विवाहका प्रकार र पवित्र बन्धन

 

विवाह दुई आत्माको मिलन हो भने सम्बन्धलाई कानुनी मान्यता र यौन सम्बन्धलाई सामाजिक मान्यता दिने कडी । मिलाप मसिकको वैशाख अङ्कमा म पनि यसैसम्बन्धी केही कुराहरु राख्न गइरहेकी छु ।
सृष्टीको क्रमसँगै समाजमा विवाहलाई कायम गरेको पाइन्छ । संसारमा आजभोलि समलिङ्गी विवाहलाई पनि मान्यता दिए तापनि विवाह भनेको विशेषगरी दुई विपरीत लिङ्गीबीचको मिलन नै हो । समाजमा स्त्री र पुरुषबीचको सम्बन्धलाई त्यति बेलामात्र पवित्र मानिन्छ, जति बेला उनीहरु वैवाहिक सम्बन्धमा बाँधिन्छन् । विवाह जनसाङ्ख्यिक गतिविधि हो । विवाह सामाजिक, आर्थिक, धार्मिक, शारीरिक, जैविक कानुनी र प्रजनन प्रक्रियासँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । समाजमा स्थिरता ल्याउन र मानिसलाई प्रतिस्थापन गर्न विवाहको भूमिका महत्वपूर्ण हुन्छ । हरेक समाजको आफ्नै रीतिरिवाज, परम्परा मूल्यमान्यता रहेको हुन्छ । त्यस्तै, त्यही सामाजिक मूल्यमान्यता र कानुनअनुसार एकापसमा लोग्ने–स्वास्नी भई बस्ने प्रक्रिया नै विवाह हो ।

 देवकी के.सी.

धर्मशास्त्र, वेद, दर्शन, साहित्य सबैले विवाहलाई प्राथमिकता दिएको छ । किनकि, विवाहबिना सृष्टी सम्भव छैन अर्थात् वंशज परम्परा कायम राख्न सकिन्न । सन्तान उत्पादन गर्ने र वंश परम्परालाई निरन्तरता दिने स्वस्थ यौनव्यवहार कायम गर्ने मूलभूत उद्देश्य विवाहले लिएको छ ।
समाज, जातजाति र रीतिरिवाजअनुसार विवाह पनि फरक–फरक ढङ्गको पाइन्छ । यसरी हेर्दा संसारमा धेरै प्रकारका विवाहहरु प्रचलनमा आएको पाइन्छ । त्यसैले विवाहलाई पनि सङ्ख्याको आधारमा, उमेरको आधारमा र कानुनी आधारमा विभिन्न प्रकारमा विभाजन गरिएको छ । सङ्ख्याको आधारमा एक विवाह र बहुविवाह प्रचलनमा आएका छन् ।

बहुविवाहअन्तर्गत बहुपति विवाह, बहुपत्नी विवाह, द्विपत्नी विवाह, समूह विवाहजस्ता विवाहहरु प्रचलनमा आएका छन् । एउटी महिलाले एक समयमा एकभन्दा बढी पुरुषहरुसँग विवाह गर्ने विवाह नै बहुपति विवाह हो । यस्तो विवाहमा सबै दाजुभाइले एउटै पत्नीलाई साझा रुपमा प्रयोग गर्छन् ।
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पाहरु तथा डोल्पा जिल्लाका लोपा जातिहरुमा यस्तो बहुपति विवाह प्रचलनमा थिए । नेपालको नयाँ मुलुकी ऐनले यस्तो बहुपति विवाहलाई बन्देज गरेको छ । भातृक बहुपति विवाह र अभातृक बहुपति विवाह गरेर बहुपति विवाहलाई पनि दुई समूहमा बिभाजन गरिएको छ । भातृक बहुपति विवाहमा दुई वा सोभन्दा बढी दाजुभाइको एउटै पत्नी हुन्छ । यस्तो विवाहमा सबैभन्दा पहिले जेठो दाजुले एउटी महिलासँग विवाह गर्छ भने अन्य भाइहरु पनि स्वतः उक्त महिलाका पति हुन्छन् । यस्तो विवाह भारतको टोडा जातिमा बढी मात्रामा र नेपालको खुम्बु क्षेत्रका शेर्पाहरुमा कम मात्रामा हुने गर्छ । अभातृक बहुपति विवाह पनि एउटी महिलाका धेरै पतिहरु हुने गर्छन् तर अर्को पति एउटै घरको वा दाजुभाइ हुँदैन । विवाहित महिला हरेक पतिसँग पटक–पटक समान अवधिको लागि मात्र हुन्छे । उक्त अवधिमा अन्य पतिहरुले उसको दाबी गर्न पाउँदैनन् । यस्तो विवाह प्रथा भने भारतको टोडा तथा नायर जातिमा र तिब्बतीहरुमा रहेको छ ।
बहुपति विवाह पनि विवाहको अर्को एउटा यस्तो रुप हो, जसमा पुरुषले दुईभन्दा बढी महिलाहरुसँग विवाह गर्छ । यस्तो विवाह वैदिककालदेखि आजसम्म पनि चलेको पाइन्छ । बहुपत्नी प्रथा बहुपति प्रथाभन्दा बढी प्रचलनमा आएको पाइन्छ । आजसम्म पनि उत्तर अमेरिकाको हिडाट्सा, अफ्रिकाको निग्रोहरु, भारतका गोन्डस र बैगास जातिमा यस्तो विवाह देख्न पाइन्छ । एउटा पुरुषले एकसाथ दुईवटा स्त्रीसँग विवाह गर्छ भने त्यस्तो विवाहलाई द्विपत्नी विवाह भनिन्छ । यो पनि बहुविवाहकै एउटा रुप हो, यसलाई आजभोलि कानुनले बन्देज गरेको छ । पुरुषहरुको एउटा समूहले स्त्रीहरुको समूहसँग विवाह गर्छन् अर्थात प्रत्येक पुरुष समूहका प्रत्येक स्त्री पत्नी हुन्छन् । यसलाई समूह विवाह भनिन्छ । विवाहको प्रारम्भकालमा यस्तो विवाहको स्थिति रहे पनि आजभोली विश्वमा नै यस्तो विवाह कतै देखिँदैन । संसारमा जस्ता प्रकारका विवाह प्रचलनमा आए पनि एक विवाहलाई विश्वव्यापीरुपमा आर्दश विवाहको रुपमा लिइन्छ ।

