सानुमायालाई स्रोता/दर्शकको साथ (भिडियोसहित)

काठमाडौं,
पौष १९ ।

युटुबमा केही दिन अघि सार्वजनिक गरिएको समाजसेवी गायक पूर्ण लिम्बुको नयाँ गीत ‘सानु माया’ ले यति बेला धेरै दर्शकहरुको साथ पाईरहेको छ । निकै कम समयमा युटुबमा धेरै दर्शकहरुले यस गीतको भिडियोलाई हेरेर मनपराई रहनु भएको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीको अभिनय रहेको छ ।

चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा उक्त भिडियो तयार भएको हो । सुदिप बरालको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस भिडियोमा वर्षा र आकाशको जोडी निकै सुन्दर देखिएको छ भने निर्देशन र छायांकनको हिसाबले भिडियो कुनै चलचित्रको गीतको भिडियो भन्दा कम देखिदैन ।

पूर्ण लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा प्रेम कृष्ण बजगाईंको शब्द तथा सङ्गीत रहेको छ भने शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको छ ।

गीत सङ्गीतको माध्यमबाट पनि समाजमा परिवर्तन गर्न सकिन्छ र समाज रुपान्तरण पनि गर्न सकिन्छ भन्ने विश्वास बोकेर नेपाली गीत सङ्गीतलाई अङ्गालेर निरन्तर यस क्षेत्रमा लागिपर्ने व्यक्ति हुन् गायक पूर्ण लिम्बु । बेलायती भूपू सैनिक उनको इतिहास हो तर बेलायतको विलाशी जीवन छाडेर उनि नेपालमा समाज सेवा गर्नको लागि आए ।

हुन त उनि विभिन्न संघ संस्थाहरुमा आबद्ध छन् तर उनको परिचय भने गोर्खा वेलफेयर ट्रस्टबाट हुन्छ । देशको विभिन्न भागमा गएर सामाजिक कार्यमा उनि आबद्ध हुनुको साथै धेरै दुखीहरुलाई राहत र सहयोग समेत उनले गरेका छन् । गीत सङ्गीत उनको मनको इच्छा हो त्यसैले त उनले समाजसेवा र गीत सङ्गीतलाई सँगसँगै लिएर अगाडी बढिरहेका छन् । उनले गन्तिको हिसाबमा कुरा गर्ने हो भने धेरै गीत बजारमा लिएर आएका छैनन् । तर जति गीत उनका बजारमा आएका छन् ति सबै गीतले केहि बिशेष सन्देश प्रवाह गरेको छ ।

समाजको समस्यालाई चित्रण गर्दै त्यसको समाधानको बाटो पनि औल्याएको छ । तर यसपटक उनले दर्शक स्रोताको चाहनालाई मध्य नजर गर्दै आफ्नो विधालाई केहि हद सम्म परिवर्तन गर्ने कोशिश गरेका छन् । यहि अनुरुप उनले ‘सानु माया’ बोलको गीत बजारमा सार्वजनिक गरेका हुन् । यो गीत उनले प्राय गरिरहने गीतहरु भन्दा फरक छ । आफ्नो गीतलाई यति बेला युटुब तथा सामाजिक सञ्जालमा मनपराउनु भएकोमा गायक पूर्ण लिम्बुले सबै दर्शक स्रोताहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार