बोबी-२को घोषणा

काठमाडौं,
पौष १५ ।

चलचित्र ‘बोबी-२’को घोषणा गरिएको छ । मिलन चाम्स निर्देशित ‘बोबी-२’को घोषणा गरिएको हो । शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्रलाई मिलन चाम्सले नै निर्माण र निर्देशन गर्नेछन् । चैत दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ ।

पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, ‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा चलचित्र केन्द्रित हुनेछ ।’ उनी थप्छन्, ‘पहिलो पार्टले इमोसनल गरेको थियो । बोबी २ले प्रेरणा दिनेछ ।’

चलचित्रमा उमेश र कवितासँगै विजय लामाको अभिनय रहनेछ । ‘बोबी’ मा अभिनेता लामाले कविताको अंकलको भूमिका निभाएका थिए । ५० प्रतिशत नर्वेमा छायांकन हुने चलचित्रको नेपालमा भने पोखरा र काठमाडौंमा हुनेछ ।

नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथामा ढालेका छन् । ‘बोबी’ मा पनि दुवैको पटकथा लेखन थियो ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने चलचित्रको सिनेमेट्रोग्राफरमा नवराज उप्रेती रहने छन् । बनिश शाहले सम्पादन गर्ने चलचित्र अर्को वर्षको मध्यान्तरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

 

यसमा तपाइको मत

अन्य समाचार