एउटा पुरुषको एउटा पत्नी वा एउटी महिलाको एउटामात्र पति हुने एक विवाह नै आजभोलि संसारमा प्रचलित छ । उमेरको आधारमा र कानुनी दृष्टिकोणको आधारमा पनि विवाहको विविध स्वरुप देखा परेका छन् । उमेरको आधारमा बालविवाह, चाँडो विवाह, ढिलो विवाहमा विभाजन गरिएको छ । केटीको १६ वर्षभन्दा कम तथा केटाको उमेर १८ वर्षभन्दा कममा गरिने विवाह नै बालविवाह हो । विगतको तुलनामा नेपालमा बालविवाह घटे पनि अझसम्म पनि नेपालको तराई र पहाडका क्षेत्रहरुमा कायम नै छन् । खासगरी काठमाडौँको ज्यापु, तराईको थारु जाति र बझाङ, बाजुुरा, अछाम, जाजरकोटजस्ता पहाडी जिल्लामा बालविवाह यथावत नै देखिन्छ । कानुनले निर्धारण गरेको महिला र पुरुषको उमेरभन्दा अघि गरिने विवाहलाई चाँडो विवाह र ढिलो गरिने विवाहलाई ढिलो विवाह भनिन्छ । अभिभावकको स्वीकृतिअनुसार गरिने व्यवस्थित विवाह, केटाकेटी आफैको समझदारीमा गरिने विवाह प्रेमविवाह, विवाहको लागि उमेर पुगेका केटाकेटीले कानुनी प्रक्रियाअनुसार अदालतमा गरिने विवाह आजको आधुनिक समाजमा चल्दै आएको छ ।
विगतदेखि आजसम्म आइपुग्दा आफ्नो रहनसहनबमोजिम जस्तोसुकै विवाह चल्दै आएको भए पनि आजको आधुनिक समाजमा भने विवाहका तरीकाहरु पmरक–फरक हुदैँ आएका छन् । केटाकेटी आफैमा मञ्जुरी भएर गरिने प्रेमविवाह र कानुनीरुपमा अदालतमा गएर गरिने विवाह भने फस्टाउँदै गएको छ । एक जातले अर्को फरक जातसँग गरिने अन्तर्जातीय विवाह पनि बढ्दो मात्रामा पाइन्छ । आजको समाजलाई सञ्चारले यति धेरै सुविधा दिएको छ कि विवाह गर्ने जोडीसमेत इन्टरनेट, फेसबुकमार्फत् खोज्न थालिएको छ । म्यारिज ब्युरो खोलेर विवाहका लागि केटाकेटी मिलाउने व्यवसाय पनि फस्टाउन थालेको छ । आधुनिक सभ्यतासँग समाजका संस्कार, मूल्य र मान्यतामा पनि वृद्धि हुने क्रम बढ्दो छ । त्यसैको उपज भन्नुपर्ला विवाहको शैलीमा पनि परिवर्तन आएको छ । विदेश जानका लागि कागजमा नाममात्रको बिहे पेपरम्यारिज गर्नेको पनि सङ्ख्या बढेको छ । अझ लिभिङ्ग टुगेदरको अवधारणा त झन् तीव्र बन्दै गएको छ । जसमा विवाहपूर्व नै वैवाहिक सम्बन्धको जस्तो सम्बन्ध कायम गरी केटाकेटी सँगै बस्ने गर्छन् । त्यतिमात्रै होइन आजभोलि अन्तर्राष्ट्रिय विवाहले पनि उत्तिकै स्थान पाएको छ । जसमा एक देशको नागरिकले अर्को देशको नागरिकसँग विवाह गर्न पाउँछ । धन–दौलतको लोभ–लालचमा परेर पनि अन्तर्राष्ट्रिय विवाह हुने गरेको पाइन्छ ।

यसरी विचार नपु¥याई अन्तर्राष्ट्रिय विवाह गर्दा कतिपय महिलाहरुले हिंसा भोग्नु परेको उदाहरणहरु प्रशस्त मात्रामा पाइन्छ भने कतिपय महिलाहरुलाई यसरी विवाह गरेर यौन व्यवसायमा संलग्न हुन बाध्य पारिएका घटनाहरु पनि बढ्दो मात्रामा छ । त्यसैले अन्तर्राष्ट्रिय विवाहसम्बन्धी कानुन बलियो बनाएर कार्यान्वयन गर्नु अत्यावश्यक देखिन्छ । जे जसरी गरे पनि विवाह एउटा सृष्टी धान्ने प्रक्रिया हो । यो पवित्र बन्धन हो । यसबिना सृष्टीको क्रम ठप्प हुन्छ । त्यसैले विवाहलाई पवित्र सम्बन्धको रुपमा लिएर जीवन सफल बनाउनुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार