आफ्ना अनुभव र अभिव्यक्ति समाजका लागि उपयोगी होस् भन्ने हेतुले लेख्छु-श्रीओम श्रेष्ठ ‘रोदन’

वि.सं. २०१९ लक्ष्मीपूजाका दिन ललितपुर, झम्सिखेलमा आमा बेलकुमारी र बाबा शिवप्रसाद श्रेष्ठको माइलो सुपुत्रको रुपमा जन्मिनुभएका श्रीओम श्रेष्ठ ‘रोदन’ लेखन, सम्पादन, अभिनय, समाजसेवाजस्ता क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यमा सुपरिचित र प्रतिष्ठित श्रीओमले नेपाली भाषा र साहित्यको समृद्धिका लागि पु¥याउनुभएको योगदान अतुलनीय छ । रोदन एफएम रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने अग्रज पनि हुनुहुन्छ । उहाँले ईमेज एफएम, गुडनाइट एफएम, अध्यात्म ज्योति एफएम र टाइम्स एफएममा पनि कार्यक्रम सञ्चालन गर्नुभएको छ । दुई दर्जनजति नाटक, टेलिचलचित्र र चलचित्रमा अभिनय गरिसक्नुभएका रोदनले नेपाल बैङ्कको आठ वर्षे जागिर छोडेपछि लामो समयदेखि गोरखापत्र संस्थानको मधुपर्क साहित्यिक मासिकको सम्पादन गर्दै आउनुभएको छ । नेपाली साहित्यमा उहाँका पाँचवटा आत्मपरक निबन्धसङ्ग्रह, दुईवटा नियात्रासङ्ग्रह, दुईवटा लघुकथासङ्ग्रह, दुईवटा कवितासङ्ग्रह र एउटा स्रष्टा अन्तर्वार्तासङ्ग्रह गरी बाह्र कृति प्रकाशित भइसकेका छन् । उहाँको पछिल्लो निबन्धसङ्ग्रह ‘भनौँ कि नभनौँ’ निकै चर्चित बनेको छ । यस कृतिका लागि चितवन साहित्य परिषद्ले ‘चिसाप लीला नर्मदा साहित्य पुरस्कार–२०७४’ प्रदान गरिसकेको छ । विभिन्न विधाका चौधवटा साहित्यिक पुस्तक, दर्जनौं पत्रिकाको सम्पादन गरिसक्नुभएका रोदन दर्जनौँ पुरस्कार र सम्मानबाट पनि सम्मानित भइसक्नुुभएको छ । नेपाली साहित्यमा लघुकथाको उन्नयनका लागि निरन्तर बीस वर्षदेखि सक्रिय रहँदै आउनुभएका रोदनले लघुकथा समाजको अध्यक्षको रुपमा पनि महत्वपूर्ण कार्यहरु गर्दै आउनुभएको छ । समाजसेवी वीरबहादुर राईको प्रकाशन सहयोगमा उहाँले हालै सम्पादन गर्नुभएको पुस्तक ‘आजका लघुकथा’ले पनि लघुकथाको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । उनै बहुआयामिक व्यक्तित्व श्रीओम श्रेष्ठ ‘रोदन’सित मिलाप मासिकका लागि साहित्यकार श्रीराम राईले गर्नुभएको कुराकानीको सारसंक्षेपः-

नेपालमा लघुकथाको स्थिति कस्तो रहेको छ ?
नेपालमा लघुकथा लेखन विगतको तुलनामा निकै उत्साहजनक छ । विज्ञान र प्रविधिले व्यस्त बनाएको मानिसको जीवनशैलीअनुरुपको साहित्यिक सिर्जना भएकोले लघुकथा आजको समयसापेक्ष साहित्य बनेको छ । थोरै समयमा एउटा सिङ्गो कथाको मज्जा लिन सकिने भएकोले लघुकथा लेखकीय र पाठकीय दृष्टिले पनि लोकप्रिय बनेको छ ।

तपाईं लघुकथा समाजको अध्यक्ष हुनुहुन्छ । लघुकथाको विधागत उन्नयनका लागि के–कस्ता काम भइरहेका छन् ?
लघुकथा समाजको अध्यक्ष हुनुपहिलेदेखि नै मैलै व्यक्तिगत रुपमा पनि लघुकथाको प्रचारप्रसारमा संलग्न हुँदै आएको थिएँ । वि.सं. २०५४मा नेपालमा पहिलोपटक लघुकथाको राष्ट्रव्यापी प्रतियोगिताको संयोजन गरेपछि धेरै कार्यक्रमको संंयोजन गर्ने अवसर पाएको छु । लघुकथा समाजको स्थापना भएपछि लघुकथालाई सैद्धान्तिकरुपमा परिभाषित गर्ने काम भएको छ, जसलाई प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयले मान्यता प्रदान गरेको छ । लघुकथाको इतिहास खोजी गर्नुका साथै व्यापक अभियानद्वारा सबै स्रष्टाहरुको ध्यानाकर्षण गर्ने काम भएको छ । लघुकथामाथि अध्ययन, अनुसन्धान गर्ने, लघुकथा लेखन र प्रवद्र्धन कार्य गर्नेहरुलाई प्रत्येक वर्ष पाँचवटा पुरस्कार र सम्मानबाट सम्मानित गर्ने गरेका छौं । समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेख्नुभएको ‘लघुकथाको रचना विधान’, ‘आजका लघुकथा’जस्ता पुस्तक तथा ‘नेपाली लघुकथा’ पत्रिकाको नियमित प्रकाशन गरिरहेका छौं । हामी एक वर्षमा एघारवटासम्म कार्यक्रम काठमाडौंलगायत विभिन्न ठाउँमा गरिरहेका छौं । सम्भवतः वर्षमा यति धेरै कार्यक्रम गर्ने अग्रणी संस्था पनि हामी नै बनेका छौं ।

लघुकथाप्रति प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयहरुको कस्तो भूमिका रहेको छ ? कुनै चुनौती पनि छन् कि ?
लघुकथाको विकास र विस्तारमा प्रज्ञा–प्रतिष्ठानको अहम् भूमिका रहेको छ । लघुकथासम्बन्धी लघुकथा समाजका महत्वपूर्ण कार्यहरु प्रज्ञा–प्रतिष्ठानकै सहआयोजनामा भएका छन् । डा. पुष्करराज भट्टको सम्पादनमा लघुकथाको पुस्तक, हिन्दी भाषामा लघुकथाको पुस्तक र समकालीन साहित्यको लघुकथा विशेषाङ्क पनि प्रकाशनको तयारीमा रहेको छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट लघुकथालाई पाठ्यक्रममा समावेश गरेको छ र विद्यावारिधिको उपाधिसमेत प्रदान गरिसकेको छ ।
अन्य क्षेत्रमा झैं लघुकथामा पनि चुनौतीहरु नभएका होइनन् । लघुकथा नेपाली साहित्य होइन, लघुकथा लेखेर साहित्यकार भइँदैन भनेर भन्नेहरुको आवाजलाई लघुकथाको लोकप्रियताले क्रमशः सानो पार्दै गएको छ । नेपालमा मात्र होइन, विश्वको कुनै पनि राष्ट्रमा समयानुकूल बनेको लेखनलाई जस्तै मै हुँ भन्नेले पनि त्यसको लोकप्रियतालाई रोक्न सक्दैन ।

तपाईं केका लागि लेख्ने गर्नुहुन्छ र कुनकुन विधामा कलम चलाउनु हुन्छ ?
म आफ्ना अनुभव र अभिव्यक्तिलाई समाजका लागि उपयोगी होस् भन्ने हेतुले लेख्छु । कुनै समय रहरले लेख्थें आत्मसन्तुष्टिका लागि । तर, अहिले सामाजिक उत्तरदायित्वकोृ बोधले लेख्ने गर्छु ।
मेरो पनि लेखनको सुरूवात कविताबाटै भएको हो । अहिले पनि लेखिरहेको छु । तर, म निबन्ध, लघुकथा, नियात्रा र व्यक्तिवृत्तमा बढी रमाउँछु ।

नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी हेर्नुभएको छ ?
नेपाली साहित्य सिर्जनाको दृष्टिले सन्तोषजनक भए पनि गतिविधिका दृष्टिले विकृति बढ्दै गएको छ । साहित्यजस्तो गम्भीर विषयलाई पनि चाउचाउको जस्तै विज्ञापनको आवश्यक पारिन थालेको छ । राम्रा र स्तरीय सिर्जनाका तुलनामा पैसा खर्च गर्नसक्ने लेखक र अखबार प्रयोग गर्न जान्नेका लेखनले बढी महत्व पाइरहेका छन् । समालोचकहरु पनि इमानदारीतामा भन्दा बढी व्यक्ति र बिटोमा कलम चलाउन थालेका छन् । यसले नेपाली साहित्यको एउटा कालखण्डलाई विकृत बनाउने सम्भावना बढ्दै गएजस्तो लाग्छ ।

समुन्नत समाजका लागि साहित्यकारहरुको कस्तो भूमिका हुनुपर्छ भन्ने लाग्छ ?
अहम् भूमिका हुने कुरामा कुनै शङ्का छैन । तर, स्रष्टाहरु आफ्नोपनमा भन्दा राजनीतिको बुई चढ्दा बढी गर्व गर्न थालेका छन् । फलतः स्रष्टाहरु आफ्नो महत्वलाई स्वयम् स्रष्टाहरुबाट नै अवमूल्यन हुने गरेको छ । तसर्थ, सम्मुन्नत समाज निर्माणमा स्रष्टाहरुको भूमिका कृत्रिम बन्दै गएकोजस्तो लाग्छ ।

साहित्य राजनीतिबाट प्रभावित हुन्छ कि हुँदैन ? साहित्यकारले पार्टीको झण्डा बोक्नुलाई तपाईं के भन्नुहुन्छ ?
साहित्य समाजका हरेक क्षेत्रबाट प्रभावित हुनसक्छ । तर, साहित्यकारले पार्टीको झण्डा बोकेपछि पार्टी लाइनभित्रको मात्र सिर्जनामा सीमित हुनुपर्ने हुन्छ । साहित्यकारको सिर्जना खुला आकाशजस्तो फराकिलो नभएर सङ्कुचित बन्छ । राष्ट्रको झण्डा बोक्ने स्रष्टाहरुले जस्तो स्वतन्त्र र व्यापक बनेर पार्टीको झण्डा बोक्नेहरुले सक्दैनन् ।

आफ्नो साहित्यिक यात्रालाई तपाईं आफैंले कसरी हेर्नुभएको छ ?
म आफ्नो साहित्यिक यात्रामा सुखद् अनुभूतिका साथ अगाडि बढिरहेको छु । ४०को दशकको साहित्यिक समाज अहिलेजस्तो उदार भएको महशुस गर्न मैले पाएको थिइनँ । आमसञ्चारका माध्यम सीमित थिए, प्रकाशन गर्नका लागि निकै ठूलो सङ्घर्ष गर्नुपथ्र्याे । साथ, सहयोग र सुझाव पाउनका लागि निकै कोशिस गर्नुपथ्र्यो । त्यस्तो समय गुजारेकोले पनि होला मैले साहित्यमा जे लेख्न सकेको छु र जे गर्न सकेको छु त्यसमा खुसी छु ।

नेपाली साहित्यको उत्थानका लागि सरकारले के–कस्ता कदम चाल्नुपर्ने देख्नुभएको छ ?
नेपाली साहित्यका लागि सरकारले प्रशस्त कार्य गरेको छ । तर, निष्पक्ष मूल्याङ्कन भने हुन सकेको छैन । साहित्यिक क्षेत्रका पद, पदक, पुरस्कार, सम्मान र अनुदान वितरणमा इमानदारीतामात्र कायम गर्ने होे भने साहित्यकारहरुको गुनासो धेरै कम हुनसक्छ । निष्पक्षभन्दा नजिकका भरमा मन्त्री, नेता र पकडवालाहरुले इष्टमित्र, नाता, कुटुम्ब साहित्यकारका नाममा पुरस्कृत गर्ने गरेका छन् । कतिपय सन्दर्भमा त साहित्यिक समाजमा परिचय गराउनुपर्ने स्रष्टाहरु पुरस्कृत हुने गरेका छन् ।

नेपाली भाषाको व्याकरणगत र लेखाइमा देखिएको विवादलाई कसरी हेर्नुभएको छ ?
यस विषयमा धेरै बहसहरु भइसकेका छन् । एक प्रकारले जुङ्गाको लडाइँजस्तो पनि देखिएको छ यो  । यथाशक्य छिटो मानक भाषा र व्याकरण बनाउनु सबैको दायित्व हो ।

तपाईंले लामो समयदेखि मधुपर्कजस्तो लोकप्रिय पत्रिकाको सम्पादन गर्दै आउनुभएको छ । साहित्यिक पत्रिकामा कस्तो सम्पादन हुनु आवश्यक हुन्छ ?
साहित्यिक पत्रिकाको सम्पादन भनेको ह्रस्व र दीर्घ सच्याउने वा सामग्री सङ्कलन गर्नेमात्र हो भन्ने भ्रम छ । लेखकले आफ्नो रचना लेखे पुग्छ तर सम्पादकले अरूका सिर्जना बुझ्ने हुनुपर्छ र मूलभाव नबिग्रिने गरी अनावश्यक लेखनलाई सम्पादन गर्ने क्षमता हुनुपर्छ । सम्पादन भनेको पनि कला नै हो ।

तपाईंको साहित्यिक मूल्याङ्कन कत्तिको भएजस्तो लाग्छ ?
म आर्थिकरुपले सुविधासम्पन्न नेपाल बैङ्कको स्थायी जागिर छोडेर आएको हुँ । आफ्नो रूचिको क्षेत्रमा काम गर्न पाउँदाको सन्तुष्टि अरू केहीले दिन सक्दैन भन्ने मेरो विश्वास छ । मूल्याङ्कनको दृष्टिले पनि मेरो कुनै गुनासो छैन । म खुसी छु ।

साहित्यिक पुरस्कारप्रति तपाईंको कस्तो दृष्टिकोण रहेको छ ?
पुरस्कार र सम्मानले स्रष्टाहरुलाई प्रोत्साहित गरेर जिम्मेवार पनि बनाउँछ । नेपालमा सबैभन्दा बढी पुरस्कार भएको क्षेत्र साहित्यिक नै हो । तर, केही पुरस्कारहरु आफ्नो स्वार्थसिद्धिका लागि र केही पुरस्कारले मोलमोलाइ गर्ने गरेकाले विकृति बढेको देखिएको हो । यस्ता पुरस्कारहरु धेरै नभएकाले बिस्तारै पाखा लाग्दै जान सक्छन् ।

पुरस्कृत कृति गुणस्तरीय हुन्छन् भन्ने कुरामा कत्तिको सहमत हुनुहुन्छ ?
सबै पुरस्कृत कृति स्तरीय हुँदैनन् । कृतिलाई कसरी पुरस्कृत गरिएकोे छ ? त्यसमा निर्भर गर्दछ । कतिपय पुरस्कृत गरिएका कृतिहरुले पुरस्कार गुठीको शाख नै गिराएका उदाहरणहरु ताजै छन् ।

आजको नेपाली साहित्यमा देखापरेका विकृतिहरुलाई यहाँले कसरी हेर्नुभएको छ ?
विकृति निकै बढेको छ । साहित्य भनेको साधना हो । तर, रातारात पैसाको भरमा लेखक बन्ने गलत प्रवृत्ति देखिएको छ । केही रचना छापिनासाथ वा केही पुस्तक निकाल्नासाथ वरिष्ठको पगरी लगाएर सम्मान लिइहाल्ने फेशन बनेको छ । आफ्नै लगानीमा नयाँ लेखकलाई छिट्टै ठूलो बनाइदिने र केही समयमा नै सम्मान गरिदिने व्यक्ति र संस्थाले नेपाली साहित्यलाई सबैभन्दा प्रदूषित बनाइरहेका छन् ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यको हाराहारीमा पुर्याउन के गर्नुपर्ला ?
स्तरीय रचनाहरुको अङ्ग्रेजी भाषामा अनुवाद गरेर नियमित प्रकाशित हुने साहित्यिक पत्रिका हुनु जरूरी छ । यस्ता पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठान वा साझा प्रकाशनजस्ता आधिकारिक संस्थाबाट नै हुनुपर्छ । अन्यथा, अहिलेजस्तै पैसा हुनेहरुले आफ्ना कमजोर कृतिको अनुवाद विदेशमा पुर्याएर नेपाली साहित्यको बदनाम हुने काममात्र हुनेछ ।

तपाईं काठमाडौंको रैथाने हुनुहुन्छ । जीवनमा अभावको महशुस कत्तिको गर्नुभएको छ ?
काठमाडौंका मान्छे सबै सम्पन्न हुँदैनन् । दुःखका अनुभव प्रशस्त छन् । सहरका दुःख गाउँका भन्दा अप्ठेरा हुन्छन् भन्ने अनुभव अहिले कम हुँदै गएको छ ।

लेखकहरु अव्यावहारिक हुन्छन् भन्ने भनाइप्रति तपाईं कत्तिको सहमत हुनुहुन्छ ?
म सहमत छैन । यी पुरातन मानसिकताका भनाइमात्र हुन् ।

नेपालमा साहित्यको बजार कस्तो छ र पठन संस्कारको विकास गर्न के गर्नुपर्ला भन्ने लाग्छ ?
नेपाली साहित्य नेपालभित्र मात्र नभएर विश्वभरि फैलिइसकेकाले नेपाली साहित्यको बजार व्यापक छ तर व्यावसायिक हुन सकेको छैन । पठन संस्कारको विकास पहिलेको तुलनामा केही भइसकेको भए पनि यसलाई निरन्तररुपमा अगाडि बढाउनु जरूरी हुन्छ । यसका लागि सार्वजनिक पुस्तकालयको सङ्ख्या बढाउँदै लैजानुपर्ने, नियमित पुस्तक प्रदर्शनी गर्नका लागि स्थायी स्थान बनाउनुपर्ने, हरेक शुभअवसरमा पुस्तक उपहार दिने प्रचलन बनाउन सक्यौं भने पठन संस्कृतिको विकास हुनसक्छ ।

नेपालमा लेखक भएर बाँच्न सक्ने सम्भावना देख्नुभएको छ ?
साहित्यिक लेखन व्यावसायिक नहुञ्जेलसम्म लेखक भएर बाँच्न सक्ने स्थिति देखिएको छैन ।

तपाईं लेखन–सम्पादनमा नलागेको भए के गर्नुहुन्थ्यो ?
बैङ्कर वा कलाकार हुन्थेँ होला ।

नेपाली साहित्यको भविष्यलाई कस्तो देख्नुभएको छ ?
नेपाली साहित्यको भविष्य निकै उज्ज्वल भएको देख्छु किनकि अहिलेका साहित्य कल्पनामा सीमित छैनन् । प्रविधिको कारणले गर्दा विभिन्न देशका साहित्य पनि अध्ययन गर्न पाइने भएकोले त्यसअनुरुपको लेखनतिर आकर्षित हुन थालेको पाइन्छ । खासगरी अहिलेका युवाहरुका लेखनमा त्यस्तो अनुभव गर्न पाइन्छ ।

साहित्यमा लागेर के पाउनुभयो र के गुमाउनुभयोे ?
साहित्यमा लागेर सन्तुष्टि मिलेको छ । सन्तुष्टि नै सुख हो । साहित्यमा लागेका कारण समाजमा परिचय र प्रतिष्ठाको सुखद् अनुभूति पाउने गरेको छु । साहित्यमा मैले आफ्नो उमेरन्दा केही गुमाउनु परेजस्तो लाग्दैन ।

तपाईंले रिटायर्ड जीवन कसरी बिताउने सोच्नुभएको छ ?
म जागिरबाट रिटायर्ड हुन्छु तर साहित्यिक क्षेत्रबाट कहिल्यै रिटायर्ड हुँदिन, हुन सक्दिनँ र हुन पनि दिँदिनँ भन्ने लाग्छ ।

तपाईं नयाँ लेखकहरुलार्ई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
साहित्य भनेको निरन्तरको साधना हो । यसमा हतारको कुनै मूल्य हुँदैन । कुनै पनि रचनाको सिर्जना गर्नासाथ प्रकाशन गर्न हतार गर्नु हुँदैन । आफ्नो रचनालाई आफैं परिष्कार गर्न कहिल्यै कञ्जुस्याइँ गर्नु हुँदैन । आज लेखेर भोलि छपाउने र पर्सि पुरस्कार पाउने लोभ गर्नेले साहित्यको यात्रामा निरन्तर हिँडिरहन सक्दैनन् । अध्ययन, लेखन र धैर्यले नै साहित्यमा सफल बनाउन सक्ने मेरो विश्वास छ ।

यसमा तपाइको मत

अन्य समाचार