छन् । सबै गीतको सङ्गीत संयोजन कृष्णभक्त राईले गरेका छन् । एल्बमको बजार व्यवस्थापन कञ्चन म्युजिक प्रा.लि.को रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार