नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं,
पौष १५ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–सङ्गीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र निबन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।

शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त सम्मान तथा पुरस्कार प्रदान गरे । काइँलाले दोसल्ला, ताम्रपत्र र बीस हजार राशिसहितको ‘प्रतिभा सम्मान’ ग्याल्मोलाई र ताम्रपत्र र एकलाख रुपैयाँ नगद राशिसहितको ‘प्रतिभा पुरस्कार’ अधिकारीलाई प्रदान गरेका थिए ।

सम्मान तथा पुरस्कार प्रदान गरेपछि आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि काइँलाले नेपाली भाषा, साहित्य, कला तथा सङ्गीतका क्षेत्रमा दार्जिलिङको अतुलनीय योगदान रहेको बताए । उनले ग्याल्मोजस्ती प्रभावशाली गायिका र युवा निबन्धकार तथा अनुवादक अधिकारीलाई बेलायतमा रहेको नेपाली वाङ्मयिक संस्थाले सही मूल्याङ्कन गरी सम्मान गरेकोमा खुसी प्रकट गरे ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र कवि श्रवण मुकारुङले बेलायतमा रहेको प्रतिभा प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतका क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्दै सत्कार्य गरेको उल्लेख गरे । कार्यक्रममा सङ्गीतकार आभाष र संस्कृतिविद् डा. भक्त राईले सम्मानित तथा पुरस्कृत प्रतिभाका बारेमा बोलेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष दीपा राई लिम्बू, वरिष्ठ उपाध्यक्ष गणेश राई, कोषाध्यक्ष देवेन्द्र खेरेस र मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूले संस्थाले गरिआएका गतिविधि तथा सम्मान र पुरस्कार सम्बन्धी प्रकाश पारेका थिए ।

समारोहमा सम्मानित तथा पुरस्कृत प्रतिभा ग्याल्मो र अधिकारीले सम्मानित था पुरस्कृत भएमा कृतज्ञता प्रकट गर्दै आआफ्ना अनुभूति व्यक्त गरेका थिए । एघार वर्षअघिदेखि आरम्भ भएको सम्मान तथा पुरस्कारद्वारा अहिलेसम्म २२ जना सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार