गोपीको तेरो आफ्नो (भिडियोसहित)

काठमाडौं,
पौष १७ ।

माघ १८ गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘गोपी’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ ।

चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् । यो गीतका गायक शिव परियारले बजारमा भाइरल नै नभएपनि गीत निकै राम्रो रहेको बताएका छन् ।

चलचित्रलाई आरोही इन्टरटेनमेन्ट प्रा.लि.का लागि आरोही केसीले निर्माण गरेका हुन् ।  ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको गीतमा गोपी चलचित्रका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ । गोपाल रसाइलीको एरेन्जमेन्टले पनि गीतको स्तर उठाउन मद्दत पुगेको छ ।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

विदेशमा बस्ने नेपालीहरुले चलचित्र हेर्ने चाहना व्यक्त गरिरहेकाले ओभरसिज सेल्समा पनि ध्यान दिइरहेको कार्यकारी निर्माता श्रीधर पौडेल बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